बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

महन्थ ठाकुर १४ वर्षदेखि पार्टी अध्यक्ष, महाधिवेशनको सामना कहिले ?

आइतबार, १८ पुस २०७८, २३ : ०५
आइतबार, १८ पुस २०७८

काठमाडौं । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेमात्र नभएर राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत पछिल्लो समय महाधिवेशन गरेका छन् । तर, केही दल भने पार्टी एकता र विभाजनका शृङ्खला तन्काउँदै महाधिवेशनबाट पन्छिने गरेका छन् ।

हालै गठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर महाधिवेशन छल्दै नेतृत्वमा कायम छन् । २०६५ सालमा उनकै नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी गठन भएको थियो । मधेस आन्दोलन चलिरहेकै बेला नेपाली काँग्रेसबाट विद्रोह गरेर ठाकुरले २०६४ वैशाख १० गते तमलोपा गठन गरेका थिए । तत्कालीन तमलोपाको पहिलो महाधिवेशन २०७३ असार ६ गते नवलपरासीमा भएको थियो । त्यस यता उनी एकता र विभाजनको शृङ्खला अन्तर्गत विभिन्न दलको नेतृत्वमा पुगे पनि महाधिवेशन सामना गरेका छैनन् ।

मधेसी जनअधिकार फोरम नेपालजस्तै अध्यक्ष ठाकुरले पनि विभिन्न दलसँग एकीकरण गर्दै, विधान फेर्दै लोसपासम्म आइपुगेका हुन् । उनी १४ वर्षदेखि पार्टीको नेतृत्वमा छन् । तर अहिलेसम्म उनले नेतृत्व हस्तान्तरणको छाँटकाँट देखाएका छैनन् ।

२०७४ वैशाख ७ गते ठाकुर नेतृत्वको तमलोपा, महेन्द्रराय यादव नेतृत्वको तत्कालीन तराई मधेस सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको तत्कालीन सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र अनिल झा नेतृत्वको तत्कालीन संघीय सद्भावना पार्टीबीच एकीकरण गरेर राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको थियो ।

सो पार्टीमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव र महेन्द्र राय यादवसहितको एउटा अध्यक्षमण्डल बनाइयो । ठाकुर २२ महिनासम्म अध्यक्षमण्डलको संयोजक भएर काम गरे । पछि दुई दुई महिनाको चक्रीय प्रणाली सुरु भएको थियो । तत्कालीन राजपा नेपालको विधान २०७४ मा एक वर्षभित्र महाधिवेशन सम्पन्न गर्ने उल्लेख भए पनि निर्धारित समयमा महाधिवेशन हुन सकेन ।

यहाँसम्म कि तत्कालीन राजपाले महाधिवेशनको मिति सार्नका लागि दुई पटक आफ्नो विधान नै संशोधन ग¥यो । २०७५ वैशाखमा पहिलो पटक एकीकरण भएको दुई वर्षभित्र महाधिवेशन गर्ने निर्णय गरी विधान सच्याएर निर्वाचन आयोगलाई बुझाइएको थियो । त्यो अवधिमा पनि महाधिवेशन गराउन नसकेपछि २०७६ वैशाखमा दोस्रो पटक विधान संशोधन गरेर एकीकरण भएको तीन वर्षभित्र महाधिवेशन गरिसक्ने उल्लेख गरियो । तर तीन वर्षको अवधिमा तीनपटक मिति सारे पनि महाधिवेशन हुन सकेन ।

२०७७ वैशाख १० गते मध्यरात तत्कालीन राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपालबीच एकीकरण गरेर जसपा नेपाल गठन भयो । जसपा नेपालमा दुईजना अध्यक्ष रहने तय भयो । त्यसमा महन्थ ठाकुर पहिलो वरीयताका अध्यक्ष बने । जसपा गठनपछि बनेको अन्तरिम विधानमा पाँच वर्षभित्र पार्टीको महाधिवेशन सम्पन्न गर्ने उल्लेख थियो । त्यसअघि पार्टी समायोजनका सम्पूर्ण कार्य सम्पन्न गर्ने निर्णय गरिएको थियो । पार्टी समायोजनको काम सुरु भएपछि जसपामा आन्तरिक विवाद सुरु भयो । एक वर्ष विवादमै बित्यो ।

एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमा सहभागी हुने विषयलाई लिएर जसपाभित्र उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच देखिएको विवाद अन्ततः पार्टी विभाजनसम्म पुग्यो । गत भदौमा जसपाबाट अलग भएर महन्थ ठाकुरले आफ्नो अध्यक्षतामा लोसपा गठन गरे । लोसपाको अन्तरिम विधान २०७८ मा महाधिवेशन प्रत्येक पाँच वर्षमा हुने उल्लेख छ । तर विशेष कारणवश तोकिएको समयमा महाधिवेशन हुन नसकेमा अधिकतम ६ महिनासम्म कार्यसमितिको म्याद थप गर्न सकिने उल्लेख छ ।

लोसपाभित्र आन्तरिक विवादसँगै समायोजनको प्रक्रिया पनि सुरु भएको छ । भदौमा लोसपा गठन भएपछि कार्यकारिणी समितिको एउटामात्र बैठक बसेको छ । बैठक नै नबसेपछि महाधिवेशन कहिले हुने, अरु काम कहिले हुने भन्ने टुङ्गो लाग्न सकेको छैन ।

 


पार्टीका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले लोसपा भर्खर गठन भएकाले महाधिवेशनका बारेमा अहिले नै टुङ्गो लाग्न नसकेको बताए । महाधिवेशन कहिले हुने भन्नेबारे बैठक बसेर तय हुने उनले जानकारी दिए ।

‘एउटा जीवन्त पार्टीका लागि महाधिवेशन धेरै महत्वपूर्ण कुरा हो, तोकिएको समयमा महाधिवेशन गर्नुपर्छ तर लोसपाका लागि त्यस्तो मौका आएको छैन,’ उनले भने ।

राजपा हुँदा पटक पटक महाधिवेशनको मिति तय भए पनि विभिन्न कारणले तोकिएको समयमा हुन नसकेको उल्लेख गर्दै कर्णले त्यसपछि जसपा गठन भएको र त्यो पार्टीमा महाधिवेशनका लागि कुनै छलफल नै नभएको उनले बताए । ‘अहिले त्यो पार्टीबाट लोसपा बनेको छ र अब बस्ने बैठकहरूबाट महाधिवेशनका विषयमा छलफल हुन्छ,’ उनले भने ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप