शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पोर्चुगलमा नेपालीका अनेक दुःख

मङ्गलबार, २३ कात्तिक २०७८, १२ : ५९
मङ्गलबार, २३ कात्तिक २०७८

युरोपेली देश पोर्चुगल विश्वका साना मुलुकहरुमध्ये एक हो । तर, त्यही सानो देशमा आप्रवासीहरुको आकर्षण भने ठूलो छ । आप्रवासी कामदारका लागि खुकुलो नियम भएकैले पछिल्लो समय पोर्चुगल नेपाली युवाहरुको प्रमुख गन्तव्य बनेको छ । आप्रवासीका लागि सहज कानुन र नियम त छँदै छ, यो देशमा लगानी गर्न पनि उत्तिकै सहज रहेको जानकारहरु बताउँछन् । उसो त पोर्चुगलमा जग्गा वा घर किन्नका लागि कार्ड वा भिषाको आवश्यकता पर्दैन छ । पोर्चुगल पुगेर त्यहाँको व्यक्तिगत राजश्व नम्बर अर्थात ट्याक्स नम्बर (फिनान्स नम्बर) लिएपछि १ वा २ हप्तामा नै घर जग्गा किन्न सकिने व्यवस्था छ भने चाहेको व्यवसाय पनि गर्न सकिन्छ ।

सामान्य कागजात पुर्याएपछि पोर्चुगलमा अस्थायी बसोबास अनुमति पत्र दिनेसँगै ५ वर्षमा पासपोर्टका लागि आवेदन पनि दिन सकिन्छ । पोर्चुगलमा जति सहज र सरल नियम कानुन भएपनि नेपालबाट जाने धेरैले भने समस्या भोग्ने गरेका छन् । विशेषगरी, पोर्चुगलमा नेपाली दूतावास नहुँदा नेपालीहरुले सास्तीको सामना गर्नुपरिरहेको पोर्चुगल निवासी गंगा बहादुर नेमकुल बताउँछन् । 

उनले पोर्चुगलमा अवैतनिक वाणिज्य दूतको मनोमानीका कारण पनि धेरै नेपालीले समस्या भोग्ने गरेको बताए । उनका अनुसार विदेशी भूमिमा नेपालीहरुको समस्यामा सहयोगका लागि चुनिएका प्रतिनिधि पात्रले आफूखुशी गर्ने गरेका कारण नेपालीहरुले झन्झट बेहोरिरहेका छन् । 

नेमकुलले आप्रवासीहरुले सामान्य कागजातका आधारमा अस्थायी बसोबासका लागि कार्ड प्रदान गरिने भए पनि त्यहाँ जन्मिने बच्चाहरुको नयाँ पासपोर्ट बनाउन भने ढिलासुस्ती हुने गरेको गुनासो गरे । यस्तै, उनले पोर्चुगलमा कुनै पनि नेपाली मुद्दा मामिलाको झन्झटमा फसेमा फ्रान्सबाट राजदूत आउनुपर्ने अवस्था रहेको उल्लेख गरेका छन् । राजदूत नहुँदा मुद्दामामिलामा फसेका नेपालीहरुले फ्रान्सका राजदूतले पोर्चुगलको भ्रमण नगरी समस्याबाट मुक्ति नपाउने अवस्था रहेको नेपालीहरुको भनाइ छ ।  

पोर्चुगल जाने नेपालीहरुका लागि सबैभन्दा बढी समस्या भनेको कसैको मृत्यु भइहालेमा शव नेपाल पठाउन कठीन छ । नेमकुल कुनै घटनामा नेपालीको मृत्यु भएमा शव नेपाल पठाउन नै कठिन भएको बताउँछन् । लामो समयसम्म पहल गर्दा पनि शव पठाउन अप्ठ्यारो हुने गरेको समस्या सुनाउँदै उनले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप