शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेरो जित सुनिश्चित छ : करण चौधरी

बुधबार, २२ मङ्सिर २०७८, ११ : २२
बुधबार, २२ मङ्सिर २०७८

नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको वर्तमान उपाध्यक्ष हुन् करण चौधरी । चौधरीले नाडाको आसन्न ४५ औँ साधारणसभा र सोही सभाले चयन गर्ने नयाँ नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनका प्रतिस्पर्धी ध्रुव थापा हुन् । फरक प्यानल नै बनाएर चुनावी सङ्ग्राममा उत्रिएका चौधरी र थापाबीच यसपटक नाडामा निकै प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि, चौधरी र थापा दुवै अध्यक्षमा आफू नै निर्वाचित हुने दाबी गरिरहेका छन् । अध्यक्ष पदमा दाबेदार चौधरीसँग गरिएको कुराकानी :

नाडा अध्यक्षमा तपाईंको उम्मेदवारी किन ?

मुख्यतः पूर्व मेचीदेखि पश्चिम महाकाली र उत्तरदेखि दक्षिणसम्म सात प्रदेश, ७७ वटै जिल्लामा रहेका आम अटो व्यवसायीहरूलाई संगठित गर्ने र हकहितमा काम गर्नकै लागि मैले नाडा अध्यक्षमा उम्मेदवारी दिएको हुँ । अहिले हामीले सुरु गरेको नाडाको प्रादेशिक संरचनामा समेत अधिकांश व्यवसायीहरू समेटिनुभएको छ । हालसम्म करिब ३२ सय अटो व्यवसायीहरू प्रत्यक्ष रूपमा नाडामा जोडिइसक्नु भएको छ । अझ यसलाई थप विस्तार गर्ने योजनामा छु ।

व्यवसायीहरूको हक हितका लागि गाडी वा जुनकुनै अटोमोबाइल्स् पार्टस्, टायर, ट्यूब र लुब्रिकेन्टलगायत वस्तुहरूको आयात सहजीकरण, भन्सार र करलगायत विषयमा सरकारसम्म दरिलो उपस्थिति देखाउन र मुद्दा उठान गर्न पनि मैले नेतृत्व लिन चाहेको हुँ ।

अहिले हामीसँग सडक सुरक्षा, आयात निर्यात, विद्युतीय सवारी आयातदेखि स्वदेशमै उत्पादन तथा एसेम्बलिङ अघि बढाउने मुद्दा छ । यी सबै मुद्दाहरूलाई निष्कर्षमा पुर्‍याउन पनि नाडाको दरिलो उपस्थिति आवश्यक छ । यसका लागि पनि मैले उम्मेदवारी दिएको हुँ ।

चुनावको मिति नजिकिएसँगै निकै दौडधूप बढेको छ, तयारी कस्तो छ ?

अवश्य पनि चुनाव नजिक आइसकेको छ । परीक्षाको घडी नजिकिएको छ भने प्रतीक्षाको घडी सकिँदैछ । यस्तो अवस्थामा सक्रियता नबढ्ने भन्ने त कुरै हुन्न । आ–आफ्नो तर्फबाट चुनावी अभियानमा सक्दो लागेका छौँ । तयारी करिब पूरा भएको छ । उत्साहित छौँ ।

जित हासिल हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

शतप्रतिशत विश्वस्त छु, कुनै शंका छैन । देशभरि छरिएर रहेका आम अटोमोबाइल्स् व्यवसायीहरूको साथ र सहयोग पाएको छु । यो नै मेरो जितको मुख्य आधार हो ।

नाडाको इतिहासमै सम्भवतः पहिलोपटक यसरी निर्वाचन हुँदैछ । व्यवसायीहरू प्रष्ट दुई खेमामा बाँडिएका छन् । यसो हुन आवश्यक थियो ? किन सहमति गर्न सकिएन ?

नेतृत्व चयनको विषय हो, यसमा सर्वसम्मति हुन पनि सक्छ  या प्रतिस्पर्धात्मक पनि । आपसी सहमति जुट्न सक्यो भने सहमतिमै जाने हो र नसके निर्वाचनमा ।

म त अहिले पनि सहमतिकै पक्षमा छु । सहमति गरौँ भनिरहेकै छु । तर, यसो हुन सकिरहेको छैन । साथीहरू प्रतिस्पर्धात्मक रूपमा उत्रिसक्नु भएको छ । यसो हुँदा लोकतान्त्रिकको सुन्दर पक्ष निर्वाचन प्रणालीलाई पनि हामीले नकार्न हुँदैन । अहिले यही भएको हो ।

तपाईंले यस क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका व्यवसायी ध्रुव थापालाई किन समर्थन गर्न सक्नुभएन ? नेतृत्व लिन हतार गर्नुभएको हो ?

उमेर या कद हेरेर नेतृत्व दिने भन्ने हुँदैन, क्षमता हेर्नुपर्छ । नाडाको नेतृत्वका लागि मेरो क्षमता पुग्छ भने किन पछि हट्ने ? क्षमता र अनुभवकै आधारमा अब नेतृत्व गर्न सक्छु, सबै व्यवसायीहरूलाई समेट्न सक्छु भनेरै मैले नाडाको अध्यक्षमा उम्मेदवारी दिएको हुँ । यसमा हतार भन्ने कुरै छैन ।

त्यसैपनि अहिले म नाडाको वर्तमान कार्यसमिति उपाध्यक्ष हुँ । मसँग अटोमोबाइल क्षेत्रमा रहेर लामो समय काम गरेको अनुभव छ । यसले पनि स्वभावैले अध्यक्षमा मेरो दाबी रहन्छ ।

जहाँसम्म ध्रुव थापाजीको कुरा छ, उहाँलाई पनि लाग्यो होला : अब नेतृत्व मैले गर्नुपर्छ । त्यसैले उहाँले पनि उम्मेदवारी दिनुभयो । यसमा मैले हतार गरेको र उहाँले नगरेको भन्ने कुरै छैन ।

चुनावमा पराजित हुनुभयो भने थापाको नेतृत्व स्वीकार्नुहुन्छ ?

किन नस्वीकार्ने ? अवश्य स्वीकार्छु । उहाँले जित्नुभयो भने म सहर्ष हार स्वीकार्न तयार छु । उहाँ र ममा कुनै वैमनस्य छैन । नेतृत्व चयनका लागि आमुन्नेसामुन्ने भएका मात्र हौँ ।

निर्वाचन पदाधिकारी चयनको लागि मात्र हो । फेरि, उहाँले जिते पनि मैले जिते पनि आखिर नेतृत्व त नाडाकै गर्ने हो, व्यवसायीहरूकै पक्षमा काम गर्ने हो । त्यसैले यसमा कुनै द्विविधा छैन ।

यसपटक नाडाको प्रतिस्पर्धा केन्द्र र मोफसल, ठूला र साना व्यावसायिक घरानाहरूबीचको लडाइँ पनि हो भन्ने सुनिएको छ नि !

यो सबै निराधार हल्ला मात्र हो । त्यस्तो हुन्थ्यो भने त मेरो प्यानलमा ठूला व्यवसायीहरूको मात्र सहभागिता हुन्थ्यो र थापाजीकोमा साना र मोफसलका मात्र । तर, त्यस्तो अवस्था छैन, मेरो प्यानमा केन्द्रदेखि प्रदेश जिल्लासम्मका सबै व्यवसायीहरू हुनुहुन्छ भने उता थापाजीकोमा पनि त्यस्तै अवस्था छ । त्यसैले यो विषयलाई अतिरञ्जित गरिनु आवश्यक छैन । हामी सबै अटोमोबाइल्स् व्यवसायीहरू हौं ।

नाडाले नीतिगत तहमा दरिलो उपस्थिति देखाउन नसकिरहेको आरोपबारे के भन्नुहुन्छ ?

केही हदसम्म यो सत्य हो । हामीले चाहेर पनि सरकारसँग दरिलो लबिइङ गर्न सकिरहेका छैनौँ । यद्यपि, हुँदै नभएको भन्ने चाहिँ होइन । गत दुई वर्षमा कोभिड–१९ कै बीच पनि नाडाले सहजीकरणका लागि व्यवसायी र सरकारबीच रहेर निकै महत्त्वपूर्ण भूमिका खेलेको छ । लकडाउनकै बीच व्यापार, व्यवसाय खोल्नेदेखि व्यवसायीहरूको कर, भ्याट छुटदेखि व्यावसायिक कर्जाको ब्याजदर छुटसम्मको काम गरेको छ । तर, नीतिगत कुरामा नाडा अझ चुकिरहेको छ । यो पक्ष सुधार गर्न नाडाले अब दरिलो उपस्थिति देखाउने बेला आएको छ । यसका लागि पनि अध्यक्षमा मरो उम्मेदवारी हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप