सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा चैते धानको रोपाइँ सुरु

बुधबार, ११ फागुन २०७८, १७ : २७
बुधबार, ११ फागुन २०७८

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चैते धान रोपाइँ सुरु भएको छ । धानको पकेट क्षेत्र लागू भएको स्थानमा चैते धान रोपाइँ सुरु भएको हो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बागबानी विकास अधिकृत श्रकर पौडेलले धानको पकेट क्षेत्र लागू भएको गैँडाकोट–११ को भेँडाबारीमा चैते धान रोपाइँ सुरु भएको बताए । “चैते धानको उत्पादन वृद्धि गर्नका लागि केन्द्रले पकेट क्षेत्र लागू गर्दै किसानलाई अनुदान वितरण गर्दै आइरहेको छ”, उनले भने, “जिल्लाको गैँडाकोट ११, कावासोती १४ र १७ तथा बुलिङटारमा धान पकेट क्षेत्र लागू गरिएको छ ।” 

धान पकेट क्षेत्र लागू गरिएको पुरानो स्थानमा प्रति पकेट २४ लाखसम्म तथा नयाँ क्षेत्रमा १२ लाखसम्म अनुदान दिइने गरेको बागबानी विकास अधिकृत पौडेलले बताए । केन्द्रले चैते धान उत्पादन हुने, सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गर्दै चैते धानको उत्पादनमा किसानलाई प्रोत्साहन गर्दै आइरहेको उनको भनाइ छ । पकेट क्षेत्र लागू भएका स्थानमा किसानको लागत सहभागितामा सिँचाइ, मल, बीउ, यान्त्रिकीकरण लगायतमा अनुदान दिने गरेको अधिकृत पौडेलले बताए ।

धानको पकेट क्षेत्र हुनका लागि एकै ठाउँमा १५० हेक्टर जमिनमा धान खेती गरिएको हुनुपर्ने उनको भनाइ छ । जिल्लामा चैते धान उत्पादनका लागि पकेट क्षेत्र निर्माण गरेसँगै चैते धानतर्फ किसानको आकर्षण बढ्दै गएको पौडेलले बताए । गतवर्ष ७०० हेक्टरमा रोपाइँ भएको चैते धान यसवर्ष ७५० हेक्टर क्षेत्रफलमा हुने विश्वास गरिएको उनको भनाइ छ । 

यसवर्ष कावासोती–१४ लाई धानको पकेट क्षेत्रको रुपमा समावेश गरिएका कारण पनि चैते धान लगाउने क्षेत्रफलमा वृद्धि हुने भएको छ । केन्द्रसँगै यहाँका विभिन्न स्थानीय तहले धान उत्पादनको वृद्धिका लागि यसको पकेट क्षेत्र सञ्चालन गरेर किसानलाई सिँचाइ, मल, बीउ र यान्त्रिकीकरणमा सहयोग गर्दै आइरहेको छ । जिल्लाको कावासोती, गैँडाकोट, मध्यविन्दु, विनयी त्रिवेणी र बुलिङटारमा चैते धान उत्पादन हुँदै आएको छ । 

जिल्लामा विशेषगरी चैते धानका रूपमा हर्दिनाथ–१, टाइचिन, स्थानीय अनदी, सिएच ४५ जातको धान रोप्ने गरिएको अधिकृत पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप