बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेश गठबन्धन बैठक : तालमेलको खाका बनाउन जिल्ला नेतृत्वसँग बैठक बस्ने

मङ्गलबार, २९ चैत २०७८, १३ : ५०
मङ्गलबार, २९ चैत २०७८

सत्तारुढ गठबन्धनको मधेस प्रदेशस्तरीय बैठकले स्थानीय तहको निर्वाचनका सन्दर्भमा आपसमा तालमेल गर्न गठबन्धन घटकका जिल्ला नेतृत्वसँगसमेत छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय गरेको छ । मंगलबार महोत्तरीको बर्दिबासमा बसेको प्रदेश गठबन्धनको बैठकले यसबीचमा जिल्ला स्तरीय गठबन्धनबाट पालिका तहअनुसारको छलफल गरी खाका तयार पार्ने निर्णय गरेको छ । यसका लागि वैशाख २ गतेसम्मको समयसीमा निर्धारण गरिएको छ ।

मधेस प्रदेशभित्रका आठवटै जिल्लामा गठबन्धन दलको छलफल पश्चात गठबन्धनको प्रदेश नेतृत्वसँग जिल्लागत रुपमा बैठक राखेर तालमेलको खाका तयार पार्ने निर्णय समेत भएको गठबन्धन घटकका नेताले जानकारी दिएका छन् । प्रदेश गठबन्धन नेतृत्वसँग हुने त्यस्तो बैठकमा घठबन्धन घटकबाट जिल्ला सभापति तथा इन्चार्जसहित दुई जना मात्र सहभागी हुने जनाइएको छ ।

सोही अनुसार वैशाख ३ गते काँग्रेस मधेस प्रदेश कार्यालय जकपुरमा हुने बैठकमा धनुषा र महोत्तरी जिल्लाको सन्दर्भमा बिहान ८ देखि १२ बजेसम्म तथा सिरहा र सप्तरी जिल्लाको सन्दर्भमा दिउँसो २ बजेदेखि छलफल हुने जनाइएको छ ।

यस्तै वैशाख ४ गते जसपा मधेस प्रदेश कार्यालयमा बस्ने बैठकमा बिहान ९ देखि १२ बजेसम्म सर्लाही र रौतहट जिल्लाका बारेमा र दिउँसो २ बजेदेखि बस्ने बैठकमा बारा र पर्सा जिल्लाका बारेमा छलफल हुने जनाइएको छ ।

मंगलबार बसेको मधेस प्रदेशस्तरीय गठबन्धन बैठकले केन्द्रीय गठबन्धनका शीर्ष नेताहरुद्वारा जारी संयुक्त विज्ञप्तिलाई स्वागत गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा नेपाली काँग्रेसका प्रदेश समिति अध्यक्ष तथा सत्ता गठबन्धनका संयोजक कृष्णप्रसाद यादव, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकी, नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष रामचन्द्र यादव, जसपाका प्रदेश अध्यक्ष रामबाबु यादव, राष्ट्रिय जनमोर्चाका हिमलाल पुरी र नेकपा एकीकृत समाजवादीका मधेस प्रदेश इन्चार्ज दिनेशकुमार यादव, नेपाली काँग्रेसका मधेस प्रदेश उपसभापति चन्द्रशेखर यादव, काँग्रेसका मधेस प्रदेश कार्यसमितिका कोषाध्यक्ष प्रदीपकुमार यादव र नेपाली काँग्रेसकै प्रदेश मुख्य सचिव सन्तु यादव सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप