शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘पार्टीमा कुनै दुर्घटना भए, जिम्मेवारी अध्यक्ष यादवले लिनुपर्छ’

मङ्गलबार, ३१ जेठ २०७९, १६ : ४४
मङ्गलबार, ३१ जेठ २०७९

जनता समाजवादी पार्टी नेपाल फुटको संघारमा पुगेको छ । एउटा धारको नेतृत्व जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले गरेका छन् भने अर्को धारको नेतृत्व संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले गरेका छन् । दुवै पक्षबीच आन्तरिक विवादका कारण पार्टी विभाजन उन्मुख भएको छ । यसबारे पार्टीभित्र प्रशस्त गृहकार्य भइरहेको छ ।

टाउको गन्ने, हस्ताक्षर गराउने, शक्ति केन्द्रहरुमा धाउने जस्ता काम जारी ट । जसपाभित्र जुनसुकै बेला जे पनि हुन सक्छ । प्रस्तुत छ, यिनै विषयमा केन्द्रीत भएर संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईलाई साथ दिँदै आएका कृषि तथा पशुपन्छी विकास मन्त्री एवं जसपाका कार्यकारिणी सदस्य महिन्द्रराय यादवसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंशः  

के अब जसपा विभाजन नै हुने भयो त ?

–बडो मेहनतका साथ जसपा निर्माण भएको हो । यसलाई बनाउन पर्सनल्ली मैले धेरै मेहनत गरेको छु । त्यसैले यो त्यतिकै विभाजन हुँदैन । तर पार्टीभित्र देखिएका समस्या समाधान गर्नुपर्छ त्यो समस्या समाधान नभए जे पनि हुन सक्छ । 

खासमा जसपामा विवाद के हो ?

–पहिलो कुरा त जसपा कसैको एकलौटी पार्टी होइन । पार्टीमा रहेका हरेक नेता तथा कार्यकर्ताको सबैको बराबर अधिकार छ । आआफ्नो पदीय मर्यादाअनुसार आआफ्नो जिम्मेवारी बहन गर्ने हो । जसपा सामूहिक नेतृत्वमा चल्नुपर्छ भने हाम्रो मान्यता हो । तर उपेन्द्र यादवजीले एकल ढंगबाट पार्टी चलाउन खोज्नु भएको छ । आफ्नो निजी कम्पनी जस्तो उहाँले पार्टी चलाउन खोज्नु भएको छ, त्यो हामीलाई स्वीकार्य छैन । 

पार्टीको अन्तरिम विधानमा दुईजना अध्यक्षको व्यवस्था छ । त्यो व्यवस्थाअनुसार दुईजना कार्यकारी अध्यक्ष र एकजना संघीय परिषद् गरी तीनजनाको सामूहिक नेतृत्वमा पार्टी सञ्चालन हुनुपर्छ । तर उपेन्द्र यादवजीले एकलौटी ढंगबाट पार्टी चलाउन खोज्नु भएको छ । अर्को कुरा, पार्टी अध्यक्ष यादवले पार्टीको बैठक नै बसाउन चाहनु भएको छैन । पार्टीमा कुनै समस्या देखिएपछि त्यसलाई समाधान गर्न बैठक बस्नु पर्ने हो । तर उहाँ बैठक बसाउनुको सट्टा भागी भागी हिँड्नु हुन्छ ।

दुईजना अध्यक्ष नरहने, तीन सदस्य हेडक्वाटर बनाएर जाने सहमति भएको होइन र ? अनि फेरि अहिले सामूहिक नेतृत्वका लागि किन विवाद त ?

–तीनजनाको हेडक्वाटर चुनाव सम्मको लागि मात्र बनाइएको थियो । चुनावमा टिकट वितरणदेखि लिएर चुनावलाई सफल बनाउन, बढी भन्दा बढी सीट जिताउन त्यो हेडक्वाटर बनाइएको थियो । तर, उपेन्द्र यादवले त्यो हेडक्वाटरको कुनै वास्ता गर्नुभएन । जथाभावी टिकट वितरण गर्नुभयो । चुनावमा मनमौजी गर्नुभयो । त्यसैको नतिजा हो सोचेअनुसार पार्टीले परिणाम ल्याउन सकेन । हरेक निर्णयमा हेडक्वाटरको सहमति चाहिन्छ, पार्टीमा निर्णय नै भएको थियो । तर, उपेन्द्रजीलाई सोध्नुस् त उहाँले हेडक्वाटरलाई कहाँ कहाँ सोध्नु भएको छ ।

पार्टीमा सहमति एउटा गर्ने अनि कार्यान्वयन अर्को गरेर पार्टी चल्दैन । नेतृत्वको बारेमा चुनावलगत्तै छलफल गर्ने सहमति भएको थियो । तर अहिलेसम्म बैठक बसाउन मान्नु भएको छैन । केन्द्रीय समितिको बैठकबाट असार १ गते हुने भनिएको विधान अधिवेशन स्थगित गरिएको छ । त्यो कसलाई सोधेर स्थगित गर्नु भएको हो ? यो हैकमवादी शैली होइन ? कमसेकम सचिवालयको बैठक बसाउनु पथ्र्यो, त्यो नभए शीर्ष नेताको बीचमा छलफल हुनुपथ्र्यो । त्यो पनि नभए पनि तीनजनाको हेडक्वाटर छ, त्यसमा भएपनि छलफल हुनुपथ्र्यो । तर उहाँले आफू खुशी स्थगित गर्नुभयो । यो त अराजक होइन र ?

दुईजना अध्यक्षको प्रावधान हटाउन विधान संशोधन गर्न विधान अधिवेशन बोलाइएको थियो । बैठक स्थगित हुँदा त तपाईंहरुलाई झन राम्रो भयो, होइन र ?

–हो, विधान संशोधनका लागि विधान अधिवेशन बोलाइएको थियो । तर दुई अध्यक्ष प्रणालीको प्रावधान विधानबाट हटाई नै दिने भनी सहमति भएको होइन नि । विधानमा के राख्ने, के न राख्ने भनी छलफलका लागि अधिवेशन बोलाइएको थियो । त्यो अधिवेशनले मात्रै निर्णय गथ्र्यो कि एकजना अध्यक्ष वा दुईजना अध्यक्ष राख्ने । तर अधिवेशन नहोस् भनी चाहना अध्यक्ष यादवको रहेको छ । र, उहाँबाट जानी जानी त्यसलाई स्थगित गरिएको छ । पार्टीमा अधिकांशको चाहना दुईजना अध्यक्ष रहनुपर्ने पक्षमा छ । त्यो कुरा अध्यक्ष यादवले थाहा पाउनु भएको छ र अधिवेशन स्थगित गराउनु भएको हो ।

पार्टी विभाजनकै लागि तपाईंसहित डा बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई सोमबार भेटेको कुरा बाहिरिएको छ नि ? यसबारे के भन्नु हुन्छ ?

–बाबुरामजीले प्रधानमन्त्रीलाई भेट्नु भएको हो या होइन, मलाई थाहा छैन । तर सोमबार म भने प्रधानमन्त्रीसँग भेट्न गएको छैन । म हिजो बिहानदेखि बेलुकासम्म संसद्मा थिएँ । प्रधानमन्त्रीलाई भेट्न गएको कुरा झुठो हो । तर, प्रधानमन्त्रीलाई भेट्नु भनेको पार्टी विभाजन नै होइन । एउटा पार्टीका नेता देशका प्रधानमन्त्रीलाई विभिन्न कारणले भेट्न सक्छ । त्यसलाई पार्टी विभाजनकै रुपमा हेर्नुहुन्न । अहिले नागरिकताको समस्या छ, बजेटमाथि छलफल भइरहेको छ । विभिन्न कुराहरु छन्, त्यस विषयमा पनि कुराकानी हुन सक्छ । तर बाबुरामजी भेट्नका जानु भएको कुरा मलाई थाहा छैन ।

पार्टी विभाजनका लागि तपाईंहरुले बहुमत पुर्याई सक्नु भयो रे । बाबुरामलाई अध्यक्ष तथा संसदीय दलको नेता बनाउने पनि सहमति गरिसक्नु भएको छ रे । यसमा कतिको सत्यता छ ?

–हेर्नुस्, जसपा विभाजन हुँदैन । यदि यो विभाजन भयो भने त्यसको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवले लिनुपर्छ । पार्टीमा जुन किसिमको विवाद चलिरहेको छ । त्यसले गर्दा पार्टीमा कुनै दुर्घटना भयो भने त्यसको जिम्मेवारी उहाँले लिनुपर्छ । उपेन्द्र यादवले नेतृत्व गर्दा उहाँको पार्टी दुई पटक विभाजन हुँदा मैले सहयोग गरेको हुँ । 

केपी शर्मा ओलीले समाजवादी पार्टी विभाजन गरिरहँदा तत्कालीन राजपासँग एकीकरण गराउन मैले उपेन्द्र यादवजीलाई सहयोग गरेको हुँ । त्यतिबेला राजपामा ममाथि विभिन्न लाञ्छनाहरु पनि लगाइएको थियो । जसपा बनिसकेपछि पनि महन्थ ठाकुरहरुले पार्टी विभाजन गर्न लाग्दा उपेन्द्र यादव अल्पमतमा पर्नुभएको थियो । त्यसमा पनि मलगायत तत्कालीन राजपाका मृगेन्द्रकुमार सिंह यादव, राजकिशोर यादव, अमृता सिंह यादव, प्रमोद साहलगायत थुप्रै साथीहरुले सहयोग गर्नुभयो । उपेन्द्र यादवले अहिले ती सबै कुरा बिर्सिनु भएको छ । 

मनन गर्नुपर्ने कुरा के हो भने उपेन्द्र यादवकै नेतृत्वमा रहेको पार्टी पटक पटक किन विभाजन हुन्छ त ? पार्टी विभाजन गर्ने सबै खराब र उपेन्द्र यादव एक्लै मात्र राम्रो भनेको होइन । उहाँको नेतृत्वमा रहेको बेला पटक पटक पार्टी विभाजन हुनु भनेको पक्कै पनि उहाँमा कुनै न कुनै कमजोरी छ । यसपटक पनि यदि जसपामा कुनै दुर्घटना भयो भने त्यसको जिम्मेवारी उपेन्द्र यादवमा हुन्छ ।

पार्टी विभाजनका लागि डा बाबुराम भट्टराई दौडधुप गरिरहनु भएको छ । अनि दोष उपेन्द्र यादवलाई ?

–मलाई जहाँसम्म थाहा छ, भट्टराई पार्टी विभाजनका लागि कुनै दौडधुपमा लाग्नु भएको छैन । उहाँले पार्टी विभाजनको कुरा कहीँ गर्नुभएको छैन । उहाँले पार्टी कसरी राम्रो बनाउन सकिन्छ, सामूहिक नेतृत्वमा पार्टीलाई कसरी सञ्चालन गर्न सकिन्छ भनी सोच राख्नु भएको छ । र, पार्टीमा पनि उहाँले यही कुरा पटक पटक राख्नुहुन्छ । पार्टी विभाजनको दौडमा भट्टराई मात्र होइन, कोही पनि लाग्नु भएको छैन । 

डा भट्टराई संघीय परिषद्को अध्यक्ष आफैले मागेर लिनु भएको हो । अहिले फेरि किन कार्यकारी अध्यक्ष चाहियो उहाँलाई ?

–अर्को एकजना अध्यक्ष डा भट्टराई नै बन्नुपर्छ भने छैन । पार्टीमा थुप्रै नेताहरु हुनुहुन्छ । उहाँहरुमध्येबाट जो कोही पनि अध्यक्ष बन्न सक्नु हुन्छ । बाबुराम आफू अध्यक्ष बन्छु भनी पार्टी वा पार्टी बाहिर कतै कुरा राख्नु भएको छैन । भित्रभित्रै उहाँलाई पनि अध्यक्ष बन्ने चाहना होला, त्यो कुरा अलग हो । तर पार्टी वा बाहिर कतै कुरा गर्दा उहाँले त्यस्तो चाहना व्यक्त गर्नुभएको छैन । 

त्यसो भए अशोक राईलाई बनाउन खोज्नु भएको होला, होइन ?

–मैले अघि नै भने नि, कुनै व्यक्तिलाई अध्यक्ष बनाउन दुईटा अध्यक्षको प्रावधान राख्न खोजिएको होइन । पार्टीमा सधैँ उपेन्द्र यादव नै अध्यक्ष रहनु हुन्छ भन्ने पनि छैन । यति ठूलो पार्टी छ, त्यसमा थुप्रै नेताहरु हुनुहुन्छ, जो कोही पनि अध्यक्ष बन्न सक्नु हुन्छ । 

अब केही कुरा तपाईं सम्बन्धित मन्त्रालयको गरौं । रासायनिक मलको अभावका कारण तपार्इंको निकै आलोचना भइरहेको छ, यस्तो अवस्था किन सिर्जना भयो ?

–देशमा रासायनिक मलको अभाव कृषि मन्त्रीका कारणले भएको होइन । मलको समस्या विश्वकै समस्या हो । कोरोना महामारी, युक्रेन–रुस बीचको युद्धलगायतका कारण अन्तरराष्ट्रिय रुपमै मलको अभाव भएको छ । अन्तराष्ट्रिय रुपमै मूल्य वृद्धि भएको छ । मूल्य अत्याधिक वृद्धि भएको कारणले ढुवानी गर्ने ठेकेदार कम्पनीहरुले समयमा मल ल्याउन सकिरहेको छैनन् । २० वटा भन्दा बढी टेण्डर रद्द भएका छन् । टेण्डर पाएकाहरुले समयमा मल ल्याएनन् । अब तिनलाई समातेर कोर्रा लगाउने त होइन नि । कानुनअनुसार कारवाही पनि गरिएको छ । 

त्यसो भए नेपाली किसानले मल नपाउने भए, होइन त ?

–वर्षे धान रोप्नका लागि किसानले जति पनि मल पाउँछन् । त्यसको जोहो भइसकेको छ । केही मल नेपाल आइसकेको छ भने आउने क्रममा पनि छ । असारको अन्तिम साता धानका लागि चाहिने जति पनि मल हामीसँग हुन्छ । भारत पनि मल दिने तयार भइसकेको छ । हामी यहाँबाट प्रक्रिया सुरु गरेका छौं । असारको दोस्रो या तेस्रो हप्तादेखि भारतबाट पनि जीटुजी सम्झौतामार्फत् मल नेपाल आउन सुरु हुन्छ । भारतले नेपाललाई वार्षिक कति मल चाहिन्छ, ती सबै मल दिन तयार भएको छ । जीटुजी सम्झौता हुँदा वार्षिक एक लाख पचास हजार मेट्रिक टन मल दिने कुरा भएको छ । भारतले थप तीन लाख ५० हजार मेट्रिक टन अर्थात वार्षिक पाँच लाख मेट्रिक टन मल दिन्छ । नेपालमा वार्षिक पाँच लाख मेट्रिक टन नै मल खपत हुन्छ । ती सबै मल भारतले दिन तयार भएको छ । त्यसका लागि भारतसँग पुनः सम्झौता गर्नुपर्छ । 

मल ल्याउन अहिले जति प्रयास गर्नुभएको छ । त्यो प्रयास पहिलादेखि गरेको भए यस्तो समस्या हुने थिएन नि । सुरुदेखि किन प्रयास भएन ?

–अहिले जुन मल आउने क्रममा छ । त्यसको प्रक्रिया पहिलादेखि नै सुरु भएको हो । नेपालमा मल अभाव हुँदैछ, असारमा समस्या हुन्छ भनेर फरवरीमा नै भारतसँग जीटुजी सम्झौता गरिएको थियो । मल आउन केही ढिलो भएको कारणले म आफै भारत गएर त्यसको सबै प्रक्रिया सुल्झाएर मल आउने वातावरण बनाएको हुँ । जीटुजीको माध्यमबाट अरु देशबाट पनि मल ल्याउने भनी विभिन्न देशलाई पत्र पनि लेखिएको छ । तर, अहिलेसम्म त्यताबाट कुनै रेसपोन्स आएको छैन ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप