आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा बुष्टर डोज लगाउनेको सङ्ख्या एक करोड २६ लाख नाघ्यो

सोमबार, २९ कात्तिक २०७८, ०६ : ०८
सोमबार, २९ कात्तिक २०७८

बेलायत सरकारले कोरोनाविरुद्धको खोपलाई तीव्रता दिएसँगै यहाँ हालसम्म १० करोड ९१ लाख ७९ हजार ७८४ डोज खोप वितरण भैसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्याङ्कमा उल्लेख छ । कोरोनाविरुद्धको  खोपको प्रसङ्गमा बेलायत विश्वमै अग्र स्थानमा रहेको छ, चाहे खोपलाई मान्यता दिने विषयमा होस् वा खोप वितरण सुरु गर्ने प्रसङ्गमा नै किन नहोस् ।

बेलायतमा अहिले झन्डै २२ प्रतिशतले कोरोनाविरुद्धको खोपको तेस्रो अर्थात् बुष्टर डोज लगाइसकेको सरकारी तथ्याङ्कमा उल्लेख छ । आइतबारसम्मको तथ्याङ्क अनुसार यहाँ एक करोड २६ लाख १३ हजार २५६ जनाले उक्त बुष्टर डोज लिइसकेका छन् । पछिल्लो २४ घण्टामा  झन्डै साँढे चार लाख जनाले बुष्टर डोज लगाएका छन् । यसैगरी  पाँच करोड ५ लाख ५७ हजार ६५ जना अर्थात् ८७.९ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ६० लाख ९ हजार ४६३ जना अर्थात् ८० प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ ।

तर, बेलायतमा खोप नलागाउनेको सङ्ख्या पनि उत्तिकै रहेको छ । इंग्ल्याण्डको नेशनल हेल्थ सर्भिस (एनएचएस) अन्तर्गत काम गर्ने कर्मचारीहरूका लागि कोरोनाविरुद्धको खोप अनिवार्य गरिने स्वास्थ्य मन्त्री साजिद जाविदले  घोषणा गरिसकेका छन्  । हालसम्म इंग्ल्याण्डमा एक लाख तीन हजार एनएचएस कर्मचारीले कोरोनाविरुद्धको खोप नलगाएको तथ्यांकले  देखाएको छ । उनीहरूलाई पूर्णरुपमा खोप लगाउन सन् २०२२ अप्रिल १ सम्मका लागि समयसीमा निर्धारण गरिएको छ ।

निर्धारित समयमा दुवै डोज खोप नलगाएमा कर्मचारीहरू कामबाट निष्कासित हुनसक्ने अधिकारीहरूले बताएका छन् । सरकारको यो नयाँ नीतिका कारण ७३ हजार एनएचएस कर्मचारी र ३५ हजार केयर वर्कर्स गरी करिब एक लाख २६ हजार जनाले कामबाट अवकाश लिन सक्ने अनुमान गरिएको छ । सरकारको यो नीतिले यहाँको स्वास्थ्य क्षेत्रमा ठूलो असर पर्न सक्ने अनुमान गरिएको छ ।

बेलायतमा कोरोनाविरुद्धको खोप निकै प्रभावकारी रहेको अधिकारीहरूले बताउँदै आएका छन् । अघिल्लो वर्ष सङ्क्रमण दर उच्च हुँदा दैनिक एक हजार आठ सयसम्म मृत्यु हुने गरेकोमा हाल कोरोनाका कारण दैनिक मृत्यु हुनेको सङ्ख्या कहिलेकाहीँ दुई सय नाघ्ने गरेको छ, जुन सङ्ख्या खासै बढी होइन ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा थप ६३ जना सङ्क्रमितको ज्यान गएको छ । योसँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ४२ हजार ८९८ पुगेको छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घण्टामा थप ३६ हजार ५१७ जना नयाँ सङ्क्रमित पुष्टि भएको  छ ।  थपिएका नयाँ सङ्क्रमितसँगै यहाँ कुल सङ्क्रमितको सङ्ख्या ९५ लाख ६१ हजार नाघेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप