बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा काँग्रेसले ‘दम्भ’ देखाएको गठबन्धन दलको आरोप

काँग्रेस भन्छ – हैसियतभन्दा बढीको माग भयो
मङ्गलबार, २९ चैत २०७८, १५ : ०६
मङ्गलबार, २९ चैत २०७८

प्रदेश १ मा सत्तारुढ गठबन्धनभित्र चुनावी तालमेलको विषयलाई लिएर खटपट देखिएको छ । नेपाली काँग्रेसले ‘दम्भ’ देखाएको गठबन्धनका अन्य घटकको आरोप छ । काँग्रेसले विभिन्न पालिका प्रमुखमा दाबी गरिरहेको सन्दर्भमा अन्य घटकले यस्तो आरोप लगाएका हुन् ।

विगतमा काँग्रेसको पकड रहेका कतिपय पालिकामा गठबन्धन घटकका अन्य दल, खासगरी नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ । काँग्रेस भने आफ्नो वर्चश्व रहेका पालिका अरूलाई दिन नसकिने बताउँदै आएको छ ।

स्रोतका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीले दाबी गरिरहेको छ । तर काँग्रेसले सो पालिकामा गठबन्धन घटकका दलहरूमध्ये आफू सर्वाधिक शक्तिशाली रहेको भन्दै अरूलाई नेतृत्व दिन नमिल्ने तर्क गर्दै आएको छ ।

अर्कोतिर माओवादी केन्द्रले पनि धरान, इटहरी, दमक र विराटनगरमध्ये एउटामा प्रमुख पद माग गरेको छ । काँग्रेसले विराटनगरमा गठबन्धन नगर्ने निर्णय गरिसकेको छ भने आफूले उपनिर्वाचनमा जितेको धरान पनि अरूलाई छोड्न तयार छैन ।

नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आफ्नो हैसियतभन्दा बढी दाबी गरिरहेको काँग्रेसको आरोप छ । कमजोर संगठन र फुटबाट भर्खरै निर्माण भएको एकीकृत समाजवादीले त १७ वटा पालिका रहेको मोरङमा ४ वटा पालिका माग गरेको बताइएको छ ।

नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले विगतमा एमालेले जितेका पालिकामा गठबन्धनभित्र दाबी गरेको छ । यद्यपि, एमाले पार्टी विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले अघिल्लो निर्वाचनमा एमालेले हासिल गरेको सफलताको प्रतिफल गठबन्धनभित्रबाट खोज्नु उचित नहुने अन्य घटकको भनाइ छ ।

यस्तै माओवादी केन्द्रले ६ वटा पालिका माग गरेको छ । जसपाले पनि विराटनगरसहित ४ वटा पालिका माग गरेको स्रोतको दाबी छ । सुनसरी र झापामा पनि सोही अनुपातमा पालिकाको माग भइरहेको काँग्रेसका नेताहरू बताउँछन् ।

‘कमजोर अवस्था देखिएको ठाउँमा पनि गठबन्धनको नाममा पालिका प्रमुख माग गरेर हैरान बनाएका छन्,’ काँग्रेसका एक नेताले भने, ‘यस्तै पारा हो भने एक्लाएक्लै लड्दा भइगयो नि ।’ केन्द्रले जारी गरेको अपिल पनि अमूर्त खालको भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ‘यो अपिलमा गठबन्धन गर्नु भनेको हो कि नगर्नु भनेको हो, केही बुझ्न सकिएन,’ उनले भने ।

तथ्याङ्कमा काँग्रेस बलियो

२०७४ सालको निर्वाचनमा जितेका पालिकाको सङ्ख्या हेर्ने हो भने झापा, मोरङ र सुनसरीमा काँग्रेस एक्लैले २४ वटा पालिकामा जित हासिल गरेको छ । एमालेले १४, राप्रपाले ३, जसपाले २ र माओवादी केन्द्रले १ पालिकामा जित हासिल गरेको छ ।

नोटः फोरम लोकतान्त्रिकले जितेको मोरङको १ र सुनसरीको २ पालिका काँग्रेसमा थप गरिएको छ ।

तथ्याङ्क अनुसार काँग्रेसले सुनसरीको धरान उपमहानगरपालिका (उपनिर्वाचनबाट),  दुहबी नगरपालिका, रामधुनी नगरपालिका, इनरुवा नगरपालिका, कोशी गाउँपालिका, बर्जु गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका र हरिनगरा गाउँपालिकामा जितेको थियो ।

सुनसरीमै एमालेले इटहरी उपमहानगरपालिका, बराह नगरपालिकामा जितेको थियो भने तत्कालीन संघीय समाजवादी र हालको जनता समाजवादीले भोक्राहा गाउँपालिकामा जितेको थियो ।

झापामा काँग्रेसले गौरादह नगरपालिका, मेचीनगर नगरपालिका, झापा गाउँपालिका, बाह्रदशी गाउँपालिका र बुद्धशान्ति गाउँपालिकामा जितेको थियो ।

एमालेले भने झापामा अर्जुनधारा नगरपालिका, कनकाई नगरपालिका, दमक नगरपालिका, भद्रपुर नगरपालिका, विर्तामोड नगरपालिका, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा जित निकालेको थियो । राप्रपाले झापामा कचनकवल, गौरीगंज र हल्दीबारी गाउँपालिकामा जितेको थियो ।

मोरङमा भने काँग्रेसले विराटनगर महानगरपालिका, उर्लाबारी नगरपालिका, बेलबारी नगरपालिका, लेटाङ नगरपालिका, सुन्दरहरैचा नगरपालिका, रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, कटहरी गाउँपालिका, बुढीगंगा गाउँपालिका र ग्रामथान गाउँपालिकामा जितेको थियो ।

एमालेले भने बेलबारी नगरपालिका, पथरीशनिश्चरे नगरपालिका, मिक्लाजुङ गाउँपालिका, ग्रामथान गाउँपालिका र कानेपोखरी गाउँपालिका जितेको थियो । मोरङमा माओवादी केन्द्रले रंगेली नगरपालिका जितेको थियो भने जनता समाजवादीले जहदा गाउँपालिकामा विजयी हासिल गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप