शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

जसपालाई गठबन्धनकै आशा, लोसपाभन्दा बढी सीट जित्ने दाबी

मङ्गलबार, २९ चैत २०७८, १७ : ४९
मङ्गलबार, २९ चैत २०७८

तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भएर जनता समाजवादी पार्टी(जसपा) बनेको दुई वर्ष बित्न नपाउँदै गत साउन ११ गते सो विभाजित भयो । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीचको विवाद निर्वाचन आयोगसम्म पुगेपछि पार्टीको आधिकारिकता उपेन्द्रले पाएका थिए। त्यसपछि दल विभाजनसम्बन्धी अध्यादेशको सहारामा महन्थले नयाँ दल दर्ता गरेर लोकतान्त्रिक समाजवादी पार्टी बनाए । जसको अध्यक्ष हाल ठाकुर नै रहेका छन् । 

यसैबीच स्थानीय तह निर्वाचन वैशाख ३० गते घोषणा भएपछि मधेसलाई आधार बनाइ राजनीति गरेका यी दलहरु छुट्टाछुट्टै मोर्चाबाट चुनाव लड्ने भएका छन्। जसपा काँग्र्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासँगको चुनावी तालमेलमा छ।  पाँच दलीय गठबन्धनमा जसपा मिलेर चुनाव लड्ने तयारीमा छ। लोसपाले भने सकेसम्म नेकपा एमालेसँग चुनावी तालमेल गर्न खोजिरहेको छ। यद्यपि तालमेलबारे ठोस निर्णय भइसकेको छैन ।

यसअघि स्थानीय तह निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति छुट्टाछुट्टै दलमा रहेर निर्वाचन लडेका थिए। त्यतिबेला समाजवादी फोरमले २१ स्थानीय तह प्रमुख र नयाँ शक्तिले रसुवाको पार्वतीकुण्ड गाउँपालिकाका मात्रै जितेको थियो। रसुवाका जनप्रतिनिधि काँग्रेस प्रवेश गरिसकेका छन्। उपेन्द्र र बाबुरामको दुई दल एकतापछि प्रमुख जितेको स्थानीय तह संख्या २२ पुगेको थियो ।  तर, पछिल्लो समय एकता प्रक्रियामा आएको राजपाको समेत जोड्दा जसपाले प्रमुख जितेका स्थानीय तह संख्या ३६ पुगेको  नेताहरुले दाबी गरेका छन्। ‘तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति एकता गर्दा संख्या थोरै थियो। त्यसपछि राजपासँग एकता गरेपछि जसपा बन्यो। जसपाबाट महन्थ ठाकुरहरु चोइटिएर जानुभयो। धेरै स्थानीयतह प्रमुखले जसपा रोज्नुभयो’ जसपा नेता मोहम्मद इस्तियाक राईले भने, ‘जसपाका दुबैपक्षका स्थानीतह प्रमुख सहित अन्य पार्टीबाट आएका पनि जोड्दा ३६ स्थानीय प्रमुख छन्।’

 जसपा आधिकारिकता समेत आफूहरुले पाएकाले स्थानीय तहमा आफ्नो मत बढ्ने राइले दाबी गरे । ‘पार्टी आधिकारिकता हामीले पायौँ। पार्टीको संगठन परिचालन र पुनर्गठनलाई व्यवस्थित बनाएका छौ’ उनले भने, ‘यसो हुँदा अघिल्लो स्थानीय तहको भन्दा पक्कैपनि धेरै स्थानीय तह जित्छौ। मलाई लाग्छ, ७५ स्थानीय तह एकल रुपमा जित्छौँ । गठबन्धन भएमा त्यो भन्दा बढी जित्ने सम्भावना छ।’ 
जसपा राष्ट्रिय पार्टी भइसकेकाले लोसपा भन्दा धेरै स्थानीय तह जित्ने राईको दाबी छ। तर, त्यसढंगले जसपाले पार्टीलाई मुभ गराउन भने सकेको छैन।

​जसपाले पर्साको वीरगञ्ज महानगरपालिकामा विजय सरावगीलाई उम्मेदवार बनाएर जितेको थियो। उपमेयरमा भने काँग्रेसबाट शान्ति कार्कीले जितेकी थिइन् । सरावगी एमाले प्रवेश गरेपछि जसपालाई चुनाव जित्न कठिन हुने विश्लेषण हुन थालेको छ। यदि पाँच दलीय गठबन्धन भएमा भने जसपाले मेयरमा जित्न सक्ने सम्भावना छ । अरु ११ उपमहानगरपालिकामा जसपाको जनाधार कमजोर छ। त्यसैले गठबन्धन भएपनि उसलाई चुनाव जित्न कठिन हुने नेताहरुले बताएका छन् । अरु नगरपालिका र गाउँपालिकाबाट जसपाले ७५ भन्दा बढी स्थानीय तह जित्ने दाबी छ। यस हिसावले लोसपा भन्दा बढी सिट आफ्नो पार्टीले जित्ने जसपाका नेताहरुको दाबी छ । 

सत्ता गठबन्धनले जिल्लामा हुने तालमेलमा जसपालाई छुटाउँदै 
सत्ता गठबन्धनले जिल्लामा हुने चुनावी तालमेलमा जसपालाई छुटाउने गरेका छन्। सत्ता गठबन्धनको १५ भन्दाबढी जिल्लामा स्वतःस्फूर्त रुपमा गठबन्धन भएपनि अधिकाश जिल्लामा जसपा छुटेको छ। काँग्रेस,माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले रोल्पा, नुवाकोट, अछाम लगायत जिल्लाहरुमा जसपालाई छुटाएका छन्। 

जिल्लामा हुने सत्ता गठबन्धनमा जसपालाई नसमेटिएको भन्दै जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले निरन्तर आलोचना गर्दै आएका छन्। जसपा जनाधार मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका जिल्लामा मात्रै बढी प्रभाव भएकाले अन्य जिल्लामा चार दलले छुटाएको बताइएको छ । आफूहरुलाई हेलोहोचो गरेर जिल्लामा हुने गठबन्धनमा नसमेटिएको भन्दै जसपा नेताहरु आक्रोशित भएका छन्। 
 जसपाको कमजोर जनाधारलाई लक्षित गर्दै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका जिल्लातहका नेताहरुले मिनिमाइज गरेको जसपा नेता नवराज सुवेदीले आक्रोश पोखे। 

केन्द्रमा हुने छलफलमा जसपा निरन्तर सहभागी भएपनि जिल्लाहरु निषेध गरेकाले प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई गुणासो राखिने बताए ।  ‘हरेक जिल्लामा भईरहेको सत्ता गठबन्धनमा प्राय जसपालाई छुटाएको छ। पार्टीको सम्बन्धीत प्रदेश कमिटी बोलिरहेको छ’ रातोपाटीसंग कुरा गर्दै सुवेदीले भने, ‘जसपाको कतै प्रभाव कम होला कतै धेरै होला । प्राय सबै जिल्लामा पार्टी कमिटी छ। कमिटी भएको जिल्लामा समेत जसपालाई निषेध गरियो। अरु पार्टीहरुले नजरअन्दाज गर्नु राम्रो होइन ।’  गठबन्धनको संस्कार ठूला दलले पालना नगर्नु दुःखद भएको जसपा नेताहरुले बताएका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप