आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनमा यस्तो छ महानगर र उपमहानरमा मेयर/उपमेयरको भागबण्डा

मङ्गलबार, ०६ वैशाख २०७९, २२ : ०४
मङ्गलबार, ०६ वैशाख २०७९

आसन्न स्थानीय तह निर्वाचनमा चुनावी तालमेलका लागि सत्ता गठबन्धनभित्र महानगर र उपमहानगरपालिमा भागबण्डा करिब टुंगिएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनमा रहेका दलको शीर्ष नेताको बैठकमा महानगर र उपमहानगरपालिकाको भागबण्डा भएको हो । 

काँग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर गरी तीन महानगरको प्रमुख पाएको छ । यस्तै माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादी पार्टीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका प्रमुख पाएका छन् । माओवादी, एकीकृत समाजवादी र जसपाले प्रमुख पाएको महानगरमा काँग्रेसले उपमेयर पाएको छ भने काँग्रेसले प्रमुख पाएको काठमाडौँमा एकीकृत समाजवादीले, विराटनगरमा जसपाले र ललितपुरमा ललितपुर माओवादीले उपमेयर पाएको छ ।

नेकपा एकीकृत समाजवादीका नेता विजय पौडेलका अनुसार ११ वटा उपमहानगरपालिका मध्ये काँग्रेसले ७ वटामा प्रमुख पाएको छ । माओवादी केन्द्रले २, एकीकृत समाजवादी र जसपाले एक–एक उपमहानगरपालिका प्रमुख पाएको उनको भनाइ छ । काँग्रेसलाई बुटवल, तुल्सीपुर, इटहरी, धरान, कलैया, नेपालगञ्ज र धनगढीको उपमहानगरपालिकाको मेयर दिने सहमति भएको उनले बताए । काँग्रेसले सुरुमा सबै उपमहानगरपालिका प्रमुख आफूले राखेर माओवादी, एकीकृत समाजवादी र जसपालाई उपमप्रमुख मात्र दिने अडान राखेको थियो ।

अन्तिममा काँग्रेसले ११ मध्ये ४ वटा उपमहानगरपालिका माओवादी, एकीकृत समाजवादी र जसपालाई छोडेको छ । घोराही र जितपुर सिमरा उपमहानगरपालिकाको मेयर माओवादीले पाउने गरी सहमतिको भएको पौडेलले बताए । उनका अनुसार एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिका मात्र भएको छ । यस्तै जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएको छ । यसअघि एकीकृत समाजवादीले बुटवल र इटहरी उपमहानगरपालिका दाबी गरेको थियो भने जसपाको दाबी नेपालगञ्ज र कलैया उपमहानगरपालिका प्रमुखमा थियो । 

यस्तै काँग्रेसले जनकपुर, हेटौडा, जितपुर सिमरा र घोराही उपमहानगरपालिका उपमेयरमा लिएको छ । धरान उपमहानगरपालिका उपमेयर माओवादी केन्द्रको भागमा परेको छ भने एकीकृत समाजवादीले इटहरी, बुटवल र तुल्सीपुरमा उपमेयर लिएको छ ।

जसपाले कलैया उपमहानगरपालिका उपप्रमुख पाएको छ । नेपालगञ्ज र धनगढीको उपमेयरको टुङ्गो लाग्न बाँकी रहेको पौडेलले बताए । नेपालगञ्जमा जसपा र धनगढीमा माओवादीले उपप्रमुखमा दाबी राखेको अवस्था छ । नेपालगञ्जको उपमेयर दिन केही लचिलो देखिएको काँग्रेस धनगढीको उपमेयर आफूसँगै राख्ने अडानमा छ । यस विषयमा छलफल गर्न राति गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा बैठक चलिरहेको छ । 'बाँकी विषयमा पनि सहमति जुटाउन बैठक सुरु भएको छ । आजै सबै भागबण्डा टुङ्ग्याउँछौँ,' पौडेलले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप