शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अमिताभलाई जन्मदिनको शुभकामना दिँदै सरोजले भने– त्यो भेटपछि ममा अभिनयको भूत पस्यो

मङ्गलबार, २५ असोज २०७९, १५ : ११
मङ्गलबार, २५ असोज २०७९

बलिउड अभिनेता अमिताभ बच्चन आज मंगलबारबाट ८० वर्ष पुगेका छन् । थुप्रै हिट फिल्म दिएका बच्चनलाई देश तथा विदेशबाट शुभकामना प्राप्त भइरहेको छ ।

यस्तैमा नेपाली अभिनेता सरोज खनालले पनि बच्चनलाई सामाजिक सञ्जालमार्फत् शुभकामना दिएका छन् । उनले बच्चनलाई शुभकामना दिँदै भेट गर्दाको यादगार क्षणको सम्झना समेत गरेका छन् । उनले ‘महान’ नामक फिल्मको छायांकनका लागि नेपाल आएको समयमा तीन घण्टा कुरेर अमिताभसँग हात मिलाएका थिए । 

उनले लेखेका छन्, ‘म एसएलसीको पहिलो दिनको परीक्षा दिएर बानेश्वरबाट फर्कँदै थिएँ, क्षेत्रपाटीमा ‘बेमिसाल’ नामक फिल्म भिडियोमा देखाइँदै थियो । भोलिपल्ट म्याथको परीक्षा थियो । म्याथमा म राम्रै थिएँ । मन मानेन, भोलिपल्ट परीक्षा बिर्सेर खाजा खान दाइले दिनुभएको २ रुपैयाँ ५० पैसा तिरेर हेर्न बसेँ । डेरामा आएर दाजुको पिटाइ खाएँ । किनकि, दाजु पनि त्यही फिल्म हेर्न बस्नु भएको रहेछ । अस्कल कलेजमा साइन्स पढ्दै थिएँ । तपाईं ‘महान’ फिल्मको सुटिङ गर्न मल्ल होटलमा आउँदै हुनुहुन्छ भन्ने सुनेर प्राक्टिकल क्लास छोडेर तपाईंलाई हेर्न र भेट्न जबर्जस्ती होटलमा छिरेँ । करिब ३ घण्टाको पर्खाइपछि तपाईं आउनुभयो । सौभाग्यबस्, त्यसदिन तपाईंसँग हात मिलाउने मौका मिल्यो । सायद त्यही बेलादेखि ममा अभिनय गर्ने भूत सवार भएको थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप