बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

घनश्यामलाई केपीको ‘टर्रो’ जवाफ- कारवाही फिर्ता हुँदै हुँदैन

बुधबार, ०२ भदौ २०७८, १३ : ५८
बुधबार, ०२ भदौ २०७८

एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित १४ जनालाई गरेको कारवाही कुनै हालतमा फिर्ता नहुने अडान राखेका छन् । अध्यक्ष ओलीको यस्तो जवाफपछि मध्यस्थकर्ताको भूमिका रहेका केही नेताहरूसमेत पार्टी विभाजन नरोकिने निष्कर्षसहित बालकोटबाट फिर्ता भएका छन् ।

अध्यक्ष ओलीले नेता नेपालसहित उनी पक्षीय १४ जनालाई गरेको कारवाही फिर्ता गरे पार्टी विभाजन रोकिने अपेक्षा गरेका एमाले नेताहरुको प्रयासमा ओलीले यस्तो जवाफ दिएका हुन् । ओली समूहका तर्फबाट मंगलबार ह्वीप उल्लंघन गरेको भन्दै नेता नेपालसहित १४ जना सांसदहरुलाई कारवाही गरेको पत्र संसद सचिवालयमा पुगेपछि नेता घनश्याम भुसाल पार्टी विभाजन रोक्न ओली निवास बालकोट पुगेका थिए ।

उपमहासचिव समेत रहेका भुसाल बालकोट पुगेर ओलीलाई १४ जनाको कारवाही फिर्ता, नवौं महाधिवेशनको पार्टी संरचना क्रियाशील र फागुन २३ यताका सबै निर्णय खारेज गर्न आग्रह गरेका थिए । तर, भुसालको यो आग्रहलाई अध्यक्ष ओलीले ठाडै अस्वीकार गरेका थिए ।

बालकोट निकट स्रोतका अनुसार ओलीले जवाफमा माधव नेपाल धेरै पर पुगिसकेको र नेपाल समूहमाथि गरेको कारवाही फिर्ता हुनै नसक्ने अडान दोहोर्याएका थिए । त्यसक्रममा उनले नेता नेपालबाहेक अन्यले आत्मालोचना गरे सोच्न सकिने त्यो पनि परिस्थितिमा भरपर्ने बताएका थिए ।

‘अवस्था धेरै अघि बढिसक्यो । उहाँहरु अब रोकिने अवस्था देखिदैन । अनि कारवाही फिर्ताको त सम्भावना नै छैन’ ओलीको जवाफ थियो । एमाले नेताहरु भुसालसहित भीम रावल, भीम आचार्य, गोकर्ण विष्ट लगायतका नेताहरु पार्टी विभाजन रोक्न प्रयासमा लागेका थिए । तर, उनीहरुको प्रयास सफल हुन नसकेको माधव पक्षका एक नेताले बताए । ‘हामी त प्रस्ट नै थियौ तर केही साथीहरु व्यक्तिगत रुपमा हामी रोक्छौ भनेर लागेका थिए तर, ओली किन मान्थे र ?’ ती नेताले ढुक्क हुदै भने, ‘ओली एमाले फुटाएरै छाड्ने पक्षमा छन् । गल्ती महशुस गर्ने र पार्टी जोगाउनु नै छैन उनलाई ।’

माधव समूहका ती नेता थप्छन्– ‘ओलीका कारणले पार्टी विभाजनको संघारमा पुगेको हो । उनमा रहेको व्यक्तिवादी सोँच, अहंकार र दम्भ सच्चिने संकेत नै छैन । त्यही दम्भ र अंहकारलाई मलजल गर्ने केही नेताहरु पार्टी विभाजनको भागीदार बन्दैछन् ।’

मंगलबार नेता नेपालले समेत ओली प्रवृत्तिमा सुधार नआउने भएकाले नयाँ क्रान्तिकारी पार्टी बनाएर अघि बढ्नुको विकल्प नभएको बताएका थिए । मंगलबार नै सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएकाले माधव समूहलाई नयाँ पार्टी दर्ता गर्न सहज हुने ठानिएको छ । यद्यपि माधव नेपाल समूहमै रहेका एमाले उपाध्यक्ष समेत रहेका नेता युवराज ज्ञवाली ओलीले १४ जनालाई कारवाही गर्नु र सरकारले अध्यादेश एकैदिन ल्याउनुले मुलुक संकटतर्फ धकेलिएको बताउँछन् ।

‘अध्यादेश र कारवाही यो संयोगमात्रै नहुनसक्छ’ नेता ज्ञवालीले रातोपाटीसँग भने, ‘यसले अस्थिरतालाई नै फाइदा पुगेको छ ।  सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट बुधबार स्वीकृत भैसकेको छ । राष्ट्रपतिबाट उक्त अध्यादेश स्वीकृत भएसँगै नेपाल समूह नयाँ पार्टी दर्ताका लागि आयोग जाने तयारीमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप