सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेललाई जिल्ला सभापतिहरूको प्रश्न : महाधिवेशनको कार्यतालिका किन स्वीकार गर्नुभयो ?

आइतबार, ३१ साउन २०७८, २१ : ००
आइतबार, ३१ साउन २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय केन्द्रीय सदस्य र जिल्ला सभापतिहरूसँग छलफल गरेका छन् । १४ औं महाधिवेशनकाे पूर्व घोषित मिति सारिएको दोस्रो दिन पौडेलले आफ्नो निवास केही केन्द्रीय सदस्य र जिल्ला सभापतिसँग छलफल गरेका हुन् ।

नेता अर्जुननरसिंह केसीका अनुसार आइतबार दिउँसो तीन बजेपछि करिब दुई घण्टा चलेको बैठकमा पौडेल पक्षीय १२ जना केन्द्रीय सदस्य र २५ जना जिल्ला सभापति सहभागी थिए ।  छलफलमा जिल्ला सभापतिहरूले क्रियाशील सदस्यताको टुंगो नलागी र सूची सार्वजनिक नभइ ल्याइएको कार्यतालिका किन स्वीकार गरेको भन्दै प्रश्न गरेका थिए ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बसेको केन्द्रीय समिति बैठकले सर्वसम्मत रुपमा भदौ १८ गते वडा अधिवेशन गरेर मंसिर १३ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो ।

विवादित क्रियाशील सदस्यता भदौ ३ गतेभित्र टुंग्याउने गरी नयाँ कार्यतालिका ल्याउने विषयमा सहमति जुटेको थियो । तर गत सोमबार र मंगलबार पौडेलले पक्षीय जिल्ला सभापतिहरूले बैठक राखेर क्रियाशील सदस्यता नटुंगिदै नयाँ कार्यतालिका ल्याउने कुरामा सहमति नजनाउन पौडेललाई सुझाएका थिए । पौडेलले सुरुमा सोही अडान राखेपनि अन्तमा नयाँ कार्यतालिका ल्याउने विषयमा सहमति जनाएको हुन् ।

‘क्रियाशील सदस्यताको टुंगो नलागी र सूची सार्वजनिक नभई  तपाईंहरुले किन कार्यतालिका स्वीकार गर्नुभयो ? भन्नु भयो । क्रियाशील सदस्य को हुन् भन्ने थाहा छैन । भोलि हाम्रै नाम क्रियाशीलको सूचीमा हुन्छ कि हुँदैन भन्ने कुरामा प्रश्न छ’ जिल्ला सभापति भनाइ केसीले सुनाए । 

नियमति महाधिवेशन नभएको अवस्थामा पौडेल पक्षीय जिल्ला सभापतिले भदौ १९ भित्र विशेष महाधिवेशन गर्न जोड दिएका थिए । पदाधिकारी बैठकमा विशेष महाधिवेशनको कुरा उठाएका पौडेलले केन्द्रीय समिति बैठक सो विषय प्रवेश नै गरेनन् । जिल्ला सभापतिले यस विषयमा पनि प्रश्न उठाएका थिए ।

सभापतिहरूले भने, 'बाहिर विशेष महाधिवेशनको चर्को कुरा गर्नुभयो । बैठकमा यो विषय प्रवेश नै पाएन ।' उनका अनुसार जिल्ला सभापतिले आफूहरुका सुझाव अनुसार नेतृत्वले बैठकमा अडान लिन नसकेको ब्यापक गुनासो गरेका थिए । जवाफमा नेताहरुले पार्टीको वैधानिकतामाथि आएको गम्भीर संकट टार्न सहमति गरेका बताएका थिए ।

जिल्ला सभापतिलाई दिएको जवाफबारे केसीले भने, ‘पार्टीको वैधानिकतामाथि आएको गम्भीर संकट टार्न हामी सहमति गर्न बाध्य भएका हौं । अब तपाईं आ आफ्नो जिल्लामा झर्नुस् । तपाईंले दिएको सुझाव हामीले हेर्छौं ।’ नेताहरुले भदौ तीन गते क्रियाशील सदस्यता विवादमा सहमति भए चार गते वेभसाइटमा सार्वजनिक गर्ने व्यवस्था मिलाउने आश्वासन दिएका थिए ।

यस्तै नयाँ कार्यतालिका अनुसार महाधिवेशनलाई सम्पूर्ण रुपले सम्पन्न गराउन सबै पक्ष एकीकृत भएर राख्नुपर्ने पौडेल पक्षको निष्कर्ष थियो ।  यसबीचमा विधि, विधान र प्रक्रियामा देखिएको समस्याको समाधान खोज्दै जानुपर्ने भन्ने बैठकको निष्कर्ष रहेको केसीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप