आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यपुर थिमिको मेयरमा ज्वाइँ र जेठानमध्ये कसले मार्ला बाजी ?

शुक्रबार, २३ वैशाख २०७९, ०६ : २२
शुक्रबार, २३ वैशाख २०७९

स्थानीय तहको निर्वाचन आउन ७ दिन बाँकी छ । राजनीतिक दलहरु चुनावी अभियानमा सक्रिय छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा भने चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

यो नगरपालिकाको मेयरमा नेकपा एमालेबाट मदनसुन्दर श्रेष्ठ र नेपाली काँग्रेसबाट सुरेन्द्र श्रेष्ठ चुनावी दौडमा छन् । मेयरका प्रतिस्पर्धी यी दुईबीच पारिवारिक नाता पनि छ । काँग्रेसबाट मेयरका उम्मेदवार बनेका सुरेन्द्र एमालेबाट मेयरका उम्मेदवार बनेका मदनसुन्दरका जेठान हुन् ।

चुनावी अंकगणित यस्तो छ

यो पटक मध्यपु्रको चुनावी नजिता रोचक हुने स्थानीयवासीको अनुमान छ  । विगतमा लोकप्रिय मत पाएर जितेका मदनसुन्दर र काँग्रेसका सुरेन्द्रबीच प्रतिस्पर्धा हुने देखिन्छ । यो पालिकामा काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । गठबन्धनबाट उपमेयरमा माओवादी केन्द्रले उम्मेदवारी दिएको छ ।

विगतमा नेमकिपा र एमालेबीच तालमेल भए पनि यस पटक यी दुवै दल एक्लाएक्लै मैदानमा छन् । अर्कोतिर एमाले विभाजन भएकाले विगतको तुलनामा उसको मत केही कम हुने आकलन गरिएको छ ।

उता, वडा तहमा तालमेल मिलाउन नसकेकाले गठबन्धनलाई पनि त्यति सहज भने देखिँदैन । मध्यपुर थिमिमा काँग्रेस गणितीय हिसाबले बलियो देखिए पनि भावनात्मक हिसाबमा कमजोर रहेको स्थानीयहरु बताउँछन् । यहाँ काँग्रेसभित्रको गुटबन्दीले पनि मत परिणाममा प्रभाव पर्न सक्ने देखिन्छ ।

काँग्रेसको तर्फबाट मध्यपुर थिमि नगरपालिकाका मेयर पदका उम्मेदवार सुरेन्द्र श्रेष्ठले विगतका जनप्रतिनिधिले राम्रो काम गर्न नसकेका कारण यस पटक आफूलाई जनताले विकल्पका रुपमा रोज्ने दाबी गरेका छन् ।

श्रेष्ठले भने, ‘मध्यपुर थिमिमा काँग्रेस १ देखि ९ नम्बर वडासम्म बलियो छ ।’ त्यसमाथि पनि सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल भएकाले आफ्नो उम्मेदवारी थप सशक्त भएको उनको दाबी छ ।

नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका मदनसुन्दर श्रेष्ठ भने पाँच वर्षसम्म नगरपालिकालाई नेतृत्व गरेका हिसाबले पनि जनताले फेरि आफूलाई नै विश्वास गर्ने दाबी गर्दछन् । श्रेष्ठले भने, ‘मेरो विगतको कार्यलाई मूल्याङ्कन गर्दै अधुरा कार्य पूरा गर्न यो पटक जिताउनु हुनेछ भन्ने विश्वास लिएको छु ।’

सम्पदा पुनर्निर्माणमा आफूले ध्यान दिएको भन्दै उनले आफ्नो अघिल्लो कार्यकालमा मध्यपुर थिमि एउटा धार्मिक, सांस्कृतिक पर्यटनको गन्तव्य भएको दाबी गरे । केही कार्य अधुरो भएकाले त्यसलाई पूरा गर्न पनि आफूले फेरि उम्मेदवारी दिएको उनको भनाइ छ ।

को–को छन् मेयर पदको दौडमा ?

यो पटकको स्थानीय तहको निर्वाचनमा मध्यपुर थिमि नगरपालिकाको मेयर पदका लागि ६ स्वतन्त्रसहित १३ जना उम्मेदवार चुनावी मैदानमा छन् । एमालेबाट मदन सुन्दर (जगुलु) श्रेष्ठ, काँग्रेसबाट सुरेन्द्र श्रेष्ठ, नेमकिपाबाट आशाहरि प्रजापति, राप्रपाबाट भुवन बाग श्रेष्ठ, लोसपा नेपालबाट देवीमाया खाती, नेपालका लागि नेपाली पार्टीबाट राजेश बाडे र नेपाल सुशासन पार्टीबाट भगवती चौलागााई मेयर पदमा उम्मेदवार छन् ।

स्वतन्त्रतर्फ भने जीवपति श्रेष्ठ, दिनेश श्रेष्ठ, प्रजन श्रेष्ठ, रन्जन प्रजापति, राम बुढाथोकी र लक्ष्मी प्रसाद बास्तोला उम्मेदवार छन् ।

विगतको परिणाम यस्तो थियो

२०७४ सालको निर्वाचनमा ९ वटा वडा रहेको यस नगरपालिकामा ६ वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए । स्वतन्त्र, एमाले र नेमकिपाले १÷१ वडा जितेका थिए ।

नगरप्रमुखमा एमालेका मदन सुन्दर (जुगुलु) श्रेष्ठले १४ हजार मत ल्याएर विजयी भएका थिए । काँग्रेसका अष्टकुमार कवेले १० हजार ८४६, माओवादी केन्द्रकी प्रतिमा श्रेष्ठले १ हजार २३२ मत ल्याएकी थिइन् । यो नगरपालिकामा नेमकिपाको समेत राम्रो उपस्थिति छ । २०७४ को स्थानीय तह निर्वाचनमा सो पार्टीले एमालेसँग तालमेल गरेको थियो ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि मध्यपुर थिमि नगरपालिकामा २० हजार ५३१ पुरुष, २१ हजार ३०८ महिला साथै अन्य ३ जना मतदाता गरी जम्मा ४१ हजार ८४२ मतदाता छन् । मध्यपुर थिमिमा १७ मतदान स्थल र ४६ मतदान केन्द्र हुने जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम बिसीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप