बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री शाही एक्कासि किन पुगे गृहजिल्ला ?

आइतबार, २१ कात्तिक २०७८, १५ : ४२
आइतबार, २१ कात्तिक २०७८

कर्णालीका नवनियुक्त  मुख्यमन्त्री  जीवनबहादुर शाही एक्कासि गृहजिल्ला हुम्ला पुगेका छन् । उनी आइतबार हेलिकप्टरबाट हुम्ला पुगेको शाहीको सचिवालयले रातोपाटीलाई जानकारी दिएको छ । सचिवालयका अनुसार शाही गत कात्तिक पहिलो हप्ता परेको अविरल वर्षाबाट भएको क्षति अनुगमन गर्न हुम्ला गएका हुन् ।  

उनी दिउँसो २ बजे सिमीकोट पुगेका छन् । मुख्यमन्त्री शाहीले आइतबार खार्पुनाथ गाउँपालिका–२ स्थित थाली गाउँमा पहिरोले पुर्याएको क्षति अवलोकन गर्ने कार्यक्रम रहेको छ । थाली गाउँमा  पहिरोले स्थानीयका घर, खेतीपाती र खानेपानीका योजना समेतमा क्षति पुगेको छ ।

त्यसपछि साँझ हेलिकप्टरबाटै सिमकोट आएर बास बस्ने कार्यतालिका रहेको छ । सोमबार उनी पुनः हेलिकप्टरबाटै अदानचुली र ताँजाकोट गाउँपालिकामा पुगेर त्यहाँ भएको क्षतिको अवलोकन गर्नेछन् । 

गत कात्तिक पहिलो हप्ता परेको अविरल वर्षापछि गएको पहिरोले जिल्लामा आठ करोडभन्दा बढीको क्षति पुगेको थियो । शाही मुख्यमन्त्री बनिसकेपछिको यो पहिलो भ्रमण पनि हो । उनको सचिवालय स्रोत भन्छ, ‘एक्कासि खार्पुनाथ गाउँपालिकाले बोलाएपछि मुख्यमन्त्रीज्यु निस्कनुभएको हो । भोलि सोमबार फर्किने कार्यक्रम रहेको छ ।’ 

कात्तिक १६ गते मुख्यमन्त्रीको शपथ लिएका शाहीले मन्त्रिमण्डल गठनबारे भने खासै चासो दिएका छैनन् ।  यद्यपि, सत्ता साझेदार दल नेकपा माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही काठमाडौँ गएका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको उनको सचिवालय निकट श्रोतको भनाई छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप