मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

केही स्थानीय तह साक्षर घोषणा नहुँदै कैलाली बन्यो साक्षर जिल्ला

बुधबार, २९ असार २०७९, २१ : ३०
बुधबार, २९ असार २०७९

धनगढी । कैलालीका केही स्थानीय तह साक्षर घोषणा नहुँदै जिल्लालाई साक्षर घोषणा गरिएको छ । यहाँका चार वटा स्थानीय तह अहिलेसम्म साक्षर घोषणा गरिएका छैनन् ।

कैलाली जिल्लालाई बुधबार साक्षर घोषणा गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका प्रमुख बैकुण्ठ सुवेदीले १५ देखि ६० वर्ष उमेर समूहमा साक्षरता दर ९५ प्रतिशतभन्दा माथि रहेकाले जिल्लालाई साक्षर घोषणा गरिएको बताए ।

‘कैलालीका १३ वटै स्थानीय तहले साक्षर घोषणा गरी कार्यपालिकाको निर्णय पठाएपछि बुधबार साक्षर जिल्ला घोषणा गरिएको हो,’ उनले भने । तर, धनगढी उपमहानगरपालिका, गौरिगंगा नगरपालिका, चुरे र मोहन्याल गाउँपालिका साक्षर स्थानीय तह घोषणा हुन बाँकी छ ।

सुवेदीले भने सबै पालिकाले साक्षर घोषणा गरिसकेको दाबी गरे । ‘चुरेले असार १४ गते गरेको, गौरिगंगाले फागुन या चैत कहिले गरेको हो, मोहन्यालले अहिले १४ गते घोषणा गरेको हो,’ उनले भने, ‘सबैले साक्षर घोषणा गरेका छन्, धनगढीले कहिले गरेको हो भन्ने मलाई ठ्याक्कै थाहा भएन ।’

धनगढी उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख नृपबहादुर वडले आफनो कार्यकालमा धनगढी उपमहानगरपालिकालाई साक्षर नगर घोषणा गर्ने तयारी अघि बढे पनि निर्वाचनका कारण पूर्णता हुन नसकेको बताए । उनले भने, ‘वडा तहबाटै साक्षर घोषणा हुँदै आएको थियो । नगरलाई साक्षर घोषणा गर्न सकिएको थिएन ।’

साक्षर घोषणाका लागि पहल नै नगरेको मोहन्याल गाउँपालिकालाई कागजमै साक्षर घोषणा गरिएको छ । चुरे गाउँपालिका र मोहन्याल गाउँपालिका दुर्गम रहेकाले साक्षर घोषणा गर्न असम्भव रहेको त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन् ।

२०६७ देखि २०७१ सालसम्म कैलालीमा साक्षरता अभियान सञ्चालन गरिएको थियो । अहिले स्थानीय तहहले घरधुरी सर्भेक्षण गरेपछि साक्षर घोषणा गरेका हुन् । २०६७ सालमा गरिएको सर्भेक्षणमा एक लाख ५६ हजार निरक्षर रहेकोमा २०७१ सम्म सञ्चालन भएका साक्षरता अभियानमा करिब एक लाख ६१ हजार जनालाई साक्षर बनाइएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

इकाइ प्रमुख सुवेदीले कैलालीलाई अब पूर्ण साक्षर घोषणा गर्ने चुनौती रहेको बताए । लक्षित उमेर समूहका सबैलाई साक्षर बनाएपछि मात्रै पूर्ण साक्षर घोषणा गर्न सकिने मापदण्ड छ । पूर्ण साक्षर घोषणाका लागि प्रयास गरिने सुवेदीले बताए ।

साक्षरता अभियान जिल्ला समन्वय समितिको बैठकले यसअघि जिल्लालाई साक्षर घोषणा गर्ने निर्णय गरेको थियो । स्थानीय तहले सर्भेक्षण गरेर साक्षर घोषणा गरेपछि समितिले जिल्लालाई समेत साक्षर घोषणा गर्ने निर्णय गरेको शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका अधिकृत प्रतापसिंह धामीले जानकारी दिए ।

कैलालीलाई साक्षर जिल्ला घोषणा गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले देशको विकासका लागि शिक्षामा जोड दिनुपर्ने बताए । प्रदेश सरकारले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । ‘शिक्षाको विकासले मात्र समाज र देश समृद्ध बन्न सक्छ,’ उनले भने, ‘त्यसैले सुदूरपश्चिम सरकारले शैक्षिक विकासलाई आफ्नो प्राथमिकतामा राखेको छ ।’

कैलालीलाई २०६७ सालमै साक्षर जिल्ला घोषणा गराउने तयारी भए पनि हुन सकेको थिएन । कैलाली र कञ्चनपुरलाई आर्थिक वर्ष २०७६÷७७ को जेठ मसान्तिभत्रै साक्षर जिल्ला घोषणा गराउने स्थानीय तहहरूले प्रतिवद्धता व्यक्त गरे पनि कोरोना महामारीका कारण कार्यक्रम अघि बढ्न सकेको थिएन ।

२०६८ को जनगणना अनुसार कैलालीमा सात लाख ७५ हजार ७०९ जनसंख्या रहेकोमा १५ देखि ६० उमेर समूहका चार लाख २४ हजार दुई रहेकामा एक लाख ५९ हजार २०१ निरक्षर रहेको उल्लेख छ ।

साविकको शिक्षा कार्यालयले २०६७ सालमा गरेको घरधुरी सर्वेक्षणमा भने एक लाख ४३ हजार २३५ जनसंख्या निरक्षर रहेको देखाइएको थियो । सरकारले जारी गरेको साक्षर नेपाल वर्ष २०७६ अनुसार कैलालीमा विगत आठ वर्षमा एक लाख ४५ हजार १४२ जनसंख्याले साक्षरता कक्षा प्राप्त गरेको उल्लेख छ ।

सरकारले जारी गरेको साक्षर नेपाल वर्ष २०७६ मा निरक्षरले राष्ट्रभाषा वा मातृभाषाका वर्ण÷अक्षरको पढाइ र लेखाइ गर्नसक्ने, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिलको पढाइ गर्न सक्ने, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेखाइ र पढाइ गर्नसक्ने, मोबाइल र क्यालकुलेटरका अंक र अक्षर चिनेर प्रयोग गर्न सक्ने शून्यदेखि ९ सम्मका अङ्क अक्षर लेखाइ गर्नसक्ने, १ देखि सयसम्म गणना गर्न सक्ने, लेनदेनका हरहिसाब राख्नसक्ने, सरल चित्र, पोस्टर, साइनबोर्ड र ट्राफिक सङ्केत पढ्न सक्ने, घडी हेरेर समय बताउन सक्ने, भित्तेपात्रो हेरी तिथिमिति बताउन सक्ने र बैंक भौचर भराइ र चेक खिचाइ गर्नसक्ने हुनुपर्ने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शेरबहादुर ऐर
शेरबहादुर ऐर
लेखकबाट थप