आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

वाङले पोखरा विमानस्थलको सांकेतिक चाबी नेपाललाई बुझाउने

शनिबार, १२ चैत २०७८, १३ : ०२
शनिबार, १२ चैत २०७८

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको सां‌केतिक चाबी नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) लाई हस्तान्तरण गर्ने भएका छन् । हालसम्म विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ ।

यो विमानस्थल चिनियाँ सहुलियतपूर्ण ऋण सहायता परिचालन गरी निर्माण भइरहेको छ । विमानस्थल निर्माणमा पनि सोही देशको कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ खटिएको छ । चिनियाँ विदेशमन्त्री वाङले आफ्नो देशकोो आर्थिक र प्राविधिक सहायता रहेको विमानस्थलको सांकेतिक चाबी जारी भ्रमण क्रममा नै नेपाललाई हस्तान्तरण गर्न लागेका हुन् । विमानस्थल भने मुख्य निर्माण कार्य र यान्त्रिक जडानको काम सकिएपछि चिनियाँ निर्माण कम्पनी सिएएमसीइले हस्तान्तरण गर्नेछ ।

विमानस्थल आयोजना प्रमख विनेश मुनकर्मीले आज साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चीनका परराष्ट्रमन्त्री वाङ यीले ‘सिम्बोलिक की’ हस्तान्तरण गर्नेछन्‌ । सोही समयमा पोखरा आयोजनास्थलमा पनि चिनियाँ निर्माण कम्पनीलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले कदरपत्र प्रदान गर्ने कार्यक्रम छ । मुख्य निर्माण कार्य र यान्त्रिक जडानको काम सम्पन्न भएकाले चीनले विमानस्थल हस्तान्तरण गर्न लागेको जनाएको छ । हालसम्म विमानस्थलको धावनमार्ग, टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटिसी) भवनलगायत विभिन्न १४ भवन र ट्याक्सी-वे लगायत मुख्य काम सकिएका छन् । विमानस्थल आयोजनाका वरिष्ठ अधिकृत सविन फुयाँलले विमानस्थलका मुख्य काम सबै सकिएको र सामान्य केही काम मात्र बाँकी रहेको बताए ।

सरकारले यसै वर्षभित्रमा विमानस्थल सञ्चालनमा ल्याउने योजना बनाएको छ । फुयाँलका अनुसार रनवे, टर्मिनल भवन, यान्त्रिक उपकरण जडान, लाइटलगायत मुख्य काम सबै सकिएको हो । फेन्सिङ, प्यासेन्जर बडी बिल्ड र नालाको केही सामान्य काम मात्र बाँकी छ । यसका लागि अब धेरै समय नलाग्ने उनको दाबी छ । 

निर्माण कम्पनीसँगको सम्झौताअनुसारका आयोजनाका मुख्य काम सकिएपनि विमानस्थल सञ्चालनका लागि पूर्ण रूपमा तयार हुन अझै काम बाँकी नै छन् । आयोजनाका अनुसार नेपाली पक्षले गर्नुपर्ने ‘ल्याण्डफिल साइट’ व्यवस्थापन, विमानस्थलको पूर्वपट्टीको रिठेपानी डाँडा कटान र ‘फ्युल स्टेशन’को काम अझै सुरु हुन सकेको छैन । बाँकी कामका लागि कागजी प्रक्रिया अघि बढे पनि स्वीकृत हुन बाँकी छ ।

डाँडा कटानका लागि मन्त्रीपरिषद्ले पूरक प्रतिवेदन पेश गर्ने र वनसँग सम्झौता गर्ने गरी दुई पूर्व शर्तसहित यसअघि नै वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेको थियो । पूरक प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश भइसकेको र स्वीकृतिको चरणमा रहेको अधिकृत फुयाँलले बताए। विमान उडान र अवतरणको सुरक्षाका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन (आइकाओ)का मापदण्डअनुसार सो डाँडा ४० प्रतिशत कटान गर्नुपर्ने देखिएको आयोजनाले जनाएको छ ।

पर्यटकीय सहरका रुपमा स्थापित पोखरालाई हवाई सम्पर्कका माध्यमबाट विश्वका अन्य शहरसँग सिधा सम्पर्क कायम गर्न चार दशकअघि नै विमानस्थल बनाउने योजना अघि सारिएको थियो । निकै अघि विमानस्थल निर्माण परिकल्पना गरिएपनि वि.सं. २०७४ देखि मात्र निर्माण शुरू भएको थियो । सन् २०२१ जुलाई १० भित्रमा काम सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने सम्झौता रहे पनि कोरोना सङ्क्रमणका कारण विमानस्थलको काम रोकिएकाले गत वर्ष थप एक वर्ष म्याद थपिएको थियो ।

निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले वि.सं. २०७४ असारदेखि विमानस्थलको काम शुरू गरेको थियो । निर्माण निम्ति सन् २०१४ मे २२ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसीबीच व्यापारिक सम्झौता भएको थियो । त्यसपछि सन् २०१६ मार्च २१ मा नेपाल सरकार र चीन सरकारबीच ऋण सम्झौता भएकामा सोही वर्षको जुन ५ मा सरकार र नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच सहुलियत ऋण सम्झौता भएको थियो ।

चीनको एक्जिम बैंकले सन् २०१७ को मे ३१ मा ऋण स्वीकृत गरेकामा सन् २०१८ फेब्रुअरी २५ मा नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण र चिनियाँ एक्जिम बैंकबीच विमानस्थल निर्माणका लागि आर्थिक स्रोतको सुनिश्चिता भएपछि निर्माण कार्य अघि बढाइएको थियो ।

इपीसी (इन्जिनियरिङ प्रोक्युरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन (आइकाओ) को मापदण्ड अनुसार ‘फोरडी’ मोडलमा विमानस्थल निर्माण गरिएको हो । यस विमानस्थलमा बोइङ ७५७ र एयरबस २१९ मोडलका ‘न्यारोबडी’ विमान उडान तथा अवतरण गर्न सकिने छ । साविक छिनेडाँडा हाल पोखरा महानगरपालिका–१४ मा वि.सं. २०३२ मा पहिलोपटक विमानस्थलका लागि तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिएको थियो । त्यसपछि वि.सं. ०७१/०७२ मा थप ५२१ मध्येमा ५१५ रोपनी जमिन तथा ३५ घर टहरा अधिग्रहण गरिएको थियो । पछिल्लो पटक ‘आउटर पेरिफेरी रोड’का लागि भनेर पुनः ५९ रोपनी जमिन तथा ३४ घर टहरा अधिग्रहण गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप