शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध विदेशी कामदारमाथि मलेसियाको कडाइ, धमाधम पक्राउ

आइतबार, २३ असोज २०७९, ११ : ५९
आइतबार, २३ असोज २०७९

अवैधानिक रूपमा काम गर्दै आएका विदेशी कामदारमाथि मलेसिया सरकारले कडाइ गर्न थालेको छ । भिसाको म्याद सकिएर पनि मलेसियामै बसेर काम गर्दै आएका विदेशी कामदारलाई धमाधम पक्राउ गर्न थालेको हो । 

मलेसिया सरकारले अवैध कामदारलाई धमाधम पक्राउ गर्न थालेपछि धेरै नेपाली स्वदेश फर्किन खोजिरहेका छन् । तर, अहिलेको अवस्थामा स्वदेश फर्किन सजिलो नरहेको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ । 

‘मलेसिया सरकारले कडाइ गर्न थालेपछि धेरै नेपाली घर फर्किन खोजिराख्नु भएको छ । यस्तो अवस्थामा घर फर्किन सजिलो छैन ।’ दूतावासकी द्वितीय सचिव यशु बस्नेतले भनिन् । 

अहिले सबैतिर प्रहरी र इमिग्रेसनका कर्मचारी परिचालन भएर धरपकड भइरहेको र धेरै नेपाली पक्राउ परिरहेको उनको भनाई छ । पक्राउ परेका नेपालीहरूलाई घर फर्काउने प्रक्रिया चलिरहेको र प्रक्रिया पुरा गरेकाहरूलाई घर पठाइरहेको उनले बताइन् । 

अहिलेको अवस्थामा अवैध रूपमा बसेका नेपालीहरूलाई अनावश्यक रूपमा हिँडडुल नगर्न दूतावासले अनुरोध गरेको छ । आवश्यक कागजात नभएकाहरू जथाभाबी नहिँड्दा राम्रो । जो जहाँ हुनुहुन्छ, त्यही सुरक्षित तरिकाले बस्नुहोस् ।’ बस्नेतले भनिन् । 

अहिलेको अवस्थामा अवैध नेपालीले घर फर्किन खोजे इमिग्रेसनमा गएर सरन्डेर हुनुपर्छ । त्यसपछि निश्चित दिन हिरासतमा बसेर जरिवाना तिरेर मात्र घर फर्किन पाउँछन् । त्यसका लागि निकै गाह्रो हुन्छ । 

मलेसिया सरकारले बेला बेला घर फिर्ती योजना ल्याउँछ । त्यो योजनाको समयमा घर फर्किन खोजे एकदमै सहज रूपमा नेपाल फर्किन सक्छन् । त्यसका लागि ५०० मलेसियन रिंगेट जरिवाना तिरेको खण्डमा सिधै घर फर्किन सकिन्छ । तर, अहिले त्यस्तो कुनै योजना नरहेको र अवैध नेपालीसहित विदेशी श्रमिकमाथि धरपकडमा कडाइ गरेको उनले बताइन् ।  

मलेसियन इमिग्रेसनले नियन्त्रणमा लिएका नेपालीहरूलाई घर फर्काउने प्रक्रिया जारी रहेको उनको भनाई छ ।  

पछिल्लो समय वैदेशिक रोजगारीको लागि प्रमुख गन्तव्य बन्दै आएको मलेसियामा धेरै नेपाली अवैधानिक रूपमा बस्दै आएका छन् । मलेसियामा भिसा सकिएर पनि लुकिछिपी काम गर्ने, भागेर अर्को कम्पनीमा काम गर्ने, भिजिट भिसामा आएर काम गर्न पाइँदैन ।

मलेसियामा कम्पनी चेन्ज गर्न पाइँदैन । कुनै कम्पनीमा काम राम्रो नलागेर कम्पनी चेञ्ज गरेमा त्यो व्यक्ति अवैध मानिनेछ । त्यस्तो व्यक्तिलाई पक्राउ गरेर इमिग्रेसनले जति बेला पनि घर पठाइदिन सक्छ । त्यसैले कम्पनी नगर्न दूतावासले सबैमा अनुरोध गरेको छ । 

अहिले प्रत्येक महिना ३५ हजार भन्दा बढी नेपाली श्रमिक वैदेशिक रोजगारीका लागि मलेसिया गइरहेका छन् । आधारभूत तलब मासिक १५०० रिंगेट बनाइनु, लामो समयपछि वैदेशिक रोजगारी मलेसिया खुल्न जस्ता कारणले नेपालीको प्रमुख रोजाईमा परेको छ । 

जति धेरै विदेशी कामदार जान थाले त्यतिकैको सङ्ख्यामा अवैधानिक कामदारको पनि चाप बढेपछि मलेसिया सरकारले कडाइ गरेको हो । कोरोना महामारीका कारण दुई वर्षसम्म मलेसियाले विदेशी कामदार ल्याउन रोक लगाएको थियो । कामदार ल्याउन खुला गरेसँगै कामदारको माग र चाप दुवै बढेको हो । मलेसियामा हाल साढे ४ लाख भन्दा बढी नेपाली श्रमिक कार्यरत छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप