बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीले सेनासँग सापट माग्यो २८ सय साना हतियार

आइतबार, ०२ असोज २०७९, १४ : ०५
आइतबार, ०२ असोज २०७९

मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रहरीले सेनासँग साना हतियार मागेको छ । निर्वाचनको सुरक्षामा साना हतियार अपुग हुने निष्कर्ष सहित प्रहरी प्रधान कार्यालयले ‘बालगिरि’मा हतियार दिन सेनालाई पत्राचार गरेको हो ।

निर्वाचन सुरक्षाको पहिलो घेरामा खटिने प्रहरीका लागी ठुला हतियारको समस्या छैन । तर, साना हतियार करिब २५ सय अपुग हुने प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकारीले रातोपाटीलाई बताए । ‘अपुग हतियार सेनासँग सापट लिन पत्राचार भएको छ,’  ती उच्च अधिकारी भन्छन्–‘स्थानीय चुनावमा पनि हामीले सेनासँग लिएका थियौँ, यस पटक पनि सेनालाई हतियार सापट दिन प्रस्ताव गरेका छौँ ।’

नेपाली सेनामा हतियार सापट लिनुलाई ‘बालगिरी’ भनिन्छ । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा प्रहरीले ७ सय भन्दा बढी पेस्तोल सेनासँग ‘बालगिरी’मा लिएको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी प्रहरीले २८ सय थान पेस्तोल उपलब्ध गराउन सेनालाई पत्राचार गरेको छ । अपुग हतियार अन्य सुरक्षा निकायसँग सापटीमा लिन लागेको प्रहरी प्रधान कार्यालयका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए । उनले भने–‘केही हतियार हामीलाई अपुग हुन्छ, सो अपुग हतियार अन्य सुरक्षा निकायबाट लिन्छौँ ।’

पेस्तोल २८ सय थान मागे पनि नेपाली सेनाले करिब १ हजार मात्रै उपलब्ध गराउन सकिने सङ्केत गरेको छ । नेतृत्व तहमा भएको छलफल अनुसार करिब १ हजार हतियार आउने सम्भावना रहेको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रहरीले १ लाख १५ हजार म्याद प्रहरी भर्ना प्रक्रिया सुरु गरिसकेको छ । स्थानीय तह निर्वाचनमा १० हजार ७ सय ५६ मतदान स्थल र २१ हजार ९ सय ५५ केन्द्र थिए ।

यस पटक १० हजार ८ सय ९१ मतदान स्थल र  २२ हजार २ सय २६ मतदान केन्द्र कायम गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । तर, कुन जिल्ला भित्र कहाँकहाँ मतदान स्थल कायम गर्ने भन्नेबारे आयोगले अझै निर्णय गरेको छैन । सो निर्णय नहुँदा सुरक्षा व्यवस्थापनमा समस्या भएको प्रहरी अधिकृतहरू बताउँछन् ।

यसपटकको निर्वाचनमा वृद्धाश्रम, कारागार र सरकारी कर्मचारीले पनि भोट हाल्न पाउने गरी मतदान स्थल थप गरिएको छ । मङ्सिर ४ मा हुने चुनावमा १० वटा जिल्लामा ५ लाख मतदाता थपिएका छन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप