बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा माओवादी केन्द्रको अध्यक्षसहित पदाधिकारीमा दाबी गर्नेको लर्को

शुक्रबार, ०२ पुस २०७८, १४ : ३२
शुक्रबार, ०२ पुस २०७८

नेकपा माओवादी केन्द्र, प्रदेश १ को अध्यक्षसहित पदाधिकारीमा दाबी गर्नेको लर्को लागेको छ । प्रदेश अध्यक्षका लागि आफ्नो दाबेदारीबाट केन्द्रीय सदस्यहरु पछाडि हटेपछि अध्यक्षसहित पदाधिकारीमा दाबी गर्ने प्रदेश तहका नेताहरुको लर्को लागेको हो । योसँगै माओवादी केन्द्र प्रदेश १ को अध्यक्षसहित पदाधिकारी चयनमा सकस परेको छ ।

मोरङको विराटचोकमा गत मंसिर २५ र २६ गते सम्पन्न प्रदेश १ को प्रथम अधिवेशनले २७१ सदस्यीय कार्यसमिति चयन गरे पनि पदाधिकारी चयनलाई थाँती राखेको थियो । आकांक्षीहरु बढेको र सहमति जुटाउन नसकेको अवस्थामा पदाधिकारीबिना नै प्रदेश कमिटी चयन गरिएको थियो ।

यसअघि अध्यक्षमा केन्द्रीय सदस्यहरू सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारीले दाबेदारी प्रस्तुत गरेका थिए । तर सहमति जुट्न नसकेपछि अन्तिम अवस्थामा तीनैजना आफ्नो दाबेदारीबाट पछि हटेका थिए ।

अहिले ६ जनाको दाबेदारी

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा ६ जनाले दाबी गरेका छन् । पाँचथरका हर्कबहादुर लावती, सुनसरीका शिवकुमार डाँगी र मुक्साहाङ मेन्याङ्बो, उदयपुरका मोहनबहादुर खत्री, झापाका मणिकुमार साम्पाङ र विराटनगरका हेम कार्कीले प्रदेश अध्यक्षमा दाबी गरेका छन् । दाबी गर्नेको संख्या अझै बढ्न सक्ने देखिएको छ ।

यस्तै प्रदेश उपाध्यक्ष पदका लागि खोटाङका धु्रव बुढाथोकी, झापाका सीपी कडरिया र विराटनगरका भोगेन्द्र यादवले दाबी प्रस्तुत गरेका छन् । महिला उपाध्यक्षका लागि संखुवासभाकी इन्दिरा मिश्र र मोरङकी विनिता घिमिरेले आकांक्षा राखेका छन् ।

सचिवमा मोरङका गणेश उप्रेती, ओखलढुंगाका मोहनकुमार खड्का, सुनसरीका आइन्द्रविक्रम बेघा र धनकुटाका ऋषिराम ढुंगाना दौडमा छन् । सहसचिवमा आकांक्षा राख्नेको संख्या धेरै भए पनि अहिलेसम्म सोलुखुम्बुका ठमनाथ पराजुलीले मात्रै दाबी प्रस्तुत गरेका छन् । उनले आफू सहसचिवको दाबेदार रहेको बताएका छन् । कोषाध्यक्षमा भने सुनसरीका मदन चुँडालले दाबी गरेका छन् । हालसम्म पदाधिकारीमा खुलेर दाबी गर्नेहरुमा अधिकांश पुरुष छन् ।

माओवादीले नेतृत्व चयनका लागि भन्दै पुस ७ गतेका लागि कार्यसमितिको बैठक आह्वान गरेको छ । सो बैठकमा पदाधिकारी चयनबारे सुझाब दिन भन्दै प्रदेश १ माओवादीका सहइन्चार्ज तथा केन्द्रीय सदस्य अजम्बर काङमाङको नेतृत्वमा ५ सदस्यीय कार्यदल निर्माण गरिएको छ ।

कार्यदलका सदस्यहरुमा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी छन् । माओवादी केन्द्रको विधान अनुसार प्रदेश सम्मेलनबाट निर्वाचित भएको कमिटीले १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव र १ कोषाध्यक्षसहित ९ सदस्यीय पदाधिकारी चयन गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप