बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

करदाताका समस्या समाधान गर्न छुट्टै संयन्त्र बनाउने अर्थमन्त्रीको घोषणा

बुधबार, ०१ मङ्सिर २०७८, १५ : ०१
बुधबार, ०१ मङ्सिर २०७८

अर्थमन्त्री जनार्दन शर्माले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न छुट्दै संयन्त्र निर्माण गर्ने उद्घोष गरेका छन् ।  बुधबार दशौं राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभाग लाजिम्पाटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले समस्याको तत्काल समाधान गर्न संयन्त्र बनाइने बताए ।

‘करदाताहरूको गुनासा सुन्नुपर्छ । यहाँ आइसकेपछि एउटा इकाई बनाउनुपर्ने आवश्यकता महसुस गरेँ’ मन्त्री शर्माले भने, ‘तपाईँहरूले भन्नुभएको ‘झ’ झिक्नका लागि एउटा इकाई÷संयन्त्र बनाउँछु । त्यहाँ तपाईँले गुनासो राख्न पाउनुहुन्छ ।’ 

उनले कहाँ र के कारणले समस्या भएको भन्ने समस्याको तत्काल समाधानका लागि संयन्त्र बनाइने बताए । सो अवसरमा उनले चुहावटको सूचना दिनेलाई पुरस्कृत नगरिएको गुनासो आएको बताउँदै त्यस्ता सूचना दिनेलाई तत्काल पुरस्कृत गर्न समेत सम्बन्धित निकायलाई आग्रह गरे । 

पुरस्कृत नगर्दा सूचना दिन हतोत्साहित हुने गरेको र त्यसले कर सङ्कलनमा समेत असर गरिरहेको बताउँदै उनले ‘इन्सेन्टिभ’ दिन छुटेकालाई समेत तत्काल दिन निर्देशन दिए । उनले जनताले बुझाएको करबाटै सरकारको नेतृत्वकर्ता र कर्मचारीहरू जनताको सेवा गरिरहेको बताउँदै राजस्व व्यवस्थापनलाई आगामी दिनमा प्रविधियुक्त बनाउँदै करदातामैत्री बनाइने बताए । 

‘पेपरलेस’, ‘कन्ट्याक्टलेस’ बनाउने प्रक्रिया थालनी भएको छ, अब सुरुवात भयो भनेर मात्र हुँदैन, यसलाई कडाइका साथ कार्यान्वयनमा ल्याउँछौ’ मन्त्री शर्माले भने । कर दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममार्फत मन्त्री शर्माले तीनवटा प्रतिवद्धता समेत व्यक्त गरेका छन् । कर प्रशासनमा हुने झन्झटलाई तत्काल समाधान गर्न इकाई÷संयन्त्र बनाउने, भन्सारमा ‘भेकल स्क्यानर’ को व्यवस्था गर्ने र स्टिकर सकार आफैँले छाप्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यसैगरी अर्थसचिव मधुकुमार मरासिनीले कर जबरजस्ती नभई सुशासन र समृद्धिका लागि स्वेच्छिक राजस्व प्रणाली निर्माण गर्न करदाता र कर प्रशासन मिलेर अघि बढ्नुपर्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप