शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

५ वर्षमा पनि आफ्नै कार्यालय भवन बनाउन सकेनन् हेटौंडाका यी वडाले

शुक्रबार, १८ चैत २०७८, ११ : ४७
शुक्रबार, १८ चैत २०७८

साविकको हेटौंडा नगरपालिकालाई २०७३ सालमा उपमहानगरपालिका बनाइएको भए पनि नगरपालिकाबाट उपमहानगरमा स्तरोन्नति हुँदा थपिएका कतिपय वडाका आफ्नै कार्यालय भवनसमेत बन्न सकेको छैन ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा  एमालेका हरिबहादुर महत हेटौंडा उपमहानगरपालिकाको मेयरमा निर्वाचित भए । यसबीचमा सहरको विकासका लागि आफूले धेरै काम गरेको उनको दाबी छ । तर, हेटौंडाका १९ वटा वडामध्ये ७ वटा वडाले अझै आफ्नो कार्यालय भवन पाउन सकेका छैनन् ।

१२ वटा वडासँग मात्र आफ्नै भवन

उपमहानगरपालिकाका १९ वटा वडामध्ये १२ वटा वडाले सुविधा सम्पन्न कार्यालय भवन निर्माण कार्य सम्पन्न गरिसकेका छन् । उपमहानगरपालिका वडा नम्बर १, ३, ४, ६, ७, ८, ११, १३, १४, १५, १७ र १८ ले आफ्नै कार्यालय भवन निर्माण गरेका हुन् ।

त्यस्तै हेटौंडाका ३ वटा वडाले आफ्नो कार्यालय भवन निर्माण कार्य जारी राखेका छन् । हेटौंडा १०, १२ र १९ नम्बर वडाका कार्यालय भवन निर्माण भइरहेको छ । उपमहानगरपालिकाका ७ वटा वडाका कार्यालय भाडाका घरमा सञ्चालन भइरहेका छन् । हेटौंडाका केही वडाले साविककै गाविस कार्यालय भवनबाट सेवा सञ्चालन गरिरहेका छन् ।

हेटौंडाको वडा नम्बर २, ५, ९, १०, १२, १६ र १९ को आफ्नै भवन नहुँदा भाडाको घरबाट सेवा सञ्चालन गर्दै आएका छन् । घर भाडाबापत हेटौंडा उपमहानगरपालिकाले एउटा वडाको मासिक न्यूनतम २० हजार रुपैयाँ भुक्तानी गर्दै आएको छ ।

उपमहानगरले ७ वटा घर भाडामा लिएर कार्यालय सञ्चालन गरे बापत मासिक न्युनतम १ लाख ४० हजार रुपैयाँ खर्च गर्दै आएको छ ।

उपयुक्त स्थानमा जग्गा नभेटिँदा बनेन ४ वटा वडाका भवन

हेटौंडा उपमहानगरपालिकाले गत वर्ष सबै वडा कार्यालयको आफ्नै भवन निर्माण गर्ने अभियान सुरु गरेको भए पनि पूरा हुन भने सकेन । उक्त अभियान अनुसार हेटौंडाका केही वडाले कार्यालय भवन निर्माण गरिरहेका छन् ।

केही वडाले उपयुक्त स्थानमा जग्गा नपाउँदा कार्यालय भवन बनाउन सकेका छैनन् । हेटौंडाका २, ५, ९ र १६ नम्वर वडाले कार्यलय भवन निर्माणका लागि उपयुक्त स्थानमा जग्गा पाउन नसकेका हुन् । कार्यालय भवन निर्माणका लागि जनतालाई पायक पर्ने स्थानमा सरकारी जग्गा नपाउँदा ती वडाको भवन निर्माण अन्योलमा परेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप