मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अफगानीको भोक मेटाउन खोज्दा पाकिस्तानी अर्थतन्त्र चौपट

पहिले दैनिक एक करोड डलर प्राप्त, अहिले दिनहुँ ३० लाख डलर तस्करी
बिहीबार, १४ असोज २०७८, १६ : ३९
बिहीबार, १४ असोज २०७८

अमेरिका नेतृत्वको उत्तर आन्ध्र सन्धी संगठन (नाटो) को गठबन्धन सैनिक अफगानिस्तानबाट फर्किएको एक महिना पुग्दा–नपुग्दै छिमेकी देश पाकिस्तानको अर्थतन्त्र चौपट परेको छ । दक्षिण एसियाको चरम द्वन्द्वग्रस्त देशबाट लगभग हारेर फर्कंदै गर्दा अमेरिकाले हातहतियार र बमबर्षक विमानमात्र लगेको छैन, काबुल र इस्लामावादको अर्थतन्त्रलाई पनि निकै सकसमा पारिदिएको छ ।

पाकिस्तानी मुद्रा यतिखेर अमेरिकी डलरसँग निकै कमजोर भएको छ । त्यहाँ एक अमेरिकी डलर पाउन १७१ रुपये (पाकिस्तानी मुद्रा) तिनुपर्ने अवस्था छ । देशको मुद्राभन्दा अमेरिकी डलर निकै बलियो हुनुको मुख्य कारण निरन्तर बढिरहेको आयात र अफगानिस्तानतर्फ भइरहेको डलर तस्करी नै हो । यसले व्यापार र चालू खातामा घाटा बढाइरहेको छ । विनिमयदरमा नकारात्मक असर परिरहेको छ । 

पाकिस्तानबाट हुने आयातमा निर्भर अफगानिस्तानमा पनि यसको असर परेको छ । त्यहाँ पनि रुपयेको तुलनामा डलरको भाउ बढिरहेको छ । यतिखेर काबुलमा एक अमेरिकी डलरको विनिमयदर १७८ पाकिस्तानी रुपये पुगिसकेको छ । जबकी पाकिस्तानमा १७१ रुपयेसम्म छ ।

अफगानीको भोक मेटाउन खोज्दा...

पाकिस्तानले अफगानिस्तानको मागलाई पनि हेरेर खाद्यपदार्थ आयात गर्ने गर्छ । किनकी, अहिले अफगानिस्तानतर्फ पाकिस्तान बाहेक अन्यत्रबाट खाद्यान्न गएको छैन ।

जुलाईमा मात्र पाकिस्तानले करिब ५ अर्ब ५० करोड र अगष्टमा ६ अर्ब ५० करोड डलरको बराबरका खाद्यान्न आयात गरेको थियो ।

पाकिस्तानले आयात गरेको खाद्यान्नका ठूलो हिस्सा अफगानिस्तानतर्फ पठाउने गरेको छ । तर, अफगानिस्तानका लागि आयात बढाउँदा पाकिस्तानले यतिखेर मूल्य चुकाइरहेको छ ।

अहिले अफगानीहरूले त्यहाँ रहेको आफ्नो सम्पत्ति अन्यत्र लैजान चाहेका छन् भने अर्कातिर त्यहाँ खाद्य आवश्यकता परिपूर्ति गर्न अतिरिक्त आयात गर्दा पाकिस्तानको अर्थतन्त्र भुंग्रोमा पर्दैछ ।

अमेरिकाले तालिबान सरकारको कोष रोक्का गरिदिएको र अफगानिस्तानमा बैंक क्षेत्रले अहिले काम नगरेकाले यो सबै बोझ पाकिस्तानमाथि परेको जानकारहरू बताउँछन् ।

अहिले आयातले नै विनिमयदरमा असन्तुलन निम्त्याएको फरेक्स एसोसिएशन अफ पाकिस्तानका अध्यक्ष मलिक बोस्तान बताउँछन् ।

काबुलको संकट इस्लामावादसम्म

पछिल्लो केही सातायता पाकिस्तानको निजी क्षेत्रले डलर तस्करी भइरहेको संकेत दिइरहेको छ । पाकिस्तान स्टेट बैंकका गभर्नरले पनि यसलाई स्वीकार गरेका छन् । उनले अफगानिस्तानतर्फ तस्करी भइरहेकाले डलरको मूल्य बढेको बताएका हुन् ।

डलरसँग पाकिस्तानी मुद्राको विनिमयदर आकाशिनुको अर्को मूख्य कारण पनि यही नै हो । पाकिस्तानबाट अफगानिस्तानतर्फ कसरी डलर तस्करी भइरहेको छ भन्नेबारे पाकिस्तानको केन्द्रीय बैंकका अधिकारीहरू नै अनभिज्ञ देखिएका छन् ।

अहिले अफगानिस्तानमा डलरको कमी हुनुको मुख्य कारण अमेरिकाले तालिबान सरकारको डलर खाता रोक्का गरिदिनु हो । यही कारण त्यहाँ पाकिस्तानबाट डलर तस्करी भइरहेको छ । तालिबानले काबुल कब्जा गर्नु अघिसम्म अमेरिकी गठबन्धन सेनाका लागि हरेक साता ५० करोड डलर (कम्तिमा ५० अर्ब रुपैयाँ) अफगानिस्तानमा जाने गथ्र्यो । प्राप्तमध्ये अधिकांश रकम खरिदमा खर्च हुन्थ्यो । ठूलो परिमाणमा अफगानिस्तानमा खर्च हुने गरेको डलर पाकिस्तानसम्म आइपुग्थ्यो । दैनिक ५० लाखदेखि एक करोड डलरसम्म पाकिस्तानतर्फ ल्याउने गरिएको थियो ।

तर, तालिबानले अफगानिस्तान कब्जा गरेपछि पाकिस्तानको अवस्था बदलिएको छ । अहिले ठीक उल्टो स्थिति छ । पाकिस्तानबाटै अफगानिस्तानतर्फ दैनिक १० देखि २० लाख डलरसम्म तस्करी हुने गरेको छ । ट्रकदेखि दुई देशमा दैनिक आवतजावत गर्ने मानिसहरूले पनि यो काम गरिरहेका छन् ।

पाकिस्तानको केन्द्रीय बैंकले डलरसहित विदेशी मुद्रा खरिदबिक्री गर्न लाइसेन्स जारी गर्छ । तर, अवैध मनी चेञ्जरहरू पनि यस व्यापारमा सामेल हुन्छन् । उनीहरूले ‘ग्रे मार्केट’बाटै अमेरिकी डलरको खरिदबिक्री गर्छन् ।

अवैध ढंगबाट विदेशी मुद्रा साट्ने काममा गरिरहेका कमाल खानले पाकिस्तानबाट अफगानिस्तानतर्फ अमेरिकी डलर दुई तरिकाले गइरहेको बताएका छन् । बीबीसीका अनुसार अफगानिस्तानतर्फ पठाइने डलर कराँचीको ‘ग्रे मार्केट’बाट खरिद गरिन्छ । क्वेटामा भने मौसमअनुसार विदेशी मुद्रा भित्रिने गर्छ । हज र उमराहका बेला त्यहाँ विदेशी मुद्रा आवश्यक पर्छ ।

कराँचीदेखि क्वेटासम्म अवैध ढंगले विदेशी मुद्रा ओसारपसार गर्ने बाटो एउटै समूहको हातमा छ । क्वेटादेखि चमन हुँदै अफगानिस्तानसम्म डलर पु¥याउने जिम्मा अन्य समूहले लिने गरेका छन् । सो मार्ग हुँदै अफगानिस्तानमा जति डलर तस्करी हुन्छ–त्यो पेशावरबाट हुने गरेको तस्करीको तुलनामा निकै सानो हिस्सा मात्रै हो । पेशावरबाट अफगानिस्तानतर्फ तस्करी गरिने धेरै डलर पञ्जाबको अवैध मुद्रा बजारबाट खरिद गरिन्छ । पेशावरबाट एक/डेढ घण्टामा सजिलै पुगिने रावलपिण्डी यसको केन्द्र हो ।

निकै सजिलो काम, तर देश चौपट

पाकिस्तानबाट अफगानिस्तानमा डलर तस्करी गर्न निकै सजिलो छ । किनकी दुवैतर्फ एक–अर्को देशका नागरिकको आवतजावत निकै बाक्लो छ । सीमाबाट एक किलोमिटर पर अफगानिस्तानतर्फ रहेको वेश मन्डीमा दैनिक हजारौँ मानिसहरूको घुइँचो लाग्छ । पाकिस्तानको क्वेटा र अफगानिस्तानको कन्दहारमा रहेका डलर तस्करहरूबीच सजिलै सम्पर्क हुन्छ ।

ट्रकमार्फत पाकिस्तानबाट अफगानिस्तानतर्फ १० देखि ३० हजार डलरसम्म तस्करी गर्ने गरिएको यसमा संलग्नहरूले बीबीसीलाई बताएका छन् । यो काममा पनि क्वेटा र कन्दहारकै मानिसहरू बढी सक्रिय छन् ।

जफर पराचा एक्सचेञ्च कम्पनीज् एसोसिएशन अफ पाकिस्तानका अध्यक्ष हुन् । अफगानिस्तानतर्फ पेशावरबाटै धेरै डलरको तस्करी भइरहेको उनी बताउँछन् । तस्करहरूले स्थलमार्ग नै प्रयोग गर्ने गरेका छन् ।

पाकिस्तानको केन्द्रीय बैंकले नै अफगानिस्तानतर्फ डलर तस्करी भइरहेको स्वीकारेको छ । अहिले अफगानिस्तानको राजधानी काबुलमा डलरको विनिमय पाकिस्तानमा भन्दा पनि धेरै रहेकाले यसो भइरहेको बैंकका अधिकारीहरू बताउँछन् । यतिखेर काबुलमा एक अमेरिकी डलरको विनिमयदर १७८ पाकिस्तानी रुपये पुगिसकेको छ । जबकी पाकिस्तानमा १७१ रुपयेसम्म छ । 

अहिले क्वेटा र पेशावर शहरको ग्रे मार्केटमा १७५ रुपयेमा एक अमेरिकी डलर खरिद गर्न सकिन्छ । कराँची र पञ्जाबको ग्रे मार्केटमा त अझै कम मूल्यमा डलर विनिमय भइरहेको छ । त्यहाँबाट काबुलमा डलर पु¥याउन सक्नेले निकै लाभ लिन सक्छन् । किनकी, अहिले काबुलमा डलरको माग निकै बढेको छ । काबुलमा डलरको विनिमयदर नघटेसम्म पाकिस्तानबाट तस्करी बढिरहने पाकिस्तानका मुद्रा सटही कर्ताहरू बताउँछन् ।

यसरी, अफगानीहरूको भोक मेटाउन विदेशबाट अधिक आयात गर्दा र काबुलमा डलरको अभाव मेटाउन तस्करी हुँदा पाकिस्तानको मुद्रा नै यतिखेर निकै कमजोर बनेको हो ।

बीबीसी  हिन्दीमा प्रकाशित सामग्री अनुवाद/सम्पादन गरी प्रकाशित ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप