आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारमाथि बहस : बबिता बस्नेत र दुर्गा सोबको मत

शुक्रबार, ०४ चैत २०७८, २१ : १५
शुक्रबार, ०४ चैत २०७८

अभिनेता पल शाहलाई नाबालिग गायिकाले बलात्कारको अभियोग लगाइन् ।  अहिले शाह हिरासतमा छन् । उनीहरु सेलिब्रेटी भएका कारण यो घटना मिडिया र सामाजिक सञ्जालमा छायो । पक्ष र विपक्षमा व्यापक बहस भयो । आरोपी वा आरोपित सर्वसाधारण मानिस भैदिएको भए घटनाले यति धेरै चर्चा पाउने थिएन ।

स्वाभाविकरुपमा कलाकारका धेरै फ्यानहरु हुन्छन् । कतिपय फ्यान भएकै कारण ‘जस्टिस् फर नायक’ भनेर ब्यानरै बनाएर प्रहरी चौकी अगाडि आन्दोलनसमेत गरे । अर्को पक्षले गायिका नाबालिग भएकाले उनीमाथि यौन हिंसा भएको भन्दै उनले न्याय पाउनुपर्ने बताए ।

यसै सन्दर्भमा बलात्कारसम्बन्धी विद्यमान कानुनमाथि पुनर्विचार हुनुपर्छ भनेर लेख लेखेका आधारमा  पत्रकार वविता बस्नेत विवादमा तानिइन् । उनी लगायत केही महिला अधिकारकर्मीलाई ‘सामाजिक बहिस्कार’ को घोषणासमेत केही संस्था र व्यक्तिहरुले गरे ।  

नेपालको प्रचलित कानुनले १८ वर्ष मुनिका व्यक्तिलाई नाबालिकका रुपमा व्याख्या गरेको छ । यदि नाबालिकसँग सहमतिमै यौन सम्बन्ध राखे पनि कानुनले त्यसलाई जबरजस्ती करणी (बलात्कार) नै मानेको छ । कुनै पनि घटनामाथि पक्ष र विपक्षमा बहस हुनु स्वाभाविक हो । तर, कुनै पनि विषयमा व्यक्तिले मतभेद राख्न पाउने अधिकार भए पनि सभ्य नागरिकले विद्यमान कानुन मान्दिनँ भन्न मिल्दैन । अर्कोतर्फ, विद्यमान कानूनबारे बहसै गर्न हुँदैन वा मिल्दैन भन्न पनि सकिँदैन ।  

त्यसै सन्दर्भमा रातोपाटीले पत्रकार बबिता बस्नेत र महिला अधिकारकर्मी दुर्गा सोबसँग कुराकानी गरेको छ, उनीहरुको धारणाको सम्पादित सार-

कानुनको समीक्षा गर्दा बलात्कारीलाई समर्थन ठहर्दैन : बबिता बस्नेत

बलात्कारसम्बन्धी कानूनको समीक्षा गरौं’ भन्ने मेरो लेख कुनै व्यक्तिप्रति नभएर हाम्रो देशको बलात्कार सम्बन्धी कानुनसँग सम्बन्धित छ । बलात्कारको आरोप लागेका यो मुलुकका कुनै पनि पुरुष र कुनै पनि पीडित बालिका या महिलासँग सम्बन्धित छैन ।

कलाकारहरु चर्चित भएकाले यो घटनाले बढि चर्चा पाए पनि अन्य धेरै बलात्कारका घटना यो देशमा भएका छन् र ती अनुसन्धानका क्रममा छन् । कुनै बलात्कारी पुरुषको पक्षमा नभएर ती निर्दोष युवाहरु जसले आफ्नी केटी साथीसँग सहमतिमा सम्बन्ध राखे, तर बलात्कारको सजाय भोगिरहेका छन्, तिनीहरुको अवस्था देखेर मैले कलम चलाएकी हुँ ।

जेलहरुमा केही पीडित युवालाई भेटेँ र उनीहरुका केटी साथीहरुलाई भेटेँ, जो उनीहरुका प्रेमिका थिए । कतिले त लुकीछिपी विवाह पनि गरेका थिए । बाबुआमालाई उनीहरुको सम्बन्ध मन परेन, केटालाई बलात्कारको मुद्दा चलाइएको समेत पाइयो ।

प्रहरी र न्यायाधीशहरूसँग छलफल गरेपछि उहाँहरुले पनि कानुन नै त्यस्तो छ, निर्दोष भनेर जान्दा जान्दै पनि केही गर्न नसकिने कुरा आयो, त्यसैले यसमा कलम चलाउनैपर्छ र सम्बन्धित पक्षलाई जानकारी दिनैपर्छ भनेर त्यो लेख लेखेको हो । मैले १७/ १८ वर्षका युवायुवतीहरुको सवालमा आवाज उठाएकी हुँ । अहिलेको चर्चित घटनासँग मेरो लेखको कुनै सम्बन्ध छैन ।

कतिपय व्यक्तिले बलात्कारीलाई समर्थन गरेको सन्देश फैलाइरहनुभएको छ, जुन सही होइन । यो मिसइन्फरमेशन र डिसइन्फरमेसन हो । कानूनको समीक्षा गरूँ भन्नुको अर्थ बलात्कारीलाई समर्थन भन्ने हँुदैन । युवाका सवालमा बलात्कारसम्बन्धी हाम्रो कानून गलत छ । यो मित्रतामा भएका युवा युवतीबीचको कुरा हो ।

सहमतिको सम्बन्ध भए पनि बलात्कार भयो भनी कसैलाई फसाउने नियतले कानूनको प्रयोग नहोस् । त्यसैले कानूनको संशोधन हुनु आवश्यक छ । बलात्कार र सहमतिको सम्बन्धलाई छुट्याएर हेर्नुपर्छ । एउटी महिलामाथि बलात्कार हुनु जति पीडादायी कुरा हो, बलात्कार नगरेको पुरुषलाई बलात्कारको आरोप लाग्नु र जेल सजाय पाउनु त्यति नै दुःखदायी कुरा हो ।

अहिले बलात्कार र सहमतिको सम्बन्धलाई नछुट्याउँदा बलात्कार भनेको सामान्य कुरा हो जस्तो सन्देश गएको छ । बलात्कार जघन्य अपराध हो, सहमतिको सम्बन्ध अपराध होइन । हामीले यौन क्रियाकलाप र यौनजन्य हिंसा एवं बलात्कारलाई छुट्याएर हेर्नुपर्छ । बलात्कार यौनजन्य हिंसाको अन्तिम रुप हो । यौनजन्य क्रियाकलाप, यौनजन्य हिंसा र दुव्र्यबहार फरक कुरा हुन् ।

न्याय अन्याय छुट्याउने काम अदालतको हो  : दुर्गा सोब

नायक पल शाह र गायिकाबीचको घटना जुन अहिले बाहिर आएको छ, यो सरसर्ती हेर्दा नायक दोषी देखिन्छन् । इच्छा विपरीत सम्बन्ध बनाउनु पनि बलात्कार हो र उमेर नपुगेकासँग त झन् उसको सहमति मै भएको छ भने पनि बलात्कार ठहर्छ । ललाई फकाई प्रलोभनमा पारेर नाबालिकसँग सम्बन्ध बनाउनुलाई हाम्रो कानुनले दोषी मानेको छ । दोषीलाई दण्ड गर्ने कानुन छ, कानुनले समीक्षा गर्छ । प्रमाणहरु जुटाएर न्याय र अन्याय छुट्याउने काम अदालतको हो ।

नायकको मात्रै समर्थन उत्रिँदा हाम्रो छोरी अन्यायमा पर्न सक्छिन् । बलात्कारको घटनामा संलग्न युवाको भविष्य अन्धकार भएको देख्नु बलात्कारीलाई प्रोत्साहित गर्नु जत्तिकै हो । अहिले पक्ष र विपक्षमा बसेर एउटा निक्र्याैलमा पुग्न आवश्यक देखिन्छ । यसरी घटना बाहिर आउँदा बहस शुरु हुन्छ । यस्तो घटनामा हालको विद्यमान कानुन कस्तो छ, र आगामी दिनमा के–कसरी जान आवश्यक छ भन्ने निर्क्यौल गर्न सकिन्छ । कानुनसंगत बहसले एउटा निचोडमा पुग्न सकिन्छ ।

दुवैजना कलाकारिता क्षेत्रमा स्थापित छन् । यस्तो अन्य सामान्य नागरिकका हकमा पनि घटना भएका छन् । तर, उनीहरुको पक्षमा बोल्दिने मान्छे छैनन् । बोले पनि सम्बन्धित निकायसम्म पुग्दैन । सञ्चार माध्यमले पनि स्पेस दिँदैन । तर, आज नायक र गायिकाकै सवालमा कैयौं वकिल निःशुल्क बहस गर्न लालायित छन् । हाइलाइट केमा हुन सकिन्छ भन्ने प्रवृत्ति धेरैमा देखिन्छ । सामान्य नागरिकको हकमा आवाज उठेको खै ? यस घटनाले बहस मागेको छ ।

वातावरण, खानपान र अहिले प्रविधिको विकासले पनि मानिसको विकासक्रम पहिलेको तुलनामा तिव्र बढेको छ । उमेर पुगेको परिपक्व वयस्कलाई अहिले टिन एजरहरुले नै नयाँ प्रविधिको बारेमा सिकाउन सक्छन् । कानुनले के कुरा वर्जित गरेको छ भनेर हेक्का राख्ने प्रमुख जिम्मेवारी नाबालिगको तुलनामा वस्यकको हो, उसले बढी जिम्मेवार बन्नुपर्छ । नाबालिकलाई दोषी ठहर्याएर वयस्कलाई छुट दिने हो भने यस्ता घटना आगामी दिनमा अन्य छोरीहरुमाथि पनि हुँदै जान्छ । अपराधिक घटना फेरि नदोहोरियोस् भनेर लाग्नु आवश्यक छ ।

महिला अधिकारको क्षेत्रमा काम गर्नेहरु पनि धेरै पूर्वाग्राही भएको देखिन्छ । व्यक्ति र व्यक्तित्व हेरेर कुरा गर्ने प्रवृत्तिले न्यायलाई मार्छ । आफ्नो मान्छेले गल्ती गरेको छ भने पनि कानुनी प्रक्रियाअनुसार जानुपर्छ भन्ने बहस गर्ने बानी छैन । म फलानोको मान्छे हुँ, म उसको फ्यान हुँ भनेर गरिने बहसको कुनै अर्थ छैन ।

समाजमा ३०/ ३५ वर्षको मान्छेले १५ वर्षकी नाबालिकासँग विवाह गरेका छन् । १६ वर्षकै उमेरमा आमा बनेका छन् । त्यसरी नाबालिकले बच्चा जन्माउन सक्छिन् भन्दैमा उनी परिपक्व हुन् भनेर हामीले बुझ्न मिल्दैन । हाम्रा आमा–हजुरआमाहरु पहिलो रजस्वलापछि आमा बनेका थिए । अब त्यही समयको कुरा गरेर अहिले बहसमा उत्रिनु सान्दर्भिक देखिदैन ।

बहस अझ धेरै आवश्यक छ । अहिले १५ वर्षकै बालिका लिभिङ टुगेदरमा बसेको पाइन्छ । यिनीहरुको विषयमा पनि बहस हुन आवश्यक छ । उनीहरुमाथि हुन सक्ने कुनै पनि हिंसाबाट जोगाउने जिम्मेवारी हाम्रो हो । उनीहरु त आफूलाई मन लागेको गर्न पाउनुपर्छ भन्छन् । भर्खरको बच्चा पनि आफ्नो मनले गर्न नपाएमा रुन्छ, विद्रोह गर्छ । तर, हामीले उसलाई गल्ती हुनबाट जोगाउँदै आएका हुन्छौ । उमेर क्रमसँगै फरक किसिमको इच्छा र चाहनाको विकास हुन्छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता न्यौपाने
सीता न्यौपाने
लेखकबाट थप