शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नाई पसलको लोभलाग्दो सजावट, झुर सेवा

सोमबार, ०२ साउन २०७९, १२ : ०५
सोमबार, ०२ साउन २०७९

घोराही बजारका अधिकांश नाई पसल अर्थात् जेन्ट्स पार्लरहरु सजावटका हिसावले निकै लोभलाग्दा र राम्रा देखिन्छन् । केही नाई पसलमा एसीसमेत जडान गरिएका छन् । तर नाई पसल जति सजावट गरिएका हुन्छन्, सेवामा भने त्यत्ति सजिन सकेका छैनन् ।

झट्ट हेर्दा ‘स्मार्ट’ देखिए पनि सेवामा सुधार आउन सकेको छैन । अधिकांश नाई पसलमा लेबल बिहीन सामान, निर्मलीकरण नगरी कैची, काइँयो र ब्लेड तथा मेसिन प्रयोग गर्दछन् । आइतबार घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले गरेको नाई पसल अनुुगमनका क्रममा अधिकांश पसलहरु देख्दा सजावटका हिसावले राम्रै देखिए पनि सेवा असुुरक्षित रुपमा चल्दै आइरहेका पाइएको छ ।

नाई पसलहरुले सुरक्षा सावधानी तथा निर्मिलीकरण नगरिएका कैची, काइँयो, ब्लेड, मेसिन लगायतका  औजार प्रयोग गरेको पाइएको थियो । उपभोक्ता हित संरक्षण शाखाका प्रमुख श्रीधर अधिकारीले नाई पसलहरुले सुरक्षा सावधानी अपनाईन नसक्दा रगत, पसिनामात्रै होइन, कपाल, दाह्री काट्ने व्यक्तिको हातबाट समेत सरुवाजन्य रोग सर्न सक्ने र त्यसको सिकार सेवाग्राही बन्नुपर्ने जोखिम देखिएको बताए । उनले भने, ‘नाई पसललाई सुरक्षित सेवायुक्त बनाईन उपमहानगरपालिकाले चाहेको छ ।’

अनुगमनका क्रममा नाई पसलहरुले निर्मिलीकरण नगरी औजार उपकरण प्रयोग तथा कमसल खालाका विभिन्न किसिमका क्रिम, पाउडर प्रयोग गर्दा मानव स्वास्थ्यमा असर पार्ने भएकाले ती पसललाई सुरक्षित सेवा र मानव स्वास्थ्य अनुुकुलको सरसामान प्रयोग गर्न समेत सुझाइएको थियो ।

दर्ता छैनन्

घोराही उपमहानगरपालिका वडा नं. १५ मा सामान्यदेखि एसी सुविधायुक्त करिव एक दर्जन नाई पसल अर्थात् जेन्ट्स पार्लर अनुगमनका क्रममा अधिकांश पसल सेवाका हिसावले सुरक्षित पाइएनन् । कतिपय त्यस्ता पसल व्यावसायिक रुपमा पनि असुरक्षित छन् । अधिकांश पसल दर्ता बिनानै सञ्चालन गरिएको छ । उपभोक्ता हित संरक्षण शाखाका नासु मोहन सुनारले भने, ‘आठ वटा नाई पसल अनुगमनका क्रममा आठ वटै दर्ता बिहीन पाइयो ।’

केही ठूला नाई पसलले दुुई–तीन वटा शाखा समेत सञ्चालन गर्दै आएका र तीसमेत दर्ता बिना चल्दै आइरहेको उनले बताए ।

सरकारलाई टेर्दैनन् व्यावसायी

घोराही बजार दाङको केन्द्र हो, जहाँ दर्ता बिनाका थुप्रै नाई पसल चल्दै आइरहेका छन् । व्यवसाय दर्ता सम्बन्धी स्थानीय सरकारले जारी गरेको सूचनाको बेवास्ता गर्दै मापदण्ड विपरीत कतिपय पसल सञ्चालन भएको पाइएको छ ।

घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य लेखनाथ बुढाथोकीले भने, ‘सरकारलाई टेर्दैनन् व्यवसायीहरु, उनीहरु मनोमानी तरिकाले चल्दै आइरहेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप