मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा पहिचानवादी दल एकै ठाउँमा

सत्ता गठबन्धनमा ठुला नेता हाबी भएको आरोप
शनिबार, ०३ वैशाख २०७९, २१ : ००
शनिबार, ०३ वैशाख २०७९

धनगढी । कैलालीमा पहिचानवादी दलबीच आगामी स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने भएका छन् । थरुहट/थरुवान राष्ट्रिय मोर्चाका नेता लक्ष्मण थारुलाई साक्षी राख्दै शनिबार पत्रकार सम्मेलन गरेर पहिचानका आन्दोलनरत सङ्घर्ष समितिबीच चुनावी तालमेल गर्ने घोषणा गरिएको हो ।

सत्ता गठबन्धनसँग रहेको जनता समाजवादी पार्टीले कैलालीमा गठबन्धन तोड्दै अन्य दलहरूसँग चुनावी तालमेल अघि बढाएको हो । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र सङ्घीय लोकतान्त्रिक पार्टीबीच गठबन्धन गर्ने निर्णय भएको जसपाका कैलाली अध्यक्ष ग्याप्रसाद कुश्मीले जानकारी दिए ।

‘हामी चार दलमात्र होइन । रेशम चौधरी पत्नीको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टी लगायत अन्य साना तथा ठुला दलहरूसँग पनि चुनावी तालमेल गर्ने छौँ,’ उनले भने –‘यसबारे हामीले छलफल तथा बैठकहरू जारी राखेका छौँ ।’ 

लक्ष्मण थारुले कैलालीका १२ वटा स्थानीय तहमा चारवटा दलको उम्मेदवार रहने बताए ।  उनले भने –‘थरुहट/थारुवान राष्ट्रिय मोर्चाको पूर्ण समर्थन, पूर्ण ऐक्यबद्धता र यो गठबन्धनलाई चुनावमा पठाउने, जिताउनेमा जोड दिनेछौँ ।’ उनले आन्दोलनमा उठाइरहेका माग मुद्दाहरूलाई सम्बोधन गराउन मोर्चाबन्दी गरेर अघि बढेको बताए । ‘जसपा सत्ता गठबन्धनमा थियो । आजदेखि सो पार्टीले त्यो गठबन्धन तोडेर आन्दोलनरत दलसँग गठबन्धन गरेको छ,’ उनले भने ।

जनता समाजवादी पार्टीका अध्यक्ष कुश्मीले धनगढी उपमहानगरपालिकाबाहेक जिल्लाका अन्य स्थानीय तहमा अरू दलसँग गठबन्धन गर्न केन्द्रबाट कुनै रोकटोक नरहेको बताए । ‘धनगढी उपमहानगरपालिकाको उम्मेदवारको टुङ्गो र चुनावी तालमेलबारे केन्द्रले गर्छ,’ उनले भने, ‘अन्य स्थानीय तहमा जिल्लालाई अरू दलसँग गठबन्धन तोड्ने वा गर्नेबारे कुनै रोक टोक छैन ।’ 

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य होरीलाल चौधरीले सत्ता गठबन्धनमा ठुला नेताहरू हाबी भएको बताए । ‘हाम्रा मागको सुनुवाइ गर्न कोही इच्छुक देखिएनन्’ उनले भने –‘हामीले केन्द्रीय गठबन्धन किन मान्ने ?’ उनले विगतदेखि नै संविधान संशोधन गर्न दबाब दिँदा पनि कुनै सुनुवाइ नभएको गुनासो व्यक्त गरे ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी उपाध्यक्ष शर्मिला बागचनले पहिचान र अधिकारका लागि सङ्घर्षरत दलहरू एक ठाउँमा उभिनुको विकल्प नभएपछि सो गठबन्धन गरिएको बताइन ।

नेपाल लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष भानुराम थारुले गठबन्धनको नीति निर्देशन इमानदारिताका साथ सबै दलका नेता कार्यकर्ताहरूलाई पालना गर्न आग्रह गरे । 

चार दलबीच चुनावी तालमेल गर्ने निर्णय भए पनि कुन स्थानीय तह र वडामा कुन दलका व्यक्तिलाई उम्मेदवार बनाउने भन्नेबारे टुङ्गो लागेको छैन । नेता लक्ष्मणले भने –‘हामी छलफलमै छौँ । एक हप्ताभित्र उम्मेदवारहरूको पनि टुङ्गो लाग्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शेरबहादुर ऐर
शेरबहादुर ऐर
लेखकबाट थप