नेकपा (माओवादी केन्द्र) मा वरिष्ठसहित ७ उपाध्यक्ष राख्ने प्रस्ताव

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय पदाधिकारी १५ जनाको बनाउने प्रस्ताव गरेका छन् । शुक्रवार बसेको सो पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव गरेको एक स्थायी समिति सदस्यले बताए । उक्त प्रस्तावमाथि शनिबार बस्ने बैठकमा कुन पदमा कति संख्या भन्नेबारे छलफल गरेर निर्णयमा पुग्ने ती सदस्यको भनाइ छ ।
‘पार्टीको केन्द्रीय पदाधिकारी संख्या १५ बनाउँदा ठिक होला भन्ने अध्यक्षको प्रस्ताव आएको छ । त्यसबारे शनिबार छलफल गरेर निर्णयमा पुगिन्छ’, ती सदस्यले रातोपाटीसँग भने, ‘निर्णय भैसकेको छैन ।’ उनका अनुसार प्रचण्डले बैठकमा वरिष्ठ सहित सात उपाध्यक्ष राख्ने प्रस्ताव गरेका छन् । ‘अध्यक्ष एक, वरिष्ठ सहित सात उपाध्यक्ष, महासचिव एक, उपमहासचिव २ र तीन सचिव रहने प्रस्ताव छ’, ती सदस्यको भनाई छ ।
यसअघि माओवादीले उपाध्यक्ष पद राख्ने भनेपनि कति संख्यामा भन्ने खुलाएको थिएन । त्यस्तै वरिष्ठ उपाध्यक्षको पनि माओवादीले यसअघि कुनै व्यवस्था गरेको थिएन । नेताहरुको व्यवस्थापन गर्न चुनौति देखिएपछि वरिष्ठ उपाध्यक्षको पद पनि सिर्जना गर्न लागेको नेताहरुको भनाई छ ।
तर बैठकमा वरिष्ठ उपाध्यक्षको ठाउमा वरिष्ठ नेता राख्नुपर्ने र सात उपाध्यक्षको ठाउमा ५ राख्नुपर्ने भन्ने प्रस्ताव समेत अध्यक्ष बाहेकका नेताले गरेको बुझिएको छ । पुस ११ देखि १३ सम्म सो पार्टीले राष्ट्रिय सम्मेलन गर्दैछ । सम्मेलनमार्फत विधानमा गरिने सो व्यवस्थाको अनुमोदन गर्ने माओवादीको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?