सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा सरकारको सफलताका निम्ति काम गर्ने पौडेल पक्षको निष्कर्ष

सरकारमा सेकेन्डम्यान काँग्रेसबाटै हुनुपर्नेमा जोड
सोमबार, ०४ साउन २०७८, १७ : ०८
सोमबार, ०४ साउन २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको सफलताका निम्ति काम गर्ने निष्कर्ष निकालेको छ । महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठकले समसामयिक राजनीतिक घटना क्रमको विश्लेषण गर्दै यस्तो निष्कर्ष निकालेको हो ।

छलफलपछि काँग्रेस नेता अर्जुननरसिंह केसीले रातोपाटीसँग भने, ‘नयाँ सरकार निर्माणको स्थिति जसरी निर्माण भयो । संविधान, संवैधानिक संस्था र लोकतन्त्रमाथि नै एकपछि अर्को प्रहारको स्थितिमा जोगाउनुपर्ने जिम्मा घुमीफिरी काँग्रेसको काँधमा आयो । राष्ट्रिय संकटको समाधान नेपाली काँग्रेसले नै गर्छ भन्ने परिस्थिति निर्माण भयो ।’

काँग्रेसका लागि यो अवसरको पहाडसँग चुनौतीको महासागर पनि भएको केसीको भनाइ छ । उनले भने, ‘यसलाई अत्यन्त बुझेर संयमित भएर गठबन्धनसँगको सम्पूर्ण सहमति र पार्टीभित्र पनि सहमतिको स्थिति निर्माण गरेर सरकारको सफलताको निम्ति हामीले काम गर्ने हो । किनभने यो सिंगो लोकतन्त्र र नेपाली काँग्रेससँग जोडिएको छ । हामी त्यसमा केन्द्रित हौं भन्नेबारे छलफल भएको छ ।’

बैठकले प्रधानमन्त्री देउवाको भूमिकाको धर्यतापूर्वक प्रतिक्षा गर्नुपर्ने पनि निष्कर्ष निकालेको छ ।  केसीले भने, ‘हिजो मात्र विश्वासको मत प्राप्त भयो । यो विश्वासको मत लोकतन्त्रको रक्षा, जनकल्याण राज्य र सुशासनका निम्तिको संकल्प हो ।’

वर्तमान सरकार र गठबन्धनसँग गल्ती गर्ने छुट नभएको केसीको भनाइ छ । उनले भने, ‘सरकारलाई सफल बनाउन लागौं । हाम्रो सहयोगको खाँचो छ भन्ने हाम्रो निष्कर्ष छ । त्यसमा प्रधानमन्त्रीले पार्टीभित्र सन्तुलन मिलाउने र संयोजन गर्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ । हामी सम्पूर्ण रुपमा सकारात्मक छौं । किनभने यो नेपाली काँग्रेसको सरकार हो ।’
 
देउवा सरकारको सफलता नेपाली काँग्रेसको सफलता भएको उनको भनाइ छ । ‘यो काँग्रेससँगै लोकतन्त्रको संस्थागत प्रक्रियाको सफलता हो । हामी सम्पूर्ण रुपमा सकारात्मक हुने कुरामा हाम्रो तर्फबाट विवाद छैन । नेतृत्वले कसरी संयोजन गर्छ प्रतिपक्षको विषय हो’ केसीले रातोपाटीलाई भने ।

केसीका अनुसार पौडेल पक्षको बैठकले सरकारको सेकेन्ड पोजिसन पनि काँग्रेसकै हुनुपर्ने निष्कर्ष निकालेको छ । उनले भने, ‘सरकारमा काँग्रेसको सेकेन्ड पोजिसन हुनुपर्छ  । त्यसमा हाम्रो साथीहरु (पौडेल पक्षीय) गर्नुपर्छ भन्ने हो । कसलाई पठाउने भन्ने हाम्रो छलफल भएन । सेकेन्ड म्यानको रुपमा हामीहरूसँग भएका साथीहरुलाई अगाडि बढाउँदा ठीक हुन्छ कि भन्ने छलफलमा निस्केकै हो ।’

यस विषयमा पार्टी सभापति तथा प्रधानमन्त्री देउवासँग छलफल गरिनेछ ।  केसीले भने, ‘सभापतिसँग छलफल हुन बाँकी छ । छलफल गर्छौं । तर गठबन्धनमा भागबण्डा मिलिसकेको स्थिति छैन । गठबन्धनको भागबण्डा पछि नै यस विषयमा कुराकानी होला । हामी यही हुनुपर्छ पनि भन्दैनौँ । परिस्थिति हेरेर जानुपर्छ भन्ने साथीहरुको भनाइ छ ।’

छलफलमा क्रियाशील सदस्यताका सन्दर्भमा देखिएको विवादबारे छलफल भएको थियो । संस्थापन इत्तर पक्ष निकट क्रियाशील छानविन समितिका सदस्यले क्रियाशील सदस्यताबारे देखिएको विवादको बिफ्रिङ गरेका थिए । छानविन समितिका सदस्य प्रदीप पौडेलले क्रियाशील सदस्यतामाथिको छानविन अन्तिम चरणमा पुगेको बताए । काम अन्तिम चरणमा पुगेकाले विवाद पनि देखिएको उनको भनाइ थियो । 

केन्द्रीय सदस्य दिलेन्द्र बडूका अनुसार मापदण्ड अनुसार विवाद टुंग्याउन पौडेलले निर्देशन दिएका थिए । छानविन समितिले मापदण्डअनुसार समस्या समाधान गर्न नसकेको विषय पदाधिकारी बैठकमा पठाउने विषयमा पनि पौडेल पक्षमा सहमति भएको उनको भनाइ छ । बैठकले निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने विषयमा पनि जोड दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप