बर्दिबासमा डेङ्गुको जोखिम उच्च
महोत्तरीको सुदूर उत्तरवर्ती बर्दिबास नगर क्षेत्र डेङ्गुको जोखिममा देखिएको छ । हालसम्म बर्दिबास अस्पतालमा डेङ्गु सङ्क्रमित १७ बिरामी पुगेका छन् ।
यही भदौ महिनामा अस्पतालमा उपचारार्थ पुगेका बिरामीको जाँच गर्दा बर्दिबासका १३, जिल्लाकै छिमेकी नगरपालिका औरही र धनुषाको मिथिला नगरपालिका क्षेत्रका एक–एक गरी १५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्णा महर्जनले जानकारी दिए । यो सङ्ख्या भदौ महिना लागेपछिको हो । यसबाहेक गत साउनमा बर्दिबासकै दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको डा महर्जनको भनाइ छ ।
बर्दिबास नगर क्षेत्रमा वडा नं १, २, ३ र ८ का उपचार लिन अस्पताल पुगेका बिरामीमा डेङ्गु पुष्टि भएको हो । अस्पतालको जाँचबाट डेङ्गु पुष्टि भएमध्ये तीन जनाको अवस्था गम्भीर पाइएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको बर्दिबास अस्पतालले जनाएको छ ।
बर्दिबास नगर क्षेत्र पछिल्ला पाँच वर्षयता डेङ्गुको उच्च जोखिममा रहँदै आएको छ । पछिल्ला चार वर्ष फाटफुटमात्र डेङ्गु सङ्क्रमित भेटिए पनि २०७४ मा भने यसले यहाँ आतङ्क नै मच्चाएको थियो । विसं २०७४ को साउनदेखि असोज मध्येसम्म बर्दिबास नगर क्षेत्रमा नै आठ सय ४७ जनामा सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य शाखाले जनाएको छ । त्यसयताका वर्षमा केही–केही सङ्क्रमण पुष्टि हुँदै आएको बर्दिबासमा यसपालि भने केही दिनभित्रै सङ्क्रमितको सङ्ख्या १७ पुगेका शाखाका प्रमुख सुरेश पासवान बताए ।
पछिल्लोपटक नगर क्षेत्रमा डेङ्गु सङ्क्रमण बढ्दै गएपछि बर्दिबास नगरपालिका नेतृत्वले यसविरुद्ध सरसफाइ अभियान जारी राखेको छ । नगरका सबै वडामा वडाध्यक्षका संयोजकत्वमा डेङ्गु सार्ने ‘आडेस’ लामखुट्टेका बासस्थान सरसफाइ गर्ने, लामखुट्टेका लार्भा नष्ट गर्ने र किटनाशक औषधि छर्ने अभियान नै थालिएको नगरप्रमुख प्रल्हादकुमार क्षेत्री बताए । डेङ्गु सङ्क्रमणको अवस्थाप्रति सबै सचेत भई यस विरुद्धका अभियानमा सरिक हुन पनि क्षत्रीले नगरवासीसँग अपिल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण