बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

इरानमा देहव्यापारको समस्या : म जे गरिरहेकी छु, त्यसप्रति लाज लाग्छ तर मसँग विकल्प छैन

सोमबार, ०७ चैत २०७८, १६ : ३८
सोमबार, ०७ चैत २०७८

‘म जे गरिरहेकी छु, त्यसप्रति लाज लाग्छ तर मसँग के विकल्प छ र ?’ यो सवाल सम्बन्ध विच्छेद गरेकी तेहरानकी महिला निदाको हो । दिउँसोको उज्यालोमा कपाल काट्ने काम गरिरहेको र आफ्नो जीविका चलाउन निदा रातको अँध्यारोमा यौनकर्मीको रुपमा काम गर्छिन् ।

उनी भन्छिन्, ‘म यस्तो देशमा बस्छु जहाँ महिलालाई सम्मानको दृष्टिबाट हेरिन्न । अर्थव्यवस्था ध्वस्त भएको छ । दैनिक जीवनयापनको खर्च प्रत्येक दिन बढिरहेको छ ।’ उनको एक बच्चा पनि छ । ‘छोराको हेरचाहको जिम्मेवारी पनि मेरै काँधमा छ,’ उनी भन्छिन्, ‘देहव्यापारमा पैसा राम्रो पाइन्छ । अब म मध्य शहरमा एक सानो घर किन्ने योजना बनाइरहेकी छु । यो मेरो जिन्दगीको दुःखपूर्ण सत्यता हो । म प्रत्येक दिन आफ्नो आत्माको सम्झौता गरिरहेकी छु ।’

सन् २०१२ मा इरानले आफ्नो देशमा देहव्यापारको समस्या नियन्त्रण गर्न राष्ट्रिय कार्यक्रम घोषणा गरेको थियो । तर गैर सरकारी संगठन र स्वतन्त्र शोधकर्ताका अनुसार यो घोषणापछि देशमा देहव्यापार लगातार बढिरहेको छ ।
इरानको परम्परागत धार्मिक सत्ता प्रतिष्ठान आधिकारिक रुपमा लामो समयदेखि देशमा यौनकर्मीको उपस्थितिलाई अस्वीकार गर्दै आएको छ ।

पश्चिमी देशको षड्यन्त्र
इरानी अधिकारीका अनुसार देहव्यापार देशको युवाको ध्यान अन्यत्र मोड्न पश्चिमा देशले गरेको षड्यन्त्र हो । यसमा समावेश हुने महिलालाई उनीहरु दोषी मान्छन् । गैर आधिकारिक तथ्याङ्कका अनुसार इरानमा कम उमेरका महिला देहव्यापारमा जोडिएका छन् । विभिन्न गैरसरकारी संगठनका अनुसार सन् २०१६ मा इरानमा देहव्यापारमा १२ वर्षका बालिका पनि समावेश थिए ।

इरानमा लागू औषधको सेवन गर्ने महिलाको उपचार गर्ने गैर सरकारी संगठन आफताब सोसाइटीले सन् २०१९ मा तेहरानमा १० हजार यौनकर्मी संलग्न भएको र यसको ३५ प्रतिशत महिला विवाहित भएको अनुमान गरेको थियो ।
तेहरान युनिभर्सिटी सामाजिक कल्याणका प्राध्यापक आमिर महमुद हारिकीको अनुमान अनुसार तेहरानमा यसको दुई गुणा संख्यासम्म महिला यौनकर्मी थिए ।

इरानमा महिलाका लागि कामको अवसर कम भएको र लैङ्गिक विभेदका कारण महिला गरिबीको रेखामुनि जीवन यापन गर्न बाध्य छन् । यी महिला आफ्नो भरण पोषणका लागि यौनकार्य गर्न बाध्य भएका छन् । यद्यपि यो पेसासँग जोडिएका कयौं जोखिम पनि छन् ।
तेहरान युनिभर्सिटीका छात्रा तथा आंशिक समय देहव्यापार गर्ने महनाज भन्छिन्, ‘पुरुषलाई पनि थाहा छ, इरानमा देहव्यापार गैरकानुनी छ । यसमा लिप्त महिलाका लागि कडा दण्डको प्रावधान पनि छ । यस्तोमा पुरुष यसलाई आफ्नो फाइदाको रुपमा प्रयोग गर्छन् ।’

मेहनाज आफूसँग यसको अनुभवसमेत रहेको बताउँछिन् । उनी भन्छिन्, ‘यौन सम्बन्ध राखेपछि पनि कतिपय पुरुषले मलाई पैसा दिएनन्, म यसको गुनासो अधिकारीहरु सामु गर्न पनि सक्दैनथेँ ।’ मेहनाजका अनुसार तेहरानमा बस्न अत्यन्त खर्चिलो हुँदै गइरहेको छ र कुनै दोस्रो काम गरेर शहरमा आफ्नो खर्च उठाउन सक्ने अवस्था उनीसँग छैन ।

आनन्दका लागि विवाह
इरानमा १९७९ मा इस्लामिक क्रान्तिपछिको नयाँ शासनका अवधिमा कयौं यौनकर्मीलाई फाँसी दिइएको थियो । देहव्यापारका कयौं अखडा बन्द भएको थियो । यस अवधिमा यौनका लागि महिलाको प्रयोगलाई वैधता दिन र इरानमा आनन्दका लागि अल्पकालीन विवाह गर्ने चलनमा व्यापक वृद्धि भएको थियो ।

यो चलन अनुसार महिला एक निश्चित समयका लागि निश्चित रकमको सट्टामा अस्थायी रुपमा कुनै पुरुषको पत्नी बन्छिन् । इरानको सिया इस्लामी व्यवस्था अनुसार विवाहको अनुमति छ र यसलाई देहव्यापार मानिँदैन । यो चलन मशहाद र क्योम जस्ता धार्मिक शहरमा पनि व्याप्त छ, जहाँ विश्वभरबाट सिया समुदायका मानिस धार्मिक कारणले पुग्ने गर्छन् ।

सोशल मिडियामा यस्ता भिडियो छन् जसबाट यो प्रमाणित हुन्छ कि इरानी पुरुष मशहादमा यौनको माग गरिरहेका छन् । जबकि अधिकारीहरु उनीहरुलाई ‘अस्थायी विवाह’को विकल्प रहेको तर्क गर्छन् । अहिले प्रशस्त मात्रामा अनलाइन सेवा छन्, जसले इरानमा त्यस्तो अल्पकालीन विवाहको सेवा दिन्छन् । यो सेवा टेलिग्राम र ह्वाट्स एपमा पनि छ र यो सेवा मिलाउने समूहले आफूलाई सरकारी अनुमति पनि भएको बताएका छन् ।

त्यसो त इरानमा खाद्य बस्तुको बढ्दो मूल्यका कारण देहव्यापार बढेको छ । खानपानको मूल्य वृद्धिको कारण इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिकी आर्थिक प्रतिबन्ध नै हो । गत वर्षदेखि हालसम्म इरानमा महँगी ८.६ प्रतिशतले वृद्धि भइसकेको छ ।

इरानमा बेरोजगारी लगातार बढिरहेको छ र जो मानिस जागिरमा छन्, उनीहरुलाई पनि पर्याप्त मात्रामा तलब प्राप्त भइरहेको छैन । देशको विद्यमान स्थितिमा २० देखि ३५ वर्षसम्मका यस्ता पुरुषको संख्या छ, जो पैसाको सट्टामा महिलासँग यौन सम्बन्ध बनाउन तयार छन् । इरानको प्रमुख शहरमा पुरुष यौनकर्मीको संख्यामा पनि तीव्र दरमा वृद्धि भइरहेको छ ।

२८ वर्षका कामयार यस्तै युवा हुन् । सुपर मार्केटमा क्यासियरका काम गर्ने उनी गत वर्षसम्म आमा बुवासँगै बसिरहेका थिए । किनकि उनी आफ्नो खर्च आफै उठाउन सक्ने स्थितिमा थिएनन् । तर अब उनी मध्य तेहरानमा भाडाको अपार्टमेन्टमा बस्छन् र उनले कुनै दिन देश छोडेर विदेश जाने आशा लिएका छन् ।

‘सोशल मिडियाको माध्यमबाट मलाई ग्राहक मिलिरहेको छ । यी महिलाहरु ३० देखि ४० वर्ष उमेरका छन् । एक पटक त ५४ वर्षकी महिला पनि मेरो ग्राहक बनेकी थिइन् । यिनीहरु मेरो राम्रो ध्यान दिन्छन्, सधैँ रातमा आफ्नो ठाउँमा सुताउँछन् । माउथ पब्लिसिटीको माध्यमबाट मेरा कयौं ग्राहक छन् ।’

काययार एक प्रशिक्षित इन्जिनियर हुन् । तर उनको जुन क्षेत्रमा रुचि छ, यसको कुनै भविष्य उनी देख्दैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप