आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पल शाह प्रकरण : कला क्षेत्र होइन, व्यक्ति गलत

शुक्रबार, १३ फागुन २०७८, ०८ : २३
शुक्रबार, १३ फागुन २०७८

नेपाली कला क्षेत्रमा यतिबेला अभिनेता पल शाह विवादको विषय बनेका छन् । एक नाबालिग गायिकामाथि करणी सम्बन्धी कसुरमा उनीविरुद्ध जाहेरी दर्ता भएसँगै उनी विवादको केन्द्रमा रहेका हुन् । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पीडित नाबालिगको तर्फबाट उनका पिताले जाहेरी दर्ता दिएका हुन् ।

जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमाथि पटक पटक करणीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा करणी गरेको उल्लेख गरिएको छ । शाहलाई पक्राउ गर्न अहिले प्रहरी परिचालन भइसकेको छ । शाह दोषी हुन् वा होइनन् भन्ने विषय अब कानुन र अदालतले छुट्याउने नै छ तर, पलको घटनालाई लिएर सामाजिक सञ्जालमा कला क्षेत्र र कलाकारलाई गाली गर्नेको ओइरो लागेको छ । केहीले भने पल शाहको बचाउ पनि गरेका छन् ।

कतिपयले व्यक्ति विशेष जोडिएको घटनालाई लिएर पूरै कला क्षेत्रलाई गाली गरेकोमा गुनासो गरेका छन् । नेपाली कला क्षेत्रमा लागेका व्यक्तिहरुको धारण पनि यही छ । नेपाली कला क्षेत्रमा यो घटनाको असर कस्तो रहला ? धेरैको चिन्ताको विषय हो । हामीले पनि यस विषयमा केही कलाकर्मीसँग प्रश्न राखेका थियौं ।

प्रस्तुत छ, उनीहरुको भनाइ जस्ताको तस्तैः

यस्ता घटना व्यक्तिगत हुन्छन्-करिश्मा मानन्धर (अभिनेत्री)

अभिनेता पल शाहको जीवनमा अहिले जे घटना घटिरहेको छ, त्यो उनको व्यक्तिगत जीवनसँग सम्बन्धित घटनाक्रम हुन् । मेरो बिचारमा यसले फिल्म क्षेत्रसँग कुनै सम्बन्ध राख्दैन । यस्ता घटना कला क्षेत्रका मात्र होइन, राजनीतिक, आर्थिक लगायत हरेक क्षेत्रमा घटिरहेका छन् । त्यसैले यस्ता घटना व्यक्तिगत हुन्छन् ।

हाम्रो फिल्म क्षेत्रमा गसिप बढी बन्ने भएकोले यस्ता घटनाले बढी चर्चा पाउने गरेका छन् । त्यसैले मेरो बिचारमा यो घटनाले फिल्म क्षेत्रमा केही असर पर्दैन । यो पलको निजी विषयमा हो । यसलाई व्यक्तिगत रुपमा लिन र कला क्षेत्रलाई गाली नगर्न म अनुरोध गर्दछु । 

कुनै पनि क्षेत्रमा धेरैथरिका मानिस हुन्छन् । ती मानिसको स्वभाव र बानी फरक फरक हुन्छ । एक व्यक्तिको नजरबाट पूरै क्षेत्रलाई हेर्न र गाली गर्न मिल्दैन । फिल्म क्षेत्रको विषयमा अहिले जुन टिकाटिप्पणी भइरहेको छ, त्यो गलत हो । व्यक्ति गलत भएको विषयमा अदालतले निर्णय गर्नेछ ।

पहिले सहमति, पछि विवाद

रविन्द्र खड्का (अध्यक्ष कलाकार संघ)

अभिनेता पलको विषय मैले राम्रो रुपमा भने पक्कै लिएको छैन । यो विषयमा पूरै कला क्षेत्रसँग जोडेर चर्चा गर्नुभन्दा पनि व्यक्तिगत चर्चा गर्दा राम्रो हुन्छ । हरेक क्षेत्रमा यस्ता घटना घटेको हामीले बेला बेलामा देख्दै र सुन्दै आएका छौं । गाउँको एउटा मानिसले केही नराम्रो ग¥यो भन्दैमा पूरै गाउँ खत्तम भयो, त्यो गाउँका सबै मानिस नराम्रा हुन् भनेर भन्न मिल्छ र ?

त्यस्तै पलको कुरामा कला क्षेत्र जोड्नु गलत हो । पहिले सहमति र पछि विवाद भएको चर्चा हो पलको । हामीले पनि त्यही बुझेका छौं । भर्खर यो केस उजुरीमा पुगेको छ । छानबिन होला, गलत÷सही त छुट्टिएला । अनिमात्र विश्लेषण गरौंला । मेरो बिचारमा यो कुराले नेपाली कला क्षेत्रमा केही असर पर्दैन र पर्नु पनि हुँदैन । कानुनी रुपमा व्यक्तिको विषयमा उजुरी परेको हो, कला क्षेत्रको विषयमा होइन । दर्शक र आम मानिसले बुझ्नु पर्ने विषय पनि यही हो ।

एक बोरा आलुमा एकदुई वटा कुहिन्छ

दयाराम दाहाल (अध्यक्ष, चलचित्र विकास बोर्ड)

यो विषयमा अहिले टिप्पणी गर्नु उचित ठान्दिनँ । यस विषयमा बढी बोलेर पनि केही अर्थ छैन । केही समय पर्खिंदा सत्यतथ्य बाहिर आउला । यो विषयले नेपाली कलाक्षेत्रमा यस्तो असर पर्छ भनेर पनि अहिलै भन्न सकिन्न । यो व्यक्तिगत विषयसँग जोडेर समग्र कला क्षेत्रको चर्चा गर्न मिल्दैन पनि । एक बोरा आलुमा एक दुईवटा कुहियो भने पूरै आलुलाई खराब भन्ने गरिँदैन, होइन र ? । अरु कुरा पछि गरौंला ।

एउटा व्यक्तिको घटनाको रुपमा हेर्नुपर्छ

दीपाश्री निरौला (अभिनेत्री तथा निर्देशक)

यो विषयमा बोल्ने र ? यो समग्र कला क्षेत्रको घटना होइन । यसलाई एउटा व्यक्तिको घटनाको रुपमा हेर्नुपर्छ सबैले । कलाकार त फिल्ममा हो । त्यस अगाडि ऊ मानिस हो । यो घटना एउटा व्यक्तिमा घटेको घटनाको रुपमा मैले हेरेकी छु । यसमा पूरै कला क्षेत्र जोड्न मिल्दैन । यो नहुनुपर्ने घटना हो, भयो । त्यसले यस्ता कुरो भइरहेको छ भनेर पनि देखायो । यो कानुनको दायरामा पुगेको विषय भएकोले केही बोल्न मिल्दैन । यसले समग्र कला क्षेत्र र कलाकार नराम्रो भनेर सन्देश जानुहुँदैन भन्ने मेरो धारणा छ ।

दुवै कलाकारको करियरका लागि नराम्रो भयो

शिव परियार (गायक) :

यो विषयमा अहिले केही बोल्दिनँ । यो कानुनको विषय हो । यसको अनुसन्धान भएर बाहिर आएपछि हामीलाई बोल्न सजिलो हुन्छ । अहिले यस घटनामा दुई खालका अडियो सार्वजनिक भइरहेका छन् । त्यसले पनि हामीलाई कन्फ्युज गरिरहेको छ । त्यसकारण पनि कुरो के भनेर भन्न सक्ने अवस्था छैन ।

नेपाली कला क्षेत्रमा यस्ता विषय हुनु भनेको राम्रो कुरो पक्कै होइन । यस विषयमा हामीले बिचार राख्दा ठुलो महत्व राख्छ । अनुसन्धान प्रभावित हुनसक्छ । हामीले बोलेको एक शब्दले एकातिर जाने विषय अर्काेतिर जानसक्छ । यो घटनाले घटनाका पात्र दुवै कलाकारको करियरका लागि नराम्रो भयो । त्यस्तो नभएको भए हुन्थ्यो भन्ने मेरो धारणा हो ।

पछिल्लो समय वौद्धिक जमात गीत–संगीत र फिल्म क्षेत्रप्रति आकर्षित हँुदै गर्दा यस्ता घटनाले त्यो आकर्षण घट्ने देखेको छु । यो क्षेत्रमा आफ्ना बालबच्चालाई अगाडि बढ्न हौसला दिनेहरुको अबको दिनमा कमी हुन्छ भन्ने मेरो बुझाइ हो । यो क्षेत्रमा आफ्ना सन्तानलाई लाग्न दिनु हुन्न भनेर सन्देश जान्छ कि भन्ने डर लागेको छ । यस्तो कुरा देखिनु भनेको सबै कलाकारकर्मीको इज्जत जानु हो ।

अहिले टिकाटिप्पणी नगरौं

गोपाल ढकाल (हाँस्य कलाकार)

यो दुई कलाकारबीचको असमझदारीको कुरो हो । यो व्यक्तिगत विषयको रुपमा लिन्छु म । हरेक मानिसले व्यक्तिगत रुपमा गर्ने क्रियाकलाप फरक फरक हुन्छन् । अहिले सामाजिक सञ्जालमा यो विषयलाई जोडेर फिल्म क्षेत्र र कलाकारलाई गाली गर्न मिल्दैन । एक बोरा आलुमा केही कुहिएको पाइयो भन्दैमा पूरै आलुको बोरा खराब भनेर भन्न मिल्दैन ।

पल शाहको विषय अदालतमा पनि पुगेको छैन । त्यसैले यो विषयमा अहिले टिकाटिप्पणी नगरौं । यस विषयमा अदालतले आफ्नो निर्णय सुनाएपछि कुरा गर्दा राम्रो हो । उजुरी पर्दैमा मानिस गलत हुँदैन र उजुरी नपर्दैमा सही हुन्छ भन्ने छैन । पल फिल्म क्षेत्रको मानिस भएकोले चर्चा भएको हो । यस्ता घटना सबै क्षेत्रमा भएको देख्न सकिन्छ । गल्ती गर्नेलाई सजाय अदालतले दिने हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप