शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

म्यादी प्रहरीमा युवाको आकर्षण : देश सेवासँगै ‘पकेट मनी’को मोह (फोटो/भिडियो)

सोमबार, ०७ चैत २०७८, २० : २४
सोमबार, ०७ चैत २०७८

दायाँ हातमा छोरा अनि बायाँ हातमा छोरी डोर्याउँदै महानगरीय प्रहरी परिसर पुगेका छन् सर्मन लामिछाने । उनकी जीवन संगिनी मनकुमारी लामिछाने पनि त्यहीँ कतै भीडमा छिन् । रातोपाटीको क्यामराले मनकुमारीलाई देखेन । तर, सर्मन र हुर्कंदै गरेका दुई छोराछोरी प्रहरी परिसर टेकुको गेटमै भेटिए ।

‘म्यादीमा जागिर खाउँ कि भनेर आएको नि, के गर्नु बेरोजगार भइयो ।’ स्थानीय निर्वाचनका लागि सरकारले खुलाएको म्यादी प्रहरीमा भर्ना हुन सर्मन प्रहरी परिसर टेकु पुगेका हुन् । सोलुखुम्बु घर भएर हाल काठमाडौंको गोकर्णेश्वर बस्दै आएका सर्मन फर्निचरमा ज्याला मजदुरी गर्दा रहेछन् । अनि मनकुमारी चाँहि गृहिणी । यी दुबै बूढाबूढी म्यादीको फारम भर्दै थिए ।

सरकारले म्यादी प्रहरीमा भर्ना खुलाएको छ अवसर नछुटाउँ भनेर सर्मनको परिवार नै टेकु पुगेका रहेछन् । ‘छोरा युकेजीमा पढ्छ, छोरी दुई कक्षामा पढ्छे । यिनीहरूको पढाईका लागि थोरै भएपनि पैसा जुट्छ कि भनेर फर्म भर्न आएको’, सर्मनले ४० दिनको छोटो अवधिको जागिरमा आफू आउनुका रहस्य खुलाए, ‘फर्निचरमा काम गरेर बच्चा पढाउन र खान लाउन त पुगेकै छ । तर अहिले त्यहाँ पनि त्यति काम छैन, त्यही भएर अलिअलि पैसा पनि हुन्छ, केही बुझिन्छ पनि भनेर आको ।’

महानगरीय प्रहरी परिसर टेकुमा सर्मन जस्तै छोटो अवधिको भएपनि जागिर खाने इच्छा बोकेर आउनेको संख्या ठूलो छ । कसैलाई छोटो समयका लागि देशका सेवा गर्दै कमाउने रहर छ त कसैलाई पढाइका लागि खर्च जोहो गरेर राम्रो शिक्षा हासिल गर्ने । यस्तै रहर बोकेका दुई दिदी बहिनी हुन्, सञ्जिता नेपाली र सरस्वती नेपाली । दोलखाबाट काठमाडौं पढ्न आएका उनीहरूलाई पढाइको खर्च जुटाउनै हम्मे हम्मे छ ।

त्यसैले उनीहरू म्यादी प्रहरीको जागिर खाएर अध्ययनका लागि खर्च जुटाउन हतारिएका छन् । एकै स्वरमा भन्छन्, ‘काठमाडौंमा डेरा बसेर पढ्नु छ, रोजगारी छैन । गाउँमा बाबा आमाले भैँसी पालेर पठाएको खर्चले कतिन्जेल धान्ने ? त्यही भएर म्यादीमा भर्ना हुन लागेको ।’

बहिनी सञ्जितालाई पढाईसँगै बैंकमा जागिर खान तयारी गर्ने पैसा जुटाउनु छ । उनलाई अनलाइन कक्षा लिनु छ । बैंकमा जागिर खाने सपना देखेकी उनलाई अन्य तयारी कक्षा पनि लिनु छ तर पैसा छैन । त्यसको समाधानको उपाय म्यादीको जागिर देखेका छन् दुई दिदी बहिनीले ।

आफ्नै योजना र रहर पुरा गर्न प्रहरी परिसर पुगेकी अर्की पात्र हुन् ५० वर्षिया गृहिणी बिष्णुमाया दोङ । सर्लाही घर भई हाल सतुंगल बस्दै आएकी बिष्णुमायाको २२ वर्षिय छोरासहितको परिवार छ । तर, उनलाई म्यादीमा जागिर खाएर घर खर्च चलाउनु छ । रहरका सरसामान खरिद गर्नु छ । अनि थोरै समय भएपनि देशको सेवा गर्नु छ । आशावादी भावमा भन्छिन्, ‘म्यादीमा जागिर खाने भनेर आएकी छु । के हुन्छ थाहा छैन । आर्थिक अभाव छ, केही राहत हुन्छ कि भनेर हो ।’

अहिले सयौंको भीड छ महानगरीय प्रहरी परिसर टेकुमा । कोही देशको सेवा गर्न पाइन्छ कि भन्नेमा हतारिएका देखिन्छन् अनि कोही थोरै भएपनि आर्थिक उपार्जनको आशामा छन् ।

शंखरापुर, साँखुकी सन्ध्या भुजेल बच्चैदेखि प्रहरी बन्न चाहन्थिन् । तर, असइका लागि उनको प्रयास पहिले नै विफल भयो । त्यो रहर पूरा गर्न अनि अध्ययनका लागि रकम जुटाउन भोको पेट लिएर उनी लाइनमा धैर्यताका साथ बसेकी थिइन् । दुःख पोख्छिन्, ‘बिहानदेखि भोकै बसेकी छु, लाइन बसेको ३/४ घन्टा भयो ।’

म्यादी प्रहरी बन्ने सपना बोकेका तनहुँका २० वर्षिय चन्दन थापा क्षेत्री काठमाडौंमा वेटरको काम गर्छन् । अहिले म्यादी प्रहरी किन त ? ‘नेपालमा रोजगारी छैन । फेरि लकडाउनमा वेटरको जागिर त त्यस्तै हो । अर्को कुरा देशको सेवा गर्नु छ, निर्वाचनमै भएपनि एउटा युवा हुनुको नाताले राम्रो भूमिका निर्वाह गर्नु छ ।’ उनले भने ।

भिडियो हेर्नुहोस्

निर्वाचन आयोगले आगामी बैशाख ३० गते स्थानीय निर्वाचनको मिति तय गरेसँगै गृह प्रशासनले देशभर १ लाखको संख्यामा म्यादी प्रहरीको भर्ना आह्वान गरेको छ । तर, भर्ना खुलाएको २ दिन नबित्दै महानगरीय प्रहरी परिसरमा आवेदन दिनेको घुइँचो छ । काठमाडौं जिल्लाका लागि २ हजार ७ सय ६७ जना म्यादी प्रहरी माग गरिएको छ । तर, आइतबार र सोमबारसम्ममा  टेकुमा मात्र ४३ सय आवेदन फारम वितरण गरिसकिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेश राज मैनालीले जानकारी दिए । यो संख्या आवेदन दिने अन्तिम मिति चैत ११ गतेसम्ममा निकै माथि पुग्ने आँकलन छ ।

यस्तै महानगरीय प्रहरी परिसरले ललितपुरले माग गरिएको १ हजार २ सय ५ म्यादी प्रहरीमा सोमबार दिउँसो सम्ममा ८३२ आवेदन बुझिसकेको जनाएको छ । उता भक्तपुरले आवश्यक ७६३ माग गरिएको मध्ये सोमबार दिउँसो सम्ममा ६ सय ५० वटा आवेदन बुझिसकेको जनाएको छ ।  यसले उपत्यकामा मात्र नभएर देशैभरी म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिनेको संख्या उल्लेख्य रहेको देखाउँछ ।

अझ म्यादी प्रहरीमा युवाको बढ्दो आकर्षणले देशमा बेरोजगारीको अवस्थालाई पनि उजागर गरिदिएको छ । तथापि, निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यावधि बढीमा ४० दिनको तोकिएको छ भने उनीहरूको तलब नेपाल प्रहरीको जवान सरह अर्थात् आधारभूत तलब मासिक २२ हजार ६८० रुपैयाँ हुनेछ ।

४० दिनको कुल तलब बैंक खातामा ३० हजार २४० रुपैयाँ तथा खाद्यान्न बापत ७ हजार २ सय, पोशाक तथा अन्य सामान खरिद गर्ने गरी ६ हजार गरी कुल ४४ हजार ४ सय ४० रुपैयाँ प्राप्त गर्नेछन् । यसरी थोरै समय भएपनि रोजगार बन्न पाउने आशाले पनि देशभर म्यादी प्रहरीमा भर्ना हुन चाहनेको संख्या उच्च छ ।

थप तस्बिरहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप