सन् २०३० सम्मको लागि स्वास्थ्य रणनीति ल्याउँदै स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयले सन् २०३० सम्मका लागि स्वास्थ्य रणनीतिबारे छलफल थालेको छ । प्रारम्भिक मस्यौदा तयार पारेको मन्त्रालयले त्यसबारे छलफल थालेको हो । मन्त्रालयले रणनीतिका लागि ५ वटा रणनीतिक उद्देश्य तयार पारेको छ ।
जसमा स्वास्थ्य संघीय संरचना अनुरूप सबै स्वास्थ्य प्रणालीलाई उत्थानशील, उत्तरदायी र जबाफदेही बनाउने, स्वास्थ्य सेवाको उपभोग गर्दा नागरिकमा पर्ने वित्तीय जोखिम कम गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा समतामूलक र सहज पहुँच सुनिश्चित गर्ने र जनसंख्या, बसाइ सराइ र बढ्दो सहरीकरणको व्यवस्थापन गर्ने रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले ५ वटा रणनीतिलाई आधार मानेर सम्बन्धित पक्षसँग छलफल भइरहेको बताए । ‘पाँच वटा रणनीतिक उद्देश्य रहेका छन् । यसमा थपघट गर्न सकिन्छ । अहिले प्रारम्भिक चरणमै छ,’ उनले भने ।
सरकारले सन् २०३० सम्ममा विश्वव्यापी मातृ मृत्युदर हरेक एक लाख जीवित जन्ममा ७० भन्दा तल झार्ने लक्ष्य प्रारम्भिक मस्यौदामा उल्लेख छ । त्यस्तै सरकारी अस्पताल नभएको ठाउँमा निजी अस्पताल खोल्न दिने गरी योजना मस्यौदा बनेको छ । सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल सञ्चालन गरेको खण्डमा कर छुट दिइने उनको भनाइ छ ।
अबको रणनीति विगतको भन्दा फरक खालको हुनुपर्नेमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । ‘विगतमा अलि फरक थियो । अहिले प्राथमिकता र आवश्यकता पनि परिवर्तन भइसकेका छन् । त्यसैले हामीले अबको रणनीति फरक बनाउनुपर्छ,’ डा. पौडेलले भने ।
मन्त्रालयले स्वास्थ्य रणनीतिबारे सुझाव सल्लाहका लागि सार्वजनिक रूपमा आह्वान समेत गरेको छ । स्वास्थ्य मन्त्रालयको वेबसाइटमा गएर आफ्नो सुझाव लेख्न सकिने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिइन् । सरोकारवाला सबै निकाय तथा आम नागरिकबाट आएका सुझाव र सल्लाहका आधारमा स्वास्थ्य रणनीतिलाई अन्तिम रूप दिइने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीमा नयाँ सरकार गठनविरुद्धको रिट सर्वोच्चमा दर्ता
-
कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ ५ बजे, को–को बन्दैछन् मन्त्री ?
-
हैदराबादले लखनउलाई हराउँदा कुन-कुन रेकर्ड तोडियो ?
-
अर्थतन्त्र चलायमान बनाउने गरी बजेट ल्याउन निजी क्षेत्रको सुझाव
-
नौ महिनामा १२ करोडको कुरकुरे र कुरमुरे निर्यात
-
बाल मन्दिर जग्गा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी