आयोगको आचारसंहिता अनुसार रिपोर्टिङ गर्न आयुक्त तुलाधरको आग्रह
निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले निर्वाचन आयोगले अगाडि सारेको आचारसंहिता अनुसार पत्रकारले रिपोर्टिङ गर्नुपर्ने बताएकी छन् । स्थानीय तहको निर्वाचनमा पत्रकारको महत्वपुर्ण भूमिका महत्व रहेको भन्दै उनले निष्पक्ष तरिकाले रिपोर्टिङ गर्नुपर्ने बताएकी हुन् ।
मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा निर्वाचन आचारसंहिता र आम सञ्चार क्षेत्रमा मिडियाको भूमिका विषयमा गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले भनिन्,‘राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार जगतले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, भयरहित बनाउनका लागि महत्वपूर्ण भुमिका हुन्छ । त्यो भएकाले पत्रकारहरुले नै कसैलाई आछेप लाग्ने तरिकाले सामग्री प्रकाशित गर्नु राम्रो होइन । आयोगले अगाडि सारेका नीति, नियम, कार्यविधि र आचारसंहिताको आधारमा रिर्पोटिङ गर्नु आवश्यक छ ।’
उनले आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा कम खर्चिलो बनाउनका लागि निर्वाचन आचारसंहिता बनाइएको पनि बताइन् ।‘ कार्यान्वयनका सन्दर्भमा मिडिया क्षेत्रबाट पूर्ण सहयोग प्राप्त गर्नेमा आयोग विश्वस्त छ,’उनले भनिन् ।
आफ्ना सूचना, विचारहरूलाई सन्तुलित गरेर प्रकाशन र प्रसारण गर्न अनुरोध गर्दै तुलाधरले सामाजिक सञ्जालको नीतिभित्र रहेर अगाडि बढ्न पनि आग्रह गरिन् । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पत्रकारले दिने सत्य सुचनाले प्रशासनलाई गलत गर्ने व्यक्तिहरुलाई पहिचान गर्न सजिलो हुने बताए । पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले निर्वाचनमा स्वतन्त्र र निष्पक्षरुपमा पत्रकारहरुले रिपोर्टिङ गर्नुपर्ने बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण