सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मिटरब्याजीलाई कारबाहीको माग गर्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन

बुधबार, २२ असार २०७९, १० : २४
बुधबार, २२ असार २०७९

सिराहाको लहान नगरपालिका ७ का मिटर ब्याजी रामबाबु महतोविरुद्ध कारबाहीको माग गर्दै कब्जा गरेको घरजग्गा फिर्ताको मागसहित लहानस्थित इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन भएको छ । 

‘मिटरब्याजी रामबाबु महतोलाई कारबाही गर, कब्जा गरेको घर जग्गा फिर्ता गर, निमुखा गरिबको घरजग्गा कब्जा गर्न पाइँदैन’ लगायतको नारा लगाउँदै पीडित श्याम विश्वकर्मा र उनका आफन्तहरुले  एक घण्टा प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि प्रहरीले मिटरब्याजी भनिएका महतोले अदालतबाट निषेधाज्ञाको आदेश गराएकाले आफूहरुले केही गर्न नसक्ने भन्दै फर्काएको पीडित विश्वकर्माले बताए । 

लहान ७ का विश्वकर्माका दाजु हिरालालले २०७१ सालमा सुनचाँदी पसल संचालनका लागि महतोसँग सयकडा तीन रुपैयाँ ब्याजको दरले शुरुमा दुई लाख र त्यसपछि तीन लाख रुपैयाँ ऋण लिएका थिए । ‘दुई लाख लिने बेलामै १० धुर जग्गा दृष्टि बन्धक भन्दै महतोले लहान १ (क) को ४४५ नम्बर कित्ताको १० धुर जग्गा आफ्नो नाममा रजिष्ट्रेशन गराइसकेका रहेछन्’ उनले भने ‘त्यसको छ वर्षपछि २०७७ सालमा ६० लाख रुपैयाँ पुग्यो, घर जग्गा खाली गर्नु भन्दै दवाव दिन थाले ।’

दाजुले लिएको पाँच लाख रुपैयाँ नतिर्दै बिरामी भएपछि आफैंले कमाएर ब्याजबापत दुई पटक गरी ११ लाख रुपैयाँ बुझाएपछि बाँकी सात लाख रुपैयाँ रहेको उनले बताए । ‘त्यसपछि दुवै मृगौला बिग्रिएर दाजुको उपचारका लागि पाँच वर्षअघि १० लाख रुपैयाँ लिँदा महतोले १७ लाख साँवा मात्र भयो भन्ने सुनाएका थिए’ उनले भने ‘दाजुको निधन भएपछि म आफैंले चलाएको सुनचाँदी पसलबाट कमाएर साँवा ब्याज गरी १३ लाख बुझाएको थिएँ ।’ 

दाजुको निधन भएपछि २०७८ सालको बैशाखमा जग्गा आफ्नो भएकाले उक्त जग्गामा बनेको घर पनि मेरो हो भन्दै  जबर्जस्ती खाली गराएर आफूहरुलाई सडकमा पुर्याएको उनको गुनासो छ । ‘मिटरब्याजी विरुद्ध स्थानीय प्रहरी प्रशासनमा उजुरी दिन गृह मन्त्रालयले सूचना जारी गरेपछि पटक पटक लहान प्रहरीमा गएपनि बेवास्ता गरिहेको छ’ उनले भने ।   

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले ठगीमा परेका विश्वकर्माले आवश्यक प्रमाण जुटाउन नसक्दा प्रहरीले केही गर्न नसकेको बताए । ‘फौजदारी मुद्दा चलाउन नमिल्ने, देवानी अभियोगमा मुद्दा चलाउन प्रहरीले हस्तक्षेप गर्यो भन्ने पनि होला’ प्रहरी नायव उपरीक्षक मैनालीले भने ‘महतोले उच्च अदालत जनकपुर राजविराज इजलासबाट आफ्नो नीजि सम्पत्तिमा दावी गरेको भन्दै निषेधाज्ञा आदेश ल्याएकाले केही गर्न नसकिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप