मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

बुटवलमा पाठ्यपुस्तक अभाव, पठनपाठनमा समस्या

आइतबार, २२ जेठ २०७९, १५ : ०४
आइतबार, २२ जेठ २०७९

बुटवलमा विद्यालयका पाठ्यपुस्तकको अभाव देखिएको छ । नयाँ शैक्षिक सत्र सुरु भएको तीन साता भइसक्दा समेत विद्यार्थीले विभिन्न पुस्तक पाउन सकेका छैनन् । बुटवल उपमहानगरले लागू गरेको स्थानीय पाठ्य पुस्तक ‘आवर बुटवल’ समेत बजारमा अभाव छ । कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम अनुसार पढाइ हुने उक्त पुस्तक १ सय पूर्णाङ्कको हो ।

उक्त पुस्तक छपाइका लागि नगरपालिकासँग सम्झौता गरेको छापाखानाले अझैसम्म पर्याप्त मात्रामा उपलब्ध गराउन सकेको छैन । बुटवलका विद्यालयमा कक्षा १, ४, ५ र ७ का धेरै विद्यार्थीले उक्त पुस्तक नपाएको बताएका छन् ।

बुटवलको मजुवा बस्ने आरती खड्का आफ्ना बच्चाका लागि पुस्तक खरिद गर्न बुटवलको जेसिस चोकमा ७ पटकसम्म आएको बताउँछिन् । ‘कहिले पुस्तक आउँछ भन्छन् बच्चाहरू, यता कहिले कुन पसल, कहिले कुन पुस्तक गर्दा आजसमेत गर्दा ७ पटक भयो, तर अझैसम्म पुस्तक पाउन सकेको छैन,’ उनले भनिन् ।

पुस्तक व्यवसायी संघ लुम्बिनी प्रदेशका सचिव केशव श्रीसले बुटवल उपमहानगरले लागू गरेको स्थानीय पाठ्यक्रमअनुसारको पुस्तक पूरा नछाप्दा अभाव देखिएको बताउँछन् । उनले दैनिक रूपमा ‘आवर बुटवल’ पुस्तक खोज्दै अभिभावकहरु आउने गरे पनि दिन नसकिएको बताए ।

कक्षा ४, ७ र ५ को ‘आवर बुटवल’ पुस्तक अझैसम्म नछापेको पुस्तक व्यवसायीहरु बताउँछन् । अन्य कक्षाको पुस्तक पनि आवश्यकता अनुसार नपाउँदा विद्यार्थी र अभिभावकले दुःख पाएको श्रीस मगरको भनाइ छ ।

यता बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम पन्थी भने प्रेसले पुस्तक बजार पठाएको जानकारी आफूहरुलाई दिएको बताउँछन् । उनले पुस्तकको अभाव भएको भए बजारमा पठाउनका लागि पहल गर्ने बताए ।

बुटवल उपमहानगरपालिकाको स्थानीय पाठ्यक्रममात्रै होइन, जनक शिक्षा सामग्री केन्द्र र निजी प्रकाशनका पुस्तक पनि बजारमा अभाव छन् । सामुदायिक विद्यालयका विद्यार्थीहरूले कक्षा ४, ७, ९ का पुस्तक अझै पाएका छैनन् । अन्य कक्षाको पुस्तक पनि पर्याप्त मात्रामा बजारमा आएको छैन ।

कालिका माविका प्रधानाध्यापक दिनेश थापाले विद्यार्थीहरूले पूरा पुस्तक नपाउँदा समस्या भएको रातोपाटीलाई बताए । उनले नयाँ करिकुलम अनुसार कक्षा ४, ७, ९ का विद्यार्थीले नेपाली र अंग्रेजी विषयको पुस्तकबाहेक अधिकांश पुस्तक नपाएको बताए ।

बुटवल उपमहानगरपालिका–५ मा रहेको ज्ञानोदय माविका शिक्षक गोकर्ण ज्ञवालीले कक्षा ४ को अंग्रेजीबाहेक धेरै पुस्तक विद्यार्थीको हातमा नपरेको बताए । उनले मोबाइलबाट करिकुलम अनुसारको पुस्तक डाउनलोड गरेर पढाउने गरेको तर विद्यार्थीलाई प्राक्टिकल भने नगराएको जानकारी दिए ।

‘विद्यार्थीको हातमा पुस्तक छैन, म आफै पुस्तक खरिद गर्न हिँडेको छु,’ उनले भने, ‘यस्तो अवस्थामा कसरी विद्यार्थीलाई पढाउने ?’

सरकारी विद्यालयमा जेठ ३ गतेबाट पठनपाठन सुरु भएको छ । पुस्तक अभावका कारण धेरैजसो विद्यालयका अधिकांश कक्षामा राम्रोसँग पढाइ हुन नसकेको सरोकारवालाहरुको भनाइ छ ।

बुटवलको कालिकानगरस्थित अन्नपूर्ण पुस्तक पसलका सञ्चालक हरि अर्यालले माग अनुसार जनक शिक्षा सामग्री केन्द्रले पुस्तक नदिँदा समस्या भएको बताए । उनले २ सय सेट पुस्तक मागेकोमा ५० सेटमात्र पाएको जानकारी दिए ।

‘विद्यार्थी र अभिभावकहरू पुस्तक दिएन भनेर किचकिच गर्ने गर्दछन्,’ उनले भने, ‘तर हामीलाई जनक शिक्षा सामग्री केन्द्रले पुस्तक नै निकै कम पठाउँछ, दैनिक धाउँदाधाउँदा म आफै पनि हैरान भइसकेँ ।’

जनक शिक्षा सामग्री केन्द्र बुटवलका प्रमुख भैरवबाबु पन्तले भने पुस्तक अभाव नभएको दाबी गरे । रातोपाटीसँग उनले भने, ‘व्यवसायीहरूले पुस्तक पाएका छैनन् भने मलाई भन्नु प¥यो नि ! हामीले पठाएका छौं ।’

उनले एक चरण जिल्लाहरूमा पुस्तक पठाएको बताए । अपुग भएको ठाउँमा फेरि पनि पुस्तक पठाउने तयारी भइरहेको उनको भनाइ छ । अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली भने जनक शिक्षाको लापरवाहीका कारण पुस्तकको अभाव भएको बताउँछन् ।

‘कक्षा सुरु भएको छ तर विद्यार्थीको हातमा पुस्तक छैन,’ उनले भने, ‘यसले विद्यार्थीहरूमा मनोवैज्ञानिक असर परेको छ ।’ पुस्तक समयमा उपलब्ध गराउने विषयमा बुटवल उपमहानगरपालिका र जनक शिक्षा उस्तैउस्तै भएको उनको बुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप