बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

विराटनगर महानगर : नयाँ मतदाताको एउटै एजेण्डा

‘रोजगारी सिर्जना होस्, व्यवसाय निर्धक्क गर्न पाइयोस्’
मङ्गलबार, २० वैशाख २०७९, ११ : ४८
मङ्गलबार, २० वैशाख २०७९

विराटनगर महानगरपालिका–१० का गोकुल कार्की प्रिन्टिङ व्यवसायमा रमाइरहेका छन् । उनी लामो समयदेखि यो पेसामा लागेका हुन् । यसअघिकै निर्वाचनमा उनको नाम मतदाता सूचीमा थियो तर, उनले मतदान गरेनन् । कारण, उनलाई भोट हाल्ने इच्छा नै थिएन ।

यस पटक भने मज्जाले भोट हाल्ने उनको रहर छ । ‘यो भन्दा अगाडि भोट नै दिइनँ । दिन मन नलागेर नदिएको हुँ । यस पटक मज्जाले भोट दिन्छु,’ कार्की भन्छन्, ‘मलाई सरल रूपले काम गर्ने वातावरण मिलोस् । मैले तिरेको करको सही सदुपयोग होस् ।’

उनलाई पीएचडी गर्ने इच्छा छ । विराटनगरमै बसेर त्यो अवसर नपाउँदा उनी असन्तुष्टि पोख्छन् । ‘हामीले अध्ययन गर्न चाहेको कुरा यहीँबाट पूरा होस् । पीएचडी गर्न विराटनगरबाटै पाइयोस् । कोशी अस्पतालाई राम्रो र सुविधासम्पन्न बनाइयोस्,’ उनी आफ्नो एजेण्डा सुनाउँछन् ।

विराटनगरकै मुनु आलम पहिलो पटक यही स्थानीय निर्वाचनमा मतदान गर्दैछन् । ‘पहिलो पटक भोट हाल्ने तयारीमा छु, धेरै एक्साइटेड छु,’ उनी भन्छन्, ‘हाम्रो भोट महत्वपूर्ण छ । एउटाले गर्दा नै हारजित हुन्छ जसको कारण हाम्रो भविष्य बन्न पनि सक्छ र नबन्न पनि सक्छ । हाम्रोलाई भन्दा राम्रोलाई भोट दिन्छु ।’

कुराकानीको क्रममा उनले कोरोना कालमा धेरै दुःख पाएको सम्झे । उनले भने, ‘कोरोना कालमा धेरै नै नराम्रो अवस्था भयो । अझै पनि त्यस्तो अवस्था आउँदा राम्रो व्यवस्थापन होस् । औषधि उपचारको व्यवस्था राम्रोसँग गर्न पाइयोस् । १० हजारको औषधिलाई हामीले ४० हजार तिरेर पनि त्यसबेला लगाउन पाइएन । यस्ता कुरामा अब जित्नेले ध्यान दिनुपर्छ ।’

विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत सीमा अर्यालको प्रमुख एजेण्डा रोजगारी हो । रोजगार भए उत्पादन बढ्ने र मानिसको आम्दानी बढ्ने बताउँदै उनी देश समृद्ध पनि त्यसरी नै बन्ने बताउँछिन् । सीमा पनि पहिलो पटक मत हाल्ने तयारीमा छिन् ।

मोरङ कटहरी–४, की लिलम कुमारी राम पनि नयाँ मतदाता हुन् । उनी पनि भोट हाल्न इन्छुक छिन् । ‘भोट हाल्न इच्छुक छु । जसले विकास गर्छ त्यसलाई भोट हाल्छु,’ उनी आफ्नो एजेण्डा सुनाउँदै भन्छिन्, ‘बेरोजगारलाई रोजगार नै अहिलेको प्रमुख आवश्यकता हो । हाम्रा दाजुभाइ कति जना रोजगारीको लागि विदेश गएका छन् । त्यहाँ विकास भएको छ तर हाम्रोमा विकास भएको छैन ।’

कटहरीकी स्मृति तिम्सिनाको एजेण्डा भने अर्कै छ । उनी उम्मेदवारको आचरण र व्यवहार हेरेर भोट हाल्ने बताउँछिन् । विकासको नाममा सडकको कुरामात्रै लिएर आउनेलाई भोट नहाल्ने बताउने उनी स्वास्थ्य र शिक्षाको विषय उठाउनेलाई भोट दिने बताउँछिन् । ‘म मान्छेको एजेण्डा, विचार हेरेर भोट हाल्छु । स्वास्थ्य, शिक्षाको विषयलाई कसरी उठाएको छ त्यो विषयलाई हेरेर भोट हाल्छु,’ उनी भन्छिन्, ‘उम्मेदवारको आचरण र व्यवहार पनि हेरेर भोट हाल्छु ।’

मोरङ सुन्दरहरैंंचा–११ की उषा लिम्बू भने भ्रष्टाचारविरुद्ध उभिनेलाई भोट दिने बताउँछिन् । विराटनगर–१३ कि प्रतिमा साह मान्छे र पार्टी दुवै हेरेर भोट हाल्ने बताउँछिन् ।

जहदा–३ का सतिषकुमार राजवंशी पनि पहिलो मतदाता हुन् । उनी आफ्नो मत महत्वपूर्ण भएको बताउँदै रोजगारी सिर्जना नै पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिन्छन् । ‘पहिलो पटक मत दिन पाउने कुराले खुसी लागिरहेको छ । मैले आफ्नो मताधिकार प्रयोग गर्दैछु । सबैभन्दा पहिले जहदामा रोजगारीको समस्या छ । एक त पढेलेखेका मानिस छैनन् । पढेलेखेका मानिसले पनि राम्रो पारिश्रमिक पाएका छैनन्,’ उनी भन्छन्, ‘यो विषयमा चाहिँ जनप्रतिनिधिले ध्यान दिउन् । कामको लागि विराटनगर धाउनु नपरोस् ।’

महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत सुदिक्षा थापामगर १९ वर्षकी भइन् । उनलाई पनि पहिलो पटक भोट हाल्न पाउने कुराले खुसी लागिरहेको छ । ‘एकदमै धेरै खुसी छु । के हुन्छ, कस्तो हुन्छ भन्ने लागिरहेको छ,’ सुदिक्षा भन्छिन्, ‘जो एकदमै राम्रो गर्न सक्छ, त्यसले नै जितोस् । पार्टीगत हिसावले भन्दा पनि स्वतन्त्र उठेका पनि राम्रा छन् भने उनीहरुले जित्नुपर्छ भन्ने मलाई लागेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप