धेरै दम्भ नगरौँ, ओलीको जस्तो हालत होला : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू मात्रै ठूलो छु भनेर कसैले पनि दम्भ गर्न नहुने बताएका छन् । धेरै दम्भ गरे नेकपा एमालेका अध्यक्ष केपी ओलीको जस्तो हालत हुने उनले चेतावनी दिएका हुन् ।
पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘सबैलाई जानकारी होस् कहिले कम्युनिस्टलाई हामी धेरै शक्तिशाली छौँ भन्ने दम्भ हुन्छ । कहिले काँग्रेसलाई हामी धेरै शक्तिशाली छौँ भन्ने दम्भ हुन्छ । त्यो दम्भ नराख्नुहोस्, केपी को विनाश भयो, तपाईंको पनि हुनसक्छ । सबैको शक्तिलाई स्वीकार गर्नुपर्छ ।’ उनले गठबन्धन गरेर आफूहरूले सही निर्णय गरेको बताउँदै गठबन्धनबारे भ्रममा पर्न आवश्यक नरहेको जिकिर गरे । उनले गठबन्धन गरेर देश र गणतन्त्र जोगाएको दाबी पनि गरे । विगतमा काँग्रेस र कम्युनिस्ट मिलेर विभिन्न कालखण्डमा आन्दोलनलाई सफल पार्नुका साथै संविधानसभाबाट संविधान लेख्न सफल भएको पनि स्मरण गराए ।
देशमा अहिले दुईवटा गठबन्धन रहेको अध्यक्ष नेपालको जिकिर थियो । ‘देशमा अहिले एउटा प्रगतिशील र बाम–लोकतान्त्रिक गठबन्धन छ । अर्को गठबन्धन दक्षिणपन्थी प्रतिगामी, संविधान विरोधी, संघीयता विरोधी र गणतन्त्र विरोधी छ । त्यस गठबन्धनको नेतृत्व केपी ओलीले गरेका छन् जसको २–२ संविधानले दिँदै नदिएको अधिकारको दुरुपयोग गरेर संविधानको गलत व्याख्या गरेर संसद् भंग गरे । संविधानको घाँटी थिच्ने काम गरेँ । उनलाई यो संविधानको पनि माया छैन, लोकतन्त्रको पनि माया छैन ।’
‘ओली बयलगाडा दर्शनको प्रवर्तक हुन् । आन्दोलनबाट गणतन्त्र आउँदैन भन्दै खिल्ली उडाउँदै भाषण दिँदै हिँडेका थिए । तर विडम्बना तिनै व्यक्ति गणतन्त्रको प्रधानमन्त्री बन्न पुगे,’ नेपालले भने, ‘नेकपा एमालेको निर्माण हामीले गरेका थियौँ । एमाले बनाउन उनको कुनै भूमिका रहेको थिएन । उनलाई कम्युनिस्ट पार्टी प्रति पनि कुनै निष्ठा छैन । उनी व्यक्तिवादी व्यक्ति हुन् । आफूबाहेक अरूलाई उनले दुई कौडीको पनि महत्त्व दिँदैनन् । त्यस्तै कुसँस्कार बोकेर हिँडेका छन् । त्यस्ता व्यक्तिले अगुवा गरेको पार्टी र गठबन्धन राम्रो हुन सक्दैन ।’