शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सडकमा बेवारिसे गर्भवती देखेपछि पलाएको सेवाको भाव

सोमबार, २४ माघ २०७८, १४ : ३०
सोमबार, २४ माघ २०७८

भक्तपुरको सूर्यविनायक नगरपालिका–१०, नलिनचोकमा रहेका मानव कल्याण समाजको सेवा घर बालशाखामा हाल ३० जना बालबालिका आश्रित छन् ।  वेवारिसे अवस्थामा भेटिएका, प्राकृतिक विपत्तिमा मातापिता गुमाएका, परिवारले छोडेका र मानसिक अवस्था ठिक नभएका आमाले सडकमै जन्माएका बालबालिका सेवा घरमा छन् । सेवाघरमा आएका बेवारिसे दुई महिलाले सन्तान जन्माएका छन् । तर त्यहाँ रहेका कतिपय बालबालिकाको जन्मदर्ता प्रमाणपत्र छैन ।

मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईका अनुसार राज्यको प्रष्ट नीति नहुँदा कानुनी अड्चनका कारण नानीबाबुहरूको जन्मदर्ता हुन सकिरहेको छैन । अधिवक्ता किरण न्यौपानेका अनुसार सम्बन्धित संस्थाले जिम्मेवारी लिएपछि स्थानीय तहले अनाथ बालबालिकाको जन्मदर्ता गर्न सक्छ । सेवाघर रहेकै छेउमा वडा कार्यालय छ । संस्थाले वडासँग बालबालिकाहरुको जन्मदर्ता गरिदिन आग्रह गरेको छ । जनप्रतिनिधिहरूले सकारात्मक जवाफ दिएकाले प्रमाणपत्र पाउने विश्वास संस्थाले लिएको छ । 

अनि बाटो मोडियो...

सुनौलो भविष्यको खोजीमा हेटौँडाबाट २०७२ सालमा काठमाडौँ छिरेकी सुमित्रा चौलागाई एकदिन नयाँ बसपार्कमा बसयात्रा गर्दै थिइन् । त्यहाँ एक बेवारिसे गर्भवती महिला फोहोरमा खानेकुरा खोज्दै गरेको देखिन् । उनले तुरुन्तै बसबाट ओर्लिएर ती महिलालाई एक प्याकेट चाउचाउ र पानी दिइन् तर महिलाले लिन मानिन् । 

ती महिलालाई त्यो अवस्थामा कसले पुर्‍यायो होला भन्ने सोच्दै सुमित्रा आफ्नो बाटो लागिन् । हेटौडामा पत्रकारितामा जम्दै गरेकी उनले केही समय राजधानीका नाम चलेका सञ्चार माध्यममा काम गरिन् । तर मनमा शान्ति भएन । त्यसपछि उनी २०७४ सालदेखि बेवारिसे सडक मानवलाई खाना खुवाउन थालिन् । २०७५ साल वैशाखमा आफूजस्तै सडक मानवको उद्धार गर्ने सोच बनाएका साथीहरूसँग मिलेर मानव कल्याण समाज संस्था दर्ता गरिन् । 

हाल भक्तपुरमा दुई, दाङ तथा काभ्रेमा गरी चार ठाउँमा संस्थाको सेवा घर छ, जहाँ २ सय जनाले आश्रय पाइरहेका छन् । सेवा घरमा ६ महिने शिशुदेखि ९१ वर्षका वृद्धवृद्धा बस्छन् । 

चौलागाईका अनुसार ५ वर्षको उद्धार अभियानमा करिब ५ सय ५० जनाको उद्धार गरिएको, २ सय ५० जनालाई पारिवारिक मिलन गराएको र सेवा घरमा ल्याएपछि निधन भएका ४३ जनाको दाहसंस्कार गरिएको छ । 

कसरी चल्छ सेवा घर ?

सेवा घरको चार वटा शाखाको खर्च दैनिक सरदर २० हजार हुन्छ । खाना, खाजा, भाडा, बत्ती, पानी, औषधोपचार, पढाई जस्ता कुरामा खर्च हुन्छ । नेपाली शुभेच्छुक दाताहरूको साथले नै संस्था चल्दै आएको अध्यक्ष चौलागाई बताउँछिन् । कतिपयले जन्मदिन, मृत्यु भइसकेको परिवारका सदस्यको तिथिमा तथा अन्य अवसरमा गरेको सहयोगले सेवा घर जेनतेन चलिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप