बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनमा विरोधाभाष : वडामा खोइरो खनेकै पार्टीलाई मेयर–उपमेयरमा भोट माग्नुपर्ने बाध्यता

बुधबार, १४ वैशाख २०७९, २२ : ०४
बुधबार, १४ वैशाख २०७९

नेकपा एमालेलाई हराउने एकसुत्रीय एजेण्डा लिएर गठबन्धन गर्दै चुनावमा जाने तयारी गरेका सत्तारुढ ५ दलमा तल्लो स्तरमा भने भद्रगोल देखिएको छ । गठबन्धनको किचलोका कारण मनोनयन दर्ता पनि उत्साहजनक हुन पाएन ।

कतिपय पालिकामा गठबन्धन गर्नुपर्छ भन्ने मनसाय राखेका काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा जसपाका कार्यकर्ताहरू कुन वडामा कसले उम्मेदवार बनाउने वा कुन पालिकाको प्रमुख वा अध्यक्ष तथा उपप्रमुख वा उपाध्यक्ष लिने भन्ने समयमै निर्क्यौल नहुँदा द्विविधामा थिए ।

मनोनयन दर्ताका दिन एमालेले वडावडाबाट जुलुस लिएर उम्मेदवारी दर्ता गइरहँदा गठबन्धनका घटकहरु धेरैजसो स्थानमा सामान्य तयारीका साथ निर्वाचन कार्यालय पुगेका थिए ।

अझै गठबन्धनको तयारी

केन्द्रीयस्तरबाट चुनावी तालमेलको निर्णय गरेको गठबन्धनले कतिपय पालिकामा छुट्टाछुट्टै उम्मेदवारी दिएको छ । झापा, मोरङ, सुनसरीका कमाण्ड इन्चार्ज बनेका माओवादीका केन्द्रीय सदस्य सावित्री कुमार काफ्लेले मनोनयन फिर्ताको समयसम्म गठबन्धन मिलाउन प्रयास गरिरहेको बताएका छन् । ‘हामी छलफल गरिरहेका छौं, सकेसम्म नमिलेका ठाउँमा माथिबाट र तलबाट पनि मिलाउने प्रयास गर्छौं,’ उनले भने ।

नेपाली काँग्रेसले पनि सोही अनुसार अझै तालमेलको प्रयास गरिरहेको जनाएको छ । ‘हामीले अझै पनि सहमतिको प्रयास गरिरहेका छौं, हामीलाई उम्मेदवारी फिर्ता लिने समयसम्ममा धेरै विषय मिलाउँछौँजस्तो लागेको छ,’ काँग्रेस मोरङका सचिव मोदराज घिमिरेले भने ।

वडासम्मै गठबन्धन नहुँदाको समस्या– भोट कसलाई माग्ने ?

विराटनगर महानगरको मेयर र उपमेयरमा सत्तारुढ गठबन्धनबीच तालमेलका आधारमा उम्मेदवारी दर्ता भएको छ । जसअनुसार काँग्रेसले मेयरमा र जसपा नेपालले उपमेयरमा उम्मेदवारी दिएको छ ।

तर, वडा तहमा तालमेल नहुँदा ती दलकै वडा अध्यक्षका उम्मेदवारले आपसमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था देखिएको छ । जसले गर्दा वडा तहमा अध्यक्ष पदका उम्मेदवारले एक अर्कासँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ भने मेयर र उपमेयरका लागि भने एक अर्कालाई मत माग्नुपर्ने विरोधाभासपूर्ण परिस्थिति बनेको छ ।

‘मैले काँग्रेसकै साथीहरुको भोट लिएर जित्नुपर्नेछ, अहिले आलोचना गर्दिनँ तर, उनीहरुले विगतमा राम्रो काम गरेनन्,’ काँग्रेस बाहेकको गठबन्धन दलका एक जना वडाध्यक्षका उम्मेदवारले भने, ‘एमाले र काँग्रेसको नराम्रा कामको भण्डाफोर नगरी चुनाव जितिँदैन ।’

माओवादी केन्द्रले त विराटनगर महानगरपालिकामा वडाको भागबण्डा नटुङ्गिए प्रमुख र उपप्रमुखलाई भोट माग्न नसकिने बताइसकेको छ । माओवादी केन्द्र विराटनगरका अध्यक्ष नविन पौडेलले वडामा पनि नदिने र प्रमुख–उपप्रमुखमा पनि आफ्ना उम्मेदवार नहुँदा काँग्रेस–जसपालाई भोट मागिदिनुपर्छ भन्ने बाध्य नरहेको बताए ।

‘हामीले वडामा भागबण्डा गरौं भनेका छौं,’ पौडेलले भने, ‘अब त्यसो भएन भने हामी प्रमुख र उपप्रमुखका उम्मेदवारलाई भोट माग्न सक्दैनौं ।’

माओवादीका वडा अध्यक्षका उम्मेदवारहरू पनि पौडेलको भनाइमा सहमत छन् । ‘हामी केन्द्रको निर्णयलाई मान्छौँ, गठबन्धन गर्ने हो तर, वडालाई पनि भागबण्डा मिलाउनु त प¥यो नि ?’, माओवादी केन्द्र वडा नम्बर ४ का वडाध्यक्षका उम्मेदवार जिसस न्यौपानेले भने, ‘वडामा हामीले भोट माग्दा टाउकोबारे खुलेर कुरा गर्ने वातावरण बनाइदिए हुने थियो ।’

नेकपा एकीकृत समाजवादी विराटनगरका अध्यक्ष पारुल क्षेत्रीले पनि आफूहरु केन्द्रको निर्णयलाई मानेर जाने बताए । ‘हामी केन्द्रको निर्णय मानेर जान्छौं, तर वडामा पनि भागबण्डा मिलाउनु प¥यो,’ उनले भने, ‘वडा वडामा भागबण्डा मिलाएर नजाँदा पछि समस्या पर्न सक्छ ।’

यता, नेपाली काँग्रेस विराटनगरका सभापति दिपक चापागाईं भने आफूहरु गठबन्धन गर्ने पक्षमै नभएको बताउँछन् । ‘हामीले त गठबन्धन नै नगर्ने भनेका थियौं, केन्द्रले गराइदियो, अब वडामा भागबण्डा मिलाउन सकिन्छजस्तो लाग्दैन,’ उनले भने, ‘हामी वडामा स्वस्थ ढंगले प्रतिस्पर्धा गर्छौं ।’

विराटनगरको १९ वटै वडामा गठबन्धन दलहरुले अध्यक्ष तथा सदस्यहरुसहित छुट्टाछुट्टै उम्मेदवार दर्ता गराएका छन् ।

प्रमुख र उपप्रमुखमा बागीकै समस्या

गठबन्धनप्रति असन्तुष्टि जनाउँदै गठबन्धन घटकबाटै बागी उम्मेदवारी दिनेहरु उल्लेख्य छन् । जनता समाजवादी पार्टीका नेता उमेश यादवले त पार्टी परित्याग गर्दै प्रमुखमा उम्मेदवारी दर्ता नै गराएका छन् । उनको उम्मेदवारीले गठबन्धनलाई संकट पारिरहेको बेला उपप्रमुखमा पनि दुई जनाले बागी उम्मेदवार दिएका छन्  । जसमा माओवादी केन्द्र विराटनगरकी सचिव नमिता न्यौपाने र जनता समाजवादी पार्टी निकट महिला संगठन समाजवादी महिला संघकी अध्यक्ष सदिना खातुन छन् ।

न्यौपाने विराटनगरकी महिलाहरुबीच परिचित नेतृ हुन् । यसअघि २०७४ सालको निर्वाचनमा उपमेयर पदमा उम्मेदवारी दिएकी न्यौपानेले १२ हजार ४ सयभन्दा बढी मत प्राप्त गरेकी थिइन् । जसपामा उमेशलाई पाखा लगाएर पार्टी अध्यक्ष उपेन्द्र्र यादवका छोरा अमरेन्द्र यादवलाई उपमेयर पदको उम्मेदवार बनाएको विषय पनि अर्को विवादको रुपमा उब्जिएको छ । सोही विवादका कारण खातुनले उपमेयर पदमा आफ्नै महिला संघका सचिव र कोषाध्यक्षलाई प्रस्तावक र समर्थक बनाउँदै उम्मेदवार दर्ता गराएकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप