शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश सरकारको मन्त्रालय जाने सडककै दुर्दशा

सोमबार, ०६ भदौ २०७९, ११ : १०
सोमबार, ०६ भदौ २०७९

धनगढी उपमहानगरपालिकास्थित विभिन्न सरकारी कार्यालय जान प्रयोग गर्ने सडकको अवस्था जीर्ण बन्दा पनि मर्मतमा चासो देखाइएको छैन । जसले गर्दा नागरिकलाई आवतजावतमा समस्या हुन थालेको छ ।​ मुख्यबजारसँग जोडिएको सो सडक कालोपत्रे नहुँदा स्थानीयवासी तथा यो सडक प्रयोगकर्तालाई सास्ती हुन थालेको हो । मालपोत, नापी, भूमिसुधार, वडा प्रहरी कार्यालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य कार्यालय, कैलाली उद्योग वाणिज्य संघ लगायतका मुख्य कार्यालय जान आम नागरिकले सो सडक प्रयोग गर्नुपर्दछ ।

ग्राबेलसमेत नहुँदा वर्षामा हिलो र घाम लाग्दा धुलोको समस्याले स्थानीयवासी हैरान भएका छन् । प्रदेश सरकार र स्थानीय तहका विभिन्न कार्यालय जान प्रयोग गर्नुपर्ने उक्त सडक मर्मतका लागि न प्रदेश सरकारले चासो देखाएको छ, न स्थानीय तहले नै । केन्द्र सरकारले त झनै बेवास्ता गरेको स्थानीयवासी अर्जुन बिसीले रातोपाटीलाई बताए ।

‘संघीय सरकारका पदाधिकारीलाई यो सडकको दुर्दशाले छुँदैन,’ उनले भने, ‘प्रदेश सरकार र स्थानीय तहका पदाधिकारीले त यो सडक प्रयोग गरिरहेका हुन्छन्, तै पनि मर्मतमा कसैले चासो देखाएका छैनन् ।’ प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय जान पनि यही सडक प्रयोग गर्नुपर्ने भएकाले कमसे कम सो मन्त्रालयले सडक मर्मतका लागि चासो लिनुपर्ने उनको बुझाइ छ ।

उक्त सडक छेउमा होटल सञ्चालन गर्दै आएका बिर्ख बहादुर बानियाले वर्षौंदेखि यो सडकको अवस्था उस्तै रहेको सुनाए । ‘पानी पर्दा सडकमा हिलो हुन्छ, घाम लागे धुलो हुन्छ,’ उनले भने, ‘नाली सफा गर्न पनि व्यापारीले पैसा दिनु पर्छ, तीन तहका सरकार हुँदा पनि कसैले मर्मतमा चासो देखाएनन् ।’

सडकको दुरावस्थाकै कारण यस क्षेत्रमा मानिसको आवतजावत कम हुने गरेको र व्यापार पनि ठप्प हुने गरेको उनको दुखेसो छ । ‘पानीको निकास नहुँदा नाली भरिन्छ, नालीको पानी सडकमा आउनाले दुर्गन्ध हुने गरेको छ,’ उनले भने ।

संघीय आयोजना कार्यान्वयन ईकाईका निमित्त प्रमुख मोहनराज अवस्थीले सघन सहरी विकास योजना (आरयुडीपी) अन्तर्गत सो सडक पनि परेको र सडक मर्मतको काम सुरु भइसकेको जानकारी दिए । निर्माण सम्पन्न हुन केही समय लाग्ने उनको भनाइ छ ।

धनगढीको चौराहदेखि कैलाली पुल र चटकपुरको सहिद गेटदेखि क्याम्पस रोडसम्मका सबै सडकको निर्माण कार्य भइरहेको उनले बताए । धनगढी उपमहानगर क्षेत्रभित्रका सबै सडकको लागत अनुमान १ अर्ब २४ करोड २५ लाख ४५ हजार ४६५ रहेको उनको भनाइ छ । सडक निर्माणका लागि २०७७ असार २८ गते कालिका कन्स्ट्रक्सनसँग ७६ करोड ९० लाख ७० हजार ५३२ रुपैयाँको ठेक्का सम्झौता भएको उनले जानकारी दिए ।

हालसम्म ३८ करोड ४८ लाख २४ हजार ९८४ रुपैयाँ खर्चसमेत भइसकेको उनले बताए । ‘निर्माण गर्न समय लाग्छ, सबै भित्री सडकको विकास र विस्तार हुँदै जान्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप