बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सात बुँदे सहमतिसँगै दुई समुदाय बीचको विवाद साम्य, निषेधाज्ञा हटाउने तयारी

सोमबार, २९ कात्तिक २०७८, १६ : ०८
सोमबार, २९ कात्तिक २०७८

जनकपुरधामको देवपुरा रुपैठामा दुई समुदाय बीच भएको झडप साम्य गर्ने उद्देश्यले सात बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा दुई पक्षबीच सात बुँदे सहमति भएको हो । छठ पर्वमा तेलिया पोखरीमा घाट निर्माणको विषयलाई लिएर दुई समुदाय बीच भएको विवादले उग्ररुप लिँदा झडप भएको थियो । झडप अनियन्त्रित भएपछि स्थानीय प्रशासनले जनकपुरधामको रुपैठामा निषेधाज्ञा लगाएको छ ।

स्थानीय प्रशासनको पहलमा दुवै पक्षसँग व्यापक छलफलपछि सोमबार सात बुँदे सहमति भएको हो । सहमति भएसँगै रुपैठाको अवस्था अहिले साम्य भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार तेलिया पोखरी अबदेखि जनकपुरधाम उपमहानगरपालिकाको अधिनमा रहने, सो पोखरीको सम्पूर्ण व्यवस्थापन पालिकाले नै रेखदेख तथा संरक्षण गर्ने, धार्मिक सद्भाव कायम राख्ने, जनकपुरधाम उपमहानगरपालिकाका नगर उपप्रमुख रिता मिश्रको संयोजकत्वमा सहमति कार्यान्वयनका लागि दुई पक्षबाट चार÷चार सदस्य रहने गरी समिति गठन गरिएको छ ।

छठ पर्व समापनसँगै शुक्रबार एक पक्षले प्रदर्शन गरेपछि रुपैठामा दुई समुदाय बीच झडप भएको थियो । सो झडपमा परी दुई प्रहरीसहित ६ जना घाइते भएका थिए । विवादले उग्ररूप लिएपछि जनकपुरधामको वडा नम्बर २० स्थित देवपुरा रुपैठामा मंगलबार राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । दुई समुदाय बीच सहमति भएसँगै निषेधाज्ञा हटाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप