सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा बजेटको आकार बढ्ने

३५ अर्बको बजेट ल्याउने तयारी
मङ्गलबार, ३१ जेठ २०७९, २१ : ५७
मङ्गलबार, ३१ जेठ २०७९

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको आकार बढाएर प्रदेशसभामा पेश गर्ने भएको छ । संघीय संरचनाको पहिलो अभ्यासमा गठन भएको सुदूरपश्चिम प्रदेश सरकारले कार्यकालको अन्तिम चरणमा बजेटको आकार ह्वात्तै बढाएर प्रदेश सभामा पेश गर्न लागेको हो ।

चालु आर्थिक वर्षको बजेट खर्च जेठ १७ गतेसम्म वित्तिय प्रगति ३७ प्रतिशत पुर्याएको  प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बजेटको आकार ३५ अर्बको हाराहारीमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले सभामा पेश गर्ने तयारी गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष ०७८/०७९ का लागि ३० अर्ब ५५ करोड चार लाख ५४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । आगामी आर्थिक वर्षमा झण्डै साढे चार अर्व बजेट बढेर सभामा प्रस्तुत गरिने सरकारका एक मन्त्रीले बताए ।

ती मन्त्रीले भन्छन,‘बजेटको आकार ठुलो नबनाउ भनी सुझाव दिएका थियौं । कार्यकालको अन्तिम वर्ष भएर होला बजेटको आकार बढाइएको छ । हेरौं कार्यान्वयन कतिको प्रभावकारी हुन्छ ।’केही दिन अघि नीति तथा कार्यक्रममा उठेका जिज्ञासामा जवाफ दिँदै मुख्यमन्त्री भट्टले संघिय सरकारबाट प्राप्त अनुदानको आकार र प्रदेशको आम्दानीका आधारमा बजेटको आकार ठुलो रहने बताएका थिए । ‘हाम्रो प्रदेशको सबैभन्दा राम्रो पक्ष भनेको हाम्रो बजेट कहिले घाटामा गएन । अहिले संघीय सरकारबाट पनि अनुदान १७ अर्व बराबर प्राप्त भएकाले यस वर्ष बजेटको आकार ठूलो रहनेछ’, उनले भने, ‘बजेट ठूलो हुने छ । कार्यक्रममा कम बजेट पर्न सक्छ ।’ 

प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले बजेटको आकार स्वस्थ रहेकाले प्रदेशको बजेट असन्तुलन नरहने बताए । ‘विगत चार वर्षदेखिका निर्माणाधिन भौतिक संरचनाका बहुवर्षीय योजना, विभिन्न पालिकाबाट आएका क्रमागत योजना कार्यान्वयन गर्ने निरन्तर छ भने स्वास्थ्य क्षेत्रका योजना भित्र छ’, उनले भने, ‘कृषि र पर्यटन प्रदेशको महत्वपूर्ण आर्थिक स्रोतको पाटो भएकाले बजेट यसैमा केन्द्रित रहेको छ ।’ उनले बजेटमा विभिन्न आलोचना र प्रतिक्रिया नआउने गरी सभामा पेश गरिने बताए । बजेटले प्रदेशको आर्थिक समृद्धिको पाटोलाई समेट्ने उनले विश्वास व्यक्त गरे ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले संघीय सरकारले प्रदेशमा समानिकरणतर्फ बढी बजेट विनियोजन गरेकाले प्रदेशको बजेटको आकार बढेको बताए । ‘विगतमा समानिकरणतर्फ एक अर्व पनि बजेट प्रदेशमा विनियोजन हुन्थेन । अहिले सात अर्व बढी बजेट विनियोजन गरिएको छ’ उनले भने,‘समानिकरणतर्फको बजेट संघिय सरकारको भएपनि त्यसको खर्चको दायित्व प्रदेश सरकारको रहन्छ ।’

उनले प्रदेश सरकारले कृर्षि, युवा रोजगार, विगतका अधुरा राम्रा योजना सम्पन्न गर्ने बजेटले प्राथमिकता दिने बताए । उनले कृषि उत्पादन बढाउने र बजारीकरणमा बल पुर्याउने, विद्यालयमा प्रविधि बढाउने, विपदबाट हुने क्षति न्यूनिकरण गर्न कार्यक्रम अघि बढाउने, प्रदेश सभामा बनेका कानुनको प्रभावकारी कार्यान्वयन गराउने,  उद्योग व्यवसायीको प्रवद्र्धन गर्ने,  जलविद्युत उत्पादन, स्वास्थ्य संस्था सुदृढीकरण तथा उपकरणको व्यवस्थापन लगायतका कार्यक्रम बजेटमा समावेश हुने बताए ।

नेपाली काँग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खडकाले प्रदेश सरकारले बजेट जति राम्रो ल्याएपनि कार्यान्वयन पक्ष कमजोर हुने गरेको बताए । ‘बजेट कति ठुलो आकारको पेश भयो भन्ने भन्दा जुन योजनाका लागि विनियोजन गरिएको थियो । त्यसमा खर्च हुन नसक्नु प्रदेशको सबैभन्दा दुःखद पक्ष हो’ उनले भने ।

संघीय सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत आगामी आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिम प्रदेशमा समानीकरण, सशर्त, विशेष र समपुरकतर्फ गरी प्रदेश सरकारका लागि १७ अर्ब ५५ करोड ८३ लाख रकम विनियोजन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारलाई समानिकरणतर्फ नौ अर्ब ७५ लाख, सशर्ततर्फ छ अर्ब ९८ लाख ८० हजार, विशेष अनुदानतर्फ ७९ करोड ७८ लाख र समपूरक अनुदानतर्फ ७६ करोड ५० लाख रकम विनियोजन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शेरबहादुर ऐर
शेरबहादुर ऐर
लेखकबाट थप