बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा बीमाको पहुँच अभिवृद्धि गरिनुपर्छ : अर्थमन्त्री शर्मा

शुक्रबार, ०७ असोज २०७९, १६ : ४४
शुक्रबार, ०७ असोज २०७९

अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बीमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो औंल्याएका छन् । बीमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको आज धनगढीमा शुभारम्भ गर्दै उनले बीमाका दाबी, भुक्तानीका कुरामा धेरै गुनासा तथा असन्तुष्टि रहेको बताए ।

उनले भने, “अहिले नेपालभर समग्रमा बिमाको पहुँच ४१.२ प्रतिशत छ ।  सुदूरपश्चिम प्रदेशमा १९.१७ प्रतिशत मात्रै छ । यसलाई वृद्धि गरिनुपर्छ ।” उनका अनुसार देशभरि विभिन्न बीमा कम्पनीका तीन हजार तीन सय ६६ शाखा सञ्चालन छन् भने सुदूरपश्चिममा तीन सय २७ मात्रै छन् । “अहिले बीमा संस्थानले दिएको प्रत्यक्ष बीमा सन्दर्भका रोजगारी १२ हजार ३१ को सङ्ख्यामा रहेको तर सुदूरपश्चिम प्रदेशमा छ सय ८७ मात्रै रहेको छ”, मन्त्री शर्माले भने, “यसबाट के देखाउँछ भने सुदूरपश्चिम प्रदेश बिमाको पहुँचबाट अलि टाढाजस्तो छ ।”

अर्थमन्त्री शर्माले लगानीको जोखिम न्यूनीकरण गर्ने मुख्य काम बीमाका रहेको स्पष्ट पार्दै बीमाद्वारा ठूला विपत्तिको जोखिम पनि न्यूनीकरण गर्न सकिने बताए । लगानीकर्तालाई, प्रयोगकर्तालाई र उत्पादनकर्तालाई ढुक्क भएर आफ्नो क्षेत्रमा काम गर्ने वातावरण बनाउने बीमाको मुख्य उद्देश्य रहेको उनले बताए ।

कार्यक्रममा प्रदेश सरकार आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले विभिन्न जोखिमको व्यवस्थापनमा बीमाले ठूलो सहयोग गरेको बताए । उनले भने, “सबै क्षेत्रमा यो बिमा जानु पनि जरुरी छ ।” भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले जोखिम अन्त्य गर्नको लागि बीमालाई व्यापकरुपमा लग्न प्रदेश सरकार तयार रहेको बताए । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिम न्यूनीकरण गर्ने  संयन्त्रको रुपमा बीमालाई लिनुपर्ने धारणा व्यक्त गरे । उनले भने, “यो काम प्रदेश सरकारबाट सुरु गर्नुपर्दछ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप