शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नगरौँ है हतारमा एकता

शुक्रबार, १० भदौ २०७९, १० : २६
शुक्रबार, १० भदौ २०७९

यतिखेर नेपालमा चुनावी चहलपहल बढेको छ । सवैतिर चुनावी तालमेल, मोर्चाबन्दी र एकताको चर्चा चुलिएको छ । यही विषयले सवैको ध्यान खिचिरहेको छ । यो व्यक्ति र त्यो व्यक्ति, यो गुट र त्यो गुट, यो पार्टी र त्यो पार्टी अनि यो गठबन्धन र त्यो गठवन्धनको राजनीतिक सरगर्मी बढेको छ । सवैले आ–आफ्नै ढंगले सकेसम्म चुनावी सुर, ताल र लय मिलाउन न्वारानको बल लगाइरहेका छन् । नेताहरु जसरी पनि चुनाव जित्ने स्वार्थमा हदै सम्मको राष्ट्रवादी, पारदर्शी, त्यागी, प्रगतिशील, परिश्रमी, जनसेवक र हदैसम्मको इमान्दार बनेर प्रस्तुत भइरहेका छन् । 

यतिवेला सवैको मुखमा, सोचमा, चिन्तनमा अनि वक्तव्यहरूमा राष्ट्रवादी र एजेण्डावादी अनि जनमुखी, विकासमुखी र समृद्धिमुखी पदावलीहरू झुण्डिरहेको छ । यस्तो लाग्छ, कसैमा केही खोट छैन । अनि कसैमा केही दोष पनि छैन । सबै अव्वल मात्र छन् । अर्थात् सवै पार्टी र नेताहरु राष्ट्र, जनता, विकास र समृद्धिको पक्षमा छन् ।

यही राजनीतिक माहौलको बिच पार्टी एकता र तालमेलबारे तीव्र वहस र छलफलहरु भइरहेको छ । यसै सन्दर्भमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच संयुक्त घोषणापत्र जारी गर्ने भन्ने सहमति भइसकेको छ । चुनाव लगत्तै पार्टी एकता गर्ने सम्मको छलफल हुँदैछ । यद्यपि यो विषय नयाँ भने पटक्कै होइन । 

विगतमा माओवादी केन्द्र र एमालेबिच गठवन्धन गर्दा पनि यस्तै मीठो गुरुयोजना बनाइएको थियो । चुनावपछि पार्टी एकता पनि गरियो । जुन–तारा झारी सक्यौं, अब आकाशै खसाल्छौँ भनियो । तर हात लागि शुन्य भयो । उल्टै झण्डै २० वर्ष पछाडि फर्किएर प्रतिगमन भन्दै अनावश्यक आन्दोलन छेड्नु पर्‍यो । यसले आजसम्म प्राप्त राजनैतिक उपलब्धि माइनसमा गएको तपाईं हामी सवैले अनुभूत गरेकै कुरा हो । 

 तब अब गरिने तालमेल र एकताले त्यस्तो के जादु र टुनामुना गर्ला कि विगतको सवै कमीकम्जोरी दोहोर्‍याउने छैनन् । राष्ट्रिय राजनीतिमा कायापलट ल्याउने त्यस्तो तिलस्मी के होला ? विद्यमान समस्याको समाधन भइहाल्ने, पहाड सम्याइहाल्ने त्यस्तो जादुमय अस्त्र के होला ? 

विगतमा पनि पार्टी झण्डै दुइ तिहाइ नजिक पुगेकै हो । आखिर दलहरुले भोट माग्दा भनेको स्थायित्व पनि दिन सकेनन् । त्यही वस्तुगत र आत्मगत धरातलीय मनोविज्ञानमा उभिएर पुनः अर्को नाटक रिहर्सल गर्दैमा अर्कै राजनीतिक कोर्स आरम्भ हुँदैन । उही चुनावमा एक दुइ सिट तलमाथि पार्ला । केही नेताहरुले जागीर खालान् । वस् यति होइन र ? दुईचार सिट वढी जित्दैमा आजको वेथिति र विसंगतिविरुद्ध राजनैतिक आन्दोलनको उभार उठेर आमूल परिवर्तन नै हुने पनि होइन होला । यसो–उसो उही आलोपालो जागीर खाने र खुवाउने न होला । त्यो त एकता विना नै औसत चलिराखेकै छ । 

वास्तवमा पार्टी एकता भनेको ख्यालठट्टा र इमोशनको सवाल हुँदा पनि होइन । यो भावनामा बहकिएर अनि पुलकित भएर रमाउने कुरा पनि होइन । एक दुइ हप्ता सँगै जलपान गर्दा मनको भावना साटासाट गरेकै भरमा विचारमा पनि एकरुपता देख्नु दृष्टिदोष मात्र हुन्छ । वस्तुतः पार्टी एकताको लागि सवैभन्दा महत्वपूर्ण मुद्धा भनेको सिद्धान्त र विचार नै हो । विचार र सिद्धान्तमा एक नभएसम्म एकल दृष्टिकोण बन्दैन । दृष्टिकोणमा एकरुपता नभइ एजेण्डामा एकमत हुन सकिदैन । एजेण्डामा सहमत नभइ कार्यदिशा र कार्यक्रमहरुमा एकसाथ जान सकिदैन । कार्यक्रममा एक नभएसम्म उद्देश्य तय हुँदैन । साथै गुणात्मक परिणाम प्राप्तितर्फ कसैको ध्यान जाँदैन । 

कुनै पनि उद्देश्य तय नगरी गन्तव्यमा पुग्न सकिदैन । गन्तव्यमा नपुग्नु भनेको राष्ट्रिय राजनीतिले यथास्थितिमा वरपर गोलचक्कर मारिरहनु हो । यो भनेको तमाम् समस्या समाधन नहुनु हो । तसर्थ एकताको लागि मुलभूत पूर्वशर्त भनेको विचार, सिद्धान्त, एजेण्डा, कार्यदिशा, कार्यक्रम र उद्देश्यमा सचेततापूर्वक नै एक हुनु हो । यसले विचारमा र कार्यदिशामा लामो छलफल र अन्तरक्रियाको माग गर्दछ । अन्यथा इमोशन, आग्रह र ईष्र्यामा गरिएको औसत एकता प्राविधिक एकता मात्र हुनेछ, जुन दीर्घकालीन र परिणाममुखी हुँदैन । यस्तो एकता जनताले पनि चाहेका छैनन् ।

तर विडम्बना नै भन्नु पर्छ कि नेपालमा पछिल्लो घटनाक्रम नियाल्ने हो भने राजनीति ठिक उल्टो बाटोमा हिँडिरहेको छ । प्राथमिकताको आधारहरु नै उल्टो राखिएको छ । हरेक तालमेल र मोर्चावन्दी पहिले आफ्नो व्यक्तिगत स्वार्थ सिद्धिको लागि गरिन्छ । दोस्रोमा आफ्नो समूहको स्वार्थ हेरिन्छ । तेस्रोमा पार्टीको स्वार्थ राखिन्छ । चौथोमा गठवन्धनको स्वार्थ पर्दछ । पाँचौंमा कार्यक्रमिक स्वार्थ र छैटौंमा एजेण्डागत स्वार्थ राखिन्छ । सातौं वा सबैभन्दा अन्तिममा सिद्धान्त र विचारलाई मानिन्छ । 

यसो भएपछि कुनैपनि गतिविधिले गुणात्मक उत्पादन दिन सक्दैन । उत्पादन विनाको कामकारवाही अनर्थ र औचित्यहीन हुन्छ । यसरी औचित्यहीन हुँदै जाँदा नागरिकमा एक खालको वितृष्णा, निराशा र कुण्ठाले वास गर्दछ । यस्तै ईमोशनल वितृष्णा र कुण्ठा नितान्त गलत दिशातिर भड्किन पुग्छ । तब यसले परिस्थिति भद्रगोल पार्ने खतरा रहन्छ ।
     खास गरी यस आलेखमा के तर्क गर्न खोजिएको छ भने केही अपवादबाहेक नेपालमा आजसम्म भए गरेका तालमेल र एकताले निर्दिष्ट लक्ष्य प्राप्त गर्न सकेको देखिदैन । यो कसैको श्राप हो या हाम्रो एकता र तालमेलमा अन्तरनिहीत उद्देश्य र प्रक्रियामा नै खोट छ । यो गम्भीर वहसको विषय बनेको छ । 

परम्परालाई नियाल्दा यो निहित स्वार्थद्वारा निर्देशित हुनु नै परिणाम हातलागि शुन्य हुनु हो । सिद्धान्त, विचार, एजेण्डा, कार्यदिशा र कार्यक्रममा एकता र गठबन्धन हुँदैन । एकता गर्दा पनि केवल टाउको गनेर दुवै समूहको भागशान्तिमा गरिन्छ । यो असाध्यै गलत संस्कृति हो । यसरी टाउको गनेर गरिएको एकता, चुनाव जित्नको लागि मात्र गरिएको गठवन्धन र कसैलाई बदला लिन मात्र गरिएको साँठगाँठ परिणाममुखी हुँदैन । परिणाम नआउनु भनेको  जनअपेक्षा अधुरै रहनु हो । जनअपेक्षा पुरा नभएपछि त्यस्ता एकता र तालमेलको राष्ट्रिय राजनीतिमा तात्विक अर्थ रहँदैन । तव पार्टी, नेता र कार्यकर्ताले गाली खाइरहनु र आलोचना खेपिरहनुपर्ने हुन्छ । 

यतिखेर नेपाली राजनैतिक परम्परालाई हेर्दा एकता र तालमेल केवल चुनावी रणनीतिमा आधारित देखिन्छ । निश्चित राजनैतिक लक्ष्य प्राप्तीको लागि चुनावी गठबन्धन गर्नु महान कार्य हो । तर हाम्रो चुनावी प्रक्रिया र पार्टीहरुको चुनावी स्वार्थ त्यस्तो सही राजनैतिक उद्देश्यको कक्ष वरपर देखिदैन । त्यो केवल आफू र आफ्नो समूहले जसरी पनि एक दुइ सिट वढी जित्ने स्वार्थमा सीमित गरिएको हुन्छ ।

संविधानमै समाजवाद उन्मुख भनिएको छ । तर आजसम्म कुनैपनि पार्टीले ठोस समाजवादी कार्यक्रमिक योजनासहितको चुनावी घोषणापत्रमा दस्तावेजीकरण गरेको देखिदैन । उनीहरुले केवल समाजवाद उन्मुख समाज वनाइने भनेर अमूक र अमूर्त कुरा मात्र समावेश गर्दै आएको देखिन्छ । धरातलीय यथार्थता भन्दा कृत्रिम हल्लाखल्ला धेरै छ । यसले उनीहरुको समाजवादी यात्रा पनि केवल भोट व्ल्यामेलिङ गर्ने ईमोशनल क्याप्सूल मात्र भइरहेको प्रष्ट हुन्छ । 

त्यसैले विगतमा जस्तै हतारमा एकता गरेर पुनः ऐतिहासिक भुल नगरौं । सिद्धान्त, विचार, राजनीति, एजेण्डा, कार्यदिशा, कार्यक्रम र उद्देश्यको सवालमा सचेत एवं विहङ्गम वहसपछि मात्र एकता गरौं । अर्थात् एकता सिद्धान्त, विचार, एजेण्डा, कार्यदिशा र कार्यक्रममा खोजौँ । एकता राजनैतिक आन्दोलनको उद्देश्य र गन्तव्यमा गरौं । त्यतिमात्र नभएर एकता मुलुक र जनताको हितमा गरौं । एकता समाजवादी अन्तिम लक्ष्यमा गरौं । एकता विकास र समृद्धिमा गरौं । एकता उत्पीडित जनसमुदायको हितको खातिर गरौं । एकता न्याय र समानताको लागि गरौं । एकता यो भन्दा अझ उन्नत र न्यायिक समाज निर्माणको लागि गरौं । 

अनि एकता थिति, पद्दति, विधि, मुल्य, मान्यता वसाल्न गरौं । एकता इमान्दारीता, पारदर्शीता, सुसंगति र विवेकशीलताको लागि गरौं । अर्थात पार्टी एकता उन्नत परिपाटी, उन्नत विचार, उन्नत समाज, उन्नत संस्कृति निर्माणको लागि गरौं । अन्यथा गरिएको एकताको कुनै तुक छैन ।

तर विगतमा जस्तै टाउको गनेर एकता गरियो भने त्यो भन्दा दुर्भाग्य अरु केही हुन सक्दैन । टाउको गनेर गरिएको एकताले कसैलाई पद, प्रतिष्ठा र पावर  प्राप्ति त होला तर राजनैतिक लक्ष्य प्राप्ति हुँदैन । पद मिलानमा गरिएको एकता क्षणिक स्वार्थमा गरिएको हुन्छ, जुन स्वार्थसँगै विलीन हुन्छ । एकता के को लागि भनेर गम्भीर मर्मवोध गर्न जरुरी नै ठानिँदैन । एकतालाई आन्दोलनको रुपमा ग्रहण गरिँदैन । यो केवल सांगठनिक, प्राविधिक वा पदीय एकता मात्र हुन्छ, जसलाई नरम–करम भागवण्डा व्यवस्थापन पनि भनिन्छ । 

वस्तुतः साझा लक्ष्य पुरा नगरी एकताको औचित्य पुष्टी हुँदैन । औचित्य पुष्टी नगरे एकताको पनि औचित्य रहँदैन । यो ईमोशनल रोमान्समा गरिएको सनकपूर्ण गतिविधि मात्र हुन पुग्छ ।  तव अलिकति कुरा नमिलेपछि, थोरै मनमुटावपछि अनि टक्कर परेपछि निरपेक्ष फुट देख्ने गरिन्छ । वहस छलफल पछिको रुपान्तरण सहितको निकास हेरिँदैन । हतारमा जति एकता गरिन्छ, त्यति नै छिटो फुट हुने गर्दछ । यो एकता र फुटको द्वन्द्वात्मक सार्वभौमिकता हो । 

तसर्थ, माओवादी केन्द्र र एकीकृत समाजवादीबिच पार्टी एकता हतारमा गर्नु हुँदैन । चुनावी तालमेलसम्म ठिकै होला । तर एकता नितान्त भिन्न प्रक्रिया हो । यो भावना र आवेशमा छचल्किएर गर्ने सवाल होइन । यसरी ईमोशनल तरङ्गमा गरिएको एकता ईमोशनको घट्दो पारोसँगै औचित्यहीन हुँदै जान्छ । सांगठनिक एकताको भर पर्दा त्यसलाई धेरै र मलाई थोरैको रस्साकस्सी चलिरहन्छ । 

यसले सचेत र स्पष्ट बुझाइद्वारा निर्देशित विचारमा एकरुपता ल्याउन लामो छलफल र वहसको माग गर्दछ । दुवै पार्टीले आधारभूत रुपमा राजनैतिक एकल दृष्टिकोण किटान गर्नैपर्दछ । अन्तिम लक्ष्य प्राप्त नभएसम्म सँगसँगै हिँड्न सकिने सैद्धान्तिक, वैचारिक र कार्यक्रमिक प्रष्ट मार्गचित्रहरु तय गर्नैपर्दछ । विगतमा जस्तै एक डेढ वर्षपछि फुट्नै पर्ने एकता कसैको चाहना हँुदै–होइन । यसमा सबैले नेतृत्व तहलाई सचेत दवाव दिन जरुरी देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र किराती
राजेन्द्र किराती
लेखकबाट थप