शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कल्पना बस्नेत : परिवारसँग लफडा गर्दागर्दै 'हनी ट्रयाप'को धन्दा

व्यापारीसँग ४० लाख बार्गेनिङ
बुधबार, ०४ साउन २०७९, २२ : २८
बुधबार, ०४ साउन २०७९

सिन्धुलीको कमलामाई नगरपालिका–६ घर भएकी ३१ वर्षीया कल्पना बस्नेत २०७५ पछि प्रहरी कार्यालयमा धाउन छाडेकी छैनन् । जिल्ला प्रहरी कार्यालय सिन्धुली र काठमाडौंका प्रहरी युनिटमा बारम्बार भेटिने पात्र हुन् कल्पना । 

२०७५ फागुनमा उनले आफ्नो भाञ्जाविरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ज्यान मार्ने उद्योगमा जाहेरी दिइन् । भाञ्जाले अश्लिल भिडियो आफूलाई पठाएको र सार्वजनिक ठाउँमा कुटेको उनको आरोप थियो । काठमाडौंको बौद्धमा आफूलाई 'कन्ट्याक्ट किलर' प्रयोग गरेर हत्या प्रयास गरेको आरोपमा कल्पनाले बौद्ध प्रहरीमा उजुरी गरिन् । आफ्नी सासु विष्णुकुमारी खड्काले २०६९ सालमा छोराको हक मारेर करोडौंको सम्पती छोरी निरुकुमारी खड्कालाई बकसपत्र गरेर दिएको र त्यसविरुद्ध आवाज उठाउँदा हत्या प्रयास भएको उनको दाबी छ ।  

२०७८ माघमा महांकालस्थित डेरामा आमाजु र सासुसहितका पारिवारिक सदस्य मिलेर आफ्नो हत्या गर्न ४० लाखको सुपारी दिएको कल्पनाको आरोप छ । परिवारसँग उनले अदालतमा अंश मुद्दा लडिरहेकी छिन् । काठमाडौं र सिन्धुलीका सडकमा न्यायको आवाज उठाएर प्रदर्शनमा उत्रिएकी कल्पना अहिले ‘हनी​ ट्रयाप’मा पारेर व्यापारीसँग ४० लाख बार्गेनिङ गरेको कसुरमा प्रहरीको हिरासतमा छिन् । 'हनी​ ट्रयाप'मा पारेर व्यापारीलाई फसाउन खोजेको आरोपमा साउन १ मा कल्पनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । 

'हनी​ ट्रयाप' धन्दा चलाएको आरोपमा कल्पनासँगै उनको श्रीमान ३१ वर्षीय कृष्णहरि खड्का  र सिन्धुली घर भएर भक्तपुरको बालकोट बस्ने २८ वर्षीय संजय कार्कीलाई पनि उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।  

फन्दामा जुत्ता–चप्पल व्यापारी 
बौद्ध क्षेत्रमा बस्ने कल्पना एकदिन चावहिलस्थित चप्पल पसलमा थिइन् । त्यहाँ जुत्ता–चप्पल व्यापारी पैसा उठाउँदै आइपुगे । सामान्य परिचयसँगै कल्पनाले ती व्यापारीको फोन नम्बर लिइन् । उनीहरुको बीचमा कुरा हुन थाल्यो ।

१५–२० दिनमा सामाजिक संजालमा लामो च्याट हुनु दुवैका लागि दाल–भात सरह भइसकेको थियो । दुईपटक क्याफेमा भेटघाट गरे । सम्बन्ध अन्तरंग भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अघिल्तिरको एक होटलमा भेट्ने सल्लाह गरे । व्यापारीले होटलमा कोठा बुक गरेका थिए । दुवैजना होटलमा गए, कोठामा पुगेपछि कल्पना रिसाएर फर्किइन् । कल्पना हिँडेको केही मिनेटमै उनका पति कृष्णहरि खड्काले फोन गरेर ती व्यापारीलाई भने, ‘मेरी श्रीमतीलाई घुमाउने, अब देखाइदिन्छु !’  

श्रीमानसँग कुरा सकिनासाथ कल्पनाले फोन गरेर भनिन्, ‘श्रीमानले थाहा पाएछन्, मेरो त घरबार बर्बाद हुने भयो ।’ श्रीमानले आफूलाई पनि फोन गरेर ‘तिम्रो सबै थाहा पाएँ’ भनेर हप्काएको अडियो पठाएर कल्पनाले व्यापारीलाई भनिन्, ‘४० लाख रुपैयाँ ठीक पार्नुस्, मेरो व्यवहार मिलाएर तपाईसँगै विवाह गरौंला ।’

व्यापारी सहजै पैसा दिन तयार भएनन् । त्यसपछि कल्पना र कृष्णहरिले अर्को 'स्टेप' चाले । सहज रुपमा पैसा नआउने देखेपछि कमलामाई नगरपालिका–६ घर भएका चिनजानकै संजय कार्कीलाई ‘इन्स्पेक्टर हुँ’ भन्न लगाएर उनीहरुले व्यापारीलाई फोन गर्न लगाएको अनुसन्धानबाट थाहा भएको बताउँछन् एसपी कोइराला । कल्पनाले आफ्नो मोबाइलमा संजयलाई फोन गर्न लगाउँथिन् । संजय बोल्थे, ‘म थानाबाट इन्स्पेक्टर बोलेको, तपाईको जाहेरीबारे केही बुझ्नुपर्ने भएको हुनाले यहाँ आउनुस् ।’ सो अडियो उनी व्यापारीलाई पठाउँथिन् र भन्थिन्, ‘प्रहरीले हैरान गरेको छ, इन्स्पेक्टर मिसन जान लागेको रहेछ १० लाख रुपैयाँ लिएर आए तत्काल मिलापत्र गरिदिन्छु भनेको छ ।’

कल्पना ४० बाट १० लाख रुपैयाँमा झरिन् तर, व्यापारी टसमस भएनन् । बरु, व्यापारी प्रहरीकहाँ गए । त्यसपछि प्रहरीकै सल्लाहमा उनले कल्पनासँग थप ‘डिल’ गरिरहे ।

साढे ३ लाख लिन आउँदा पक्राउ

व्यापारीले नगद खातामा हालिदिन्छु भन्दा कल्पनाले मानिनन् । ती व्यापारीले कल्पनाको खातामा ५० हजार रुपैयाँ डिपोजिट गरे । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार ‘किन खातामा पैसा हालेको ?’ भनेर उनले हप्काइन् । नगद साढे ३ लाख ‘भेटेर दिन्छु’ भनेपछि उनी साउन १ मा चावहिलमा आउन राजी भइन् । त्यसदिन व्यापारी र सादा पोशाकका प्रहरीसँगै थिए ।

सादा पोशाकका प्रहरीले उनलाई हत्कडी लगाए । 'हनी ट्रयापिङ'मा मिलेमतो देखिएपछि उनका श्री​मान कृष्णहरि र बालकोट बस्ने २८ वर्षीय संजय कार्कीलाई पक्राउ गरिएको एसपी कोइरालाले बताए । व्यापारीलाई भेट्नुभन्दा अघि कल्पनाले अर्का एक युवकलाई पनि यस्तै 'ट्रयाप'मा पार्ने प्रयास गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप