बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावले बजेट कार्यतालिका प्रभावित,  साढे १६ खर्ब बराबरको बजेट ल्याउने तयारी

आइतबार, २५ वैशाख २०७९, २१ : ०३
आइतबार, २५ वैशाख २०७९

स्थानीय निर्वाचन २०७९ का कारण बजेट प्रभावित हुन पुगेको छ । आर्थिक वर्ष २०७९/८० को संघीय बजेटका लागि वैशाख २० गते भित्र प्री–बजेट, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसद्का दुवै सदनमा पेश गर्ने कार्य तालिका रहेको थियो । तर निर्वाचनकै कारण राजनीतिक पार्टीहरू चुनाव केन्द्रित प्रचारप्रसार तथा आमसभा जस्ता गतिविधिमा व्यस्त हुँदा प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुवै सदनको बैठक बस्न सकेको छैन । 

यद्यपि, ढिला गरी वैशाख २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले आगामी जेठ ३ गतेलाई प्री–बजेट छलफलका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको दुवै सदनको अधिवेशन बोलाएको छ । यसै अधिवेशनमा अर्थमन्त्री जनार्दन शर्माले बजेटको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता पेश गर्ने र सभामा छलफल हुने बताइएको छ । तर, तोकिएको समय सीमा भन्दा ढिला गरी बस्ने प्री–बजेट छलफलले यसपछिको बजेटको कार्यतालिका समेत प्रभावित हुने भएका छन् ।  

केके बाँकी छन् बजेटका काम ?
संविधानतः आर्थिक वर्षको बजेट अघिल्लो वर्षको जेठ १५ गतेभित्र नै ल्याइसक्नुपर्ने कानुनी व्यवस्था छ । नेपालको संविधान, २०७२ को भाग १० को संघीय आर्थिक कार्यप्रणाली शीर्षकको ११९ को धारा ३ को उपधारा १ बमोजिमको राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महिनाको पन्ध्र गते संघीय संसदमा पेश गर्नैपर्ने व्यवस्था छ । यसै समय सीमालाई ध्यानमा राख्दै जेठ १५ गते नै बजेट ल्याउने तयारी गरेको अर्थ मन्त्रालयले कार्यतालिका नै बनाएर बजेटको तयारी गरिरहेको छ । 

वैशाख २ गतेदेखि १५ गतेसम्म विभिन्न राजनीतिक दलका प्रतिनिधि, पूर्व अर्थमन्त्री, पूर्व गभर्नर र पूर्व अर्थ सचिवसँग बजेट बारे छलफल गर्ने योजना बनाएको मन्त्रालयले हालैमात्र सो काम सकेको छ । वैशाख २० गतेलाई तोकिएको संघीय संसद्को दुवै सदनको प्री–बजेटको छलफल जेठ ३ गतेलाई सरेको छ । मन्त्रालयकै कार्य तालिका अनुसार प्री–बजेट छलफल सकिएसँगै वैशाख ३० गते आर्थिक सर्वेक्षणलाई अन्तिम रूप दिएर सोको छपाइमा पठाउने र सोही दिन मन्त्रालयगत प्रगति विवरण छपाइका लागि प्रेसमा पठाइने कार्यतालिका थियो । तर प्री–बजेट छलफल नै जेठ ३ गते पुग्ने भएपछि यो कार्यतालिका समेत प्रभावित हुने भएको छ ।

कार्यतालिका अनुसार वैशाख २० गते नै बजेट वक्तव्य समेत तयार गरेर जेठ ६ गते राष्ट्रपति समक्ष बजेट ब्रिफिङ गर्ने र जेठ ८ गते व्यय अनुमान र खर्च शीर्षकगत अनुमानको अङ्क रुजुसहित अन्तिम मस्यौदा तयार गर्ने कार्यतालिका छ । जेठ १५ गते संघीय संसद्को दुवै सदनमा एकैपटक सार्वजनिक हुने बजेटको मस्यौदा जेठ १० गतेभित्र छपाइ सक्ने र १२ गते मन्त्रालयले आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रूप दिने कार्यतालिका छ । यसपछि जेठ १३ गते स्रोत पुस्तिका छपाइका लागि प्रेसमा पठाइने र जेठ १४ गते सो बजेट पुस्तिका मन्त्रिपरिषद्मा पेश गर्ने कार्यतालिका छ । चुनावले बजेट कार्यतालिकामा केही प्रभाव पारे पनि जेठ १५ गतेभित्र नै बजेट ल्याउनुपर्ने बाध्यताबाट भाग्ने छुट भने सरकारलाई छैन ।

क–कसले बनाउँदै छन् बजेट ?
आर्थिक वर्ष २०७९/८० को बजेट तयारीका लागि अर्थमन्त्रीसँगै उनको आर्थिक सल्लाहकारहरू र अर्थ मन्त्रालयका पाँच जना कर्मचारीहरू लागि परेका छन् । स्रोतका अनुसार बजेटकै लागि अर्थमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा.सुरेन्द्र उप्रेती लागि परेका छन् भने मन्त्रालयका सहसचिव भूपाल बराल, चक्रबहादुर बुढा, बाबुराम सुवेदी, महेश आचार्य र ईश्वरी प्रसाद अर्याल बजेट निर्माणको टिममा छन् । अहिले यो टिमले बजेटको नीति तथा कार्यक्रम मस्यौदा तयारीको काम गरिरहेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले साढे १६ खर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप