शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

उप–कप्तान खोसिए पनि सीता भन्छिन्, ‘क्यानप्रति कुनै गुनासो छैन’

बुधबार, ०४ जेठ २०७९, १५ : ५७
बुधबार, ०४ जेठ २०७९

नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पहिलो नम्बरमा पर्छिन् क्रिकेट खेलाडी सीता रानामगर । उनको खेल योगदानको कदर गर्दै राष्ट्रिय टोलीको उप–कप्तानको जिम्मेवारी क्यानले दिएको थियो । तर, भर्खरै मात्र सीताका लागि दुःखद क्षण आयो । जब उनले आफ्नो उप–कप्तानको जिम्मेवारी खोसिएको फेसबुकमार्फत् जानकारी पाइन् । 

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पहिलो ब्याचकी खेलाडी हुन् उनी । सन् २००७ मा नेपाली टोली तयार गर्दादेखि १५ वर्ष लामो क्रिकेट यात्रामा सीता नेपाली राष्ट्रिय टोलीले खेल्ने प्रायः प्रतियोगितामा पहिलो रोजाइमा पर्ने खेलाडी हुन् । 

अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली क्रिकेटको शान जोगाइ रहेको खेलाडीले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलअघि उप–कप्तानको जिम्मेवारी खोसिएको थाहा पाउँदा उनको मन दुःखेको छ । तर, बाहिर विरोधको शैलीमा प्रकट गरेकी छैनन् । उनले भनिन्, ‘क्यानले मलाई उप–कप्तानको जिम्मेवारीबाट हटाउँदा एक पटक जानकारी गराएको भए सहज हुने थियो ।’

यसै साता सीता आबद्ध टोर्नाडोस वुमेनले फेयर ब्रेक इन्भिटेसनल क्रिकेट प्रतियोगिताको उपाधि जित्यो । उक्त प्रतियोगिताको उत्कृष्ट ११ खेलाडीको सूचीमा सीता अटाइन् । सीताका लागि खेल जीवनको खुसीको क्षण मध्येको एक हो त्यो । सोही खुसीको क्षणमा रम्न नपाउँदै सीतालाई क्यानले उप–कप्तानको जिम्मेवारी खोस्दा उनलाई पक्कै पनि खल्लो महसुस भएको छ । 

सीता शालिन छन् । उनलाई टिमभित्र विद्रोह गर्न मन छैन । उप–कप्तानपछि आफू कप्तान हुनुपर्छ भन्ने पक्षमा पनि छैनन् । तर, उनको भित्री मनमा भने एकपटक राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी लिएर सन्यास लिने भन्ने पक्कै छ । 

‘मैले आफू कप्तान हुनुपर्छ भन्ने सोच कहिले राखिनँ । देशलाई खाँचो भएको समयमा खेले । लामो समय राष्ट्रिय टोलीमा उप–कप्तानको जिम्मेवारी पनि राम्रो निभाएँ । एकपटक राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी सम्हाल्दै क्रिकेटबाट सन्यास लिने मेरो सपना थियो । जुन पूरा भएन,’ सीताले भनिन् । 

आफूलाई क्यानले कप्तानको जिम्मेवारी दिने कुरामा अब सीता विश्वस्त छैनन् । यस अघिको एसिया कपमा कप्तानको जिम्मेवारी नदिँदा आफू कुन जिम्मेवारी छु भन्ने कुरामा दोधार भएको समयमा अहिले क्यानले प्रष्ट पारिदिएको उनको भनाइ छ । 

स्मरण रहोस्, सीतालाई नेपालले गत नोभेम्बरमा मलेसियामा भएको आईसिसी महिला टी–ट्वान्टी विश्वकप छनोट एसिया र त्यसअघि कतारसँग खेलेको तीन महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा उपकप्तान सार्वजनिक गरेको थिएन । 

‘क्यानले मलाई कप्तानको जिम्मेवारी दिँदैन भन्ने कुरामा म पहिले नै ढुक्क थिएँ । अहिले प्रष्ट भएँ । एक पटक कप्तान बनेर सन्यास लिने सपना पनि अधुरो रहेको महसुस भयो,’ सीताले भनिन् । नेपाली टोलीमा युवा खेलाडीलाई मौका दिन खोजिएको भन्ने कुरा सुन्दा सीता खुसी छिन् । उनले कप्तान र उप–कप्तानको जिम्मेवारी दुबै युवा खेलाडीलाई दिँदा आफूलाई झनै खुसी मिल्ने बताइन् । 

‘युवा खेलाडीहरुलाई मौका दिनु राम्रो पक्ष हो । उप–कप्तान मात्र नभएर कप्तानको जिम्मेवारी पनि युवा खेलाडीलाई दिए झनै राम्रो हुन्थ्यो । क्यानले केही सोचेर नै जिम्मेवारी दिएको होला,’ उनले भनिन् । 

पछिल्लो समय सिनियर महिला र पुरुष दुवै टोलीमा एकता नभएको बुझ्न सकिन्छ । महिला टोलीमा पनि सिनियर खेलाडीबीच गुट रहेको क्रिकेट समर्थक र क्रिकेट विज्ञहरुको भनाइ छ । सीताका अनुसार ठूलो समूहभित्र गुट हुनु सामान्य हो । मैदानभित्र भने गुटले कुनै फरक पार्दैन ।

‘गुट नहुने ठाउँ हुँदैन । हामी टिमभित्र एउटा अर्काे समूह बनाएर बसेका छौँ भन्न मिल्दैन । मैदानभित्र मात्र खेलको विषयमा ध्यान हुन्छ । टिमलाई कसरी जित दिलाउने भन्ने विषयमा हामी सबै मिलेर लाग्छौं,’ सीताले भनिन् । 

सीताको कप्तानीमा विभागीय टोली एपीएफले लामो समयदेखि बर्चस्व जमाउँदै आएको छ । घरेलु प्रतियोगितामा पछिल्लो पटक प्रधानमन्त्री कप प्रदेश एक टिमले उपाधि जिते पनि अन्य प्रतियोगितामा एपीएफ नै च्याम्पियन छ । 

एपीएफलाई च्याम्पिन बनाएर कप्तानको भूमिकामा रहँदा नै आफू खुसी भएको सीताको भनाइ छ । ‘म एपीएफको जिम्मेवारीमा छु । एपीएफमा कप्तान रहँदै टिमलाई सफलता दिलाइरहेकी छु । म त्यसैमा खुसी छु,’ सीताले भनिन् ।

सीता आफू कप्तानको जिम्मेवारी पाए सफलतासाथ हाँक्न सक्ने बताउँदै कप्तानको दाबेदारमा अब्बल रहेको पनि बताउँछिन् । ‘म आफू कप्तानको दाबेदार लाग्छ । तर क्यान नै यस विषयमा आधिकारिक भएपछि मैले वहाँहरुको निर्णय स्वीकार्नैपर्छ ।’ सीताले भनिन् । 

सीता नेपाली महिला क्रिकेटमा सर्वाधिक सफल क्रिकेटर हुन् । उनी महिला टी–ट्वान्टी अन्तर्राष्ट्रि«यमा नेपालबाट सर्वाधिक रन बनाउने मात्रै होइन, सर्वाधिक विकेट लिने खेलाडी पनि हुन् । महिला टी–ट्वान्टीमा २२ विकेट लिएकी उनले २२ खेलमा ४४५ रन बनाएकी छिन् । नेपालका लागि अन्तर्राष्ट्रिय महिला क्रिकेटमा एकै इनिङमा सर्वाधिक रन बनाउने पनि उनी नै हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप