आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

अब विद्युत खपत बढाउनुपर्छ : उर्जामन्त्री भुसाल

मङ्गलबार, ०१ चैत २०७८, १५ : ५१
मङ्गलबार, ०१ चैत २०७८


सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा बनेको सर्लाही लालबन्दी नगरपालिका–१ नवलपुरमा निर्माण भएको १३२/३३ केभी सबस्टेसनको उद्घाटन भएको छ । सर्लाहीको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन बनाइएको सबस्टेसन उद्घाटन भएको हो ।

सब स्टेसनबाट आगामी दिनमा खुल्ने नयाँ उद्योगहरुलाई विद्युत उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसन मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन् । उद्घाटन कार्यक्रममा उनले आम नेपाली जनताले उज्यालोका लागि मात्र नभएर खाना पकाउन, सिँचाइ गर्न, उद्योग कलकारखाना चलाउनका लागि प्रयोग गरी विद्युत खपत बढाउनुपर्ने बताइन् ।

तराई तथा मधेस क्षेत्रमा सिञ्चाइमा विद्युत खपतको प्रचुर सम्भावना देखेर नै सरकारले सिञ्चाइको विद्युत महसुल घटाएको बताउँदै उनले सिञ्चाइका लागि पेट्रोलियम पदार्थबाट चल्ले उपकरणहरु विस्थापित गर्न आग्रह गरिन । ‘अहिले हामी वार्षिक २ खर्बभन्दा बढीको खाद्यान्न आयात गरिरहेका छौँ, विद्युतको प्रयोग गरी सिञ्चाइ गरेर उत्पादन बृद्धि गरौं, बाँझो खेत नराखौँ,’ उनले भनिन्, ‘ऊर्जाको प्रयोग गरी उद्योग खोलौँ, कृषि गरौँ र मुलुकभित्रै रोजगारीको सिर्जना गर्दै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनतर्फ लागौं ।’

यस्तै, ऊर्जा सचिव देवेन्द्र कार्कीले सर्लाहीबाट बत्ती जाने धेरै गुनासो आउने गरेकामा अब त्यस्ता समस्या समाधान भएको बताए । सरकारले महसुल घटाएकाले विद्युत चोरी गरी सिञ्चाइ गर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै कार्कीले चोरी नियन्त्रणमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मधेश प्रदेशको विद्युत आपूर्ति सुधार गर्न अहिले सबैभन्दा बढी लगानी भइरहेको बताए । उनले प्राधिकरणले आफ्नो आम्दानी घटाएर भए पनि सिञ्चाइ, औद्योगिक, खानेपानीलगायत आम घरायसी ग्राहकलाई महसुलमा सहुलियत दिएको बताए । विद्युतीकरणका लागि बजेट अभाव नहुने स्पष्ट पार्दै उनले सबैलाई विद्युत उपलब्ध गराउने प्रतिबद्धता जनाए । मधेश प्रदेशमा विद्युत चुहावट बढी नै हुने गरेकोले चुहावट नियन्त्रणमा सहयोग गरिदिन सबैलाई आग्रह गरे ।

सबस्टेसनमा विद्युत आपूर्ति सुरु भएपछि सर्लाहीको विद्युत आपूर्ति विश्वसनीय र प्राविधिक चुहावट घटेको छ । यसअघि सर्लाहीमा ढल्केबर र चन्द्रनिगाहपुर सब स्टेसनबाट ३३ केभी लाइनमार्फत विद्युत आपूर्ति भइरहेको थियो । ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट थियो भने विद्युत आपूर्तिमा समेत अवरोध हुँदै आएको थियो ।

नवलपुर सबस्टेसनबाट सिधै विद्युत आपूर्ति हुन थालेपछि लाइन छोटो हुँदा चुहावट घट्छ, विद्युत आपूर्ति पनि विश्वसनीय र गुणस्तरीय बनेको छ । सर्लाहीमा खुल्ने उद्योगहरुलाई पर्याप्त विद्युत दिन सकिनेछ । पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन नवलपुर सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ ।

यही १३२ केभी लाइनबाट नवलपुर सबस्टेसनमा विद्युत आपूर्ति दिइएको छ । सबस्टेसनमा १३२/३३ केभी, ६३ एमभिए र ३३/११ केभी, १६ एमभिए क्षमताका दुईवटा  ट्रान्सफर्मर राखिएको छ । यही सब स्टेसनमार्फत सर्लाहीका हरिपुर र मलंगवा ३३/११ केभी वितरण सबस्टेसनहरुमा विद्युत आपूर्ति दिइएको छ ।

सबस्टेसनको प्रारम्भिक काम आर्थिक वर्ष (आव) २०७४/७५ र मुख्य निर्माण आव २०७५/७६ मा सुरु गरिएको थियो । कोभिड–१९ को महामारी कारण उपकरणहरु ल्याउन नसक्दा निर्माणमा केही ढिला भएको थियो । सबस्टेसनको निर्माणको ठेक्का पावर टेक, भारत र वाइबा इन्फ्राटेक, नेपालको संयुक्त उपक्रम (जेभी)ले पाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप