बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा माओवादीले पाएका ७ वटै निर्वाचन क्षेत्रमा कांग्रेसकै भर

शुक्रबार, २८ असोज २०७९, १२ : ४५
शुक्रबार, २८ असोज २०७९

प्रदेश १ का २८ वटा संघीय निर्वाचन क्षेत्रमध्ये सत्ता गठबन्धनको भागबण्डामा ७ वटा माओवादीले पाएको छ । ७ वटामा मोरङको ४ र ५, सुनसरी १, झापा २, भोजपुर, खोटाङ र ताप्लेजुङको प्रतिनिधिसभामा माओवादीका उम्मेदवार छन् ।

जनमतको हिसाबले गत स्थानीय तहको निर्वाचनका वडा अध्यक्षहरूको मत हेर्दा यी सबै निर्वाचन क्षेत्रमा माओवादी तेस्रो स्थानमा छ । झापाको निर्वाचन क्षेत्र २ मा भने माओवादीको मत चौथो स्थानमा छ ।

झापा क्षेत्र नम्बर २

झापाको २ नम्बर क्षेत्रमा माओवादी केन्द्रको मत २ हजार ४३७ छ । यहाँ कांग्रेसको ३२ हजार ६७२ र एमालेको ३६ हजार ३९६ मत छ । एमालेले राप्रपासँग तालमेल गरेको छ । राप्रपाको मत यो क्षेत्रमा ९ हजार ५३१ छ । जसपा र नेकपा एकीकृत समाजवादीको मत तीन अंक कटेको छैन । यसरी हेर्दा गठबन्धनको मत ३५ हजार ७ सय हाराहारी हुँदा एमाले र राप्रपाको मत ४५ हजार ९ सय पुग्छ ।

सो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट माओवादीले पूर्व एमाले नेता हरिकुमार रानालाई उम्मेदवार बनाएको छ । एमालेले भने प्रदेश १ का इन्चार्ज देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ । घिमिरेले अग्नि खरेललाई सो क्षेत्रबाट पाखा लगाउँदै आफू उम्मेदवार बनेका हुन् । खरेल भने झापा–१ मा गएका छन् । एमाले र राप्रपाको दबदबा रहेको सो क्षेत्रमा माओवादी उम्मेदवारलाई जित निकाल्न हम्मे पर्ने देखिन्छ ।

मोरङ ४ र ५ नम्बर क्षेत्र

यता मोरङको क्षेत्र नम्बर ४ र ५ मा कांग्रेसको भर पर्नुपरे पनि सो क्षेत्रका माओवादी उम्मेदवारलाई जित निकाल्न झापामा जस्तो असहज छैन । मोरङको क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धन दल कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको मत ३३ हजार हाराहारीमा छ । यता, एमाले जसपा र राप्रपाको मत ३३ हजार ५ सय हाराहारीमा छ । तर, एमाले र जसपाबीचको सहमति सो क्षेत्रमा तोडिएको छ । एमालेले छोडेको क्षेत्र नम्बर ४ (ख) मा एमालेका आधिकारिक उम्मेदवार जीवन घिमिरेले पनि उम्मेदवारी दिएका छन् भने राप्रपाले पनि एकल उम्मेदवार उठाएको छ ।

यस्तै एमालेका उम्मेदवार विनोद ढकाल सो क्षेत्रका लागि नयाँ हुन् । जातीय हिसाबले चौधरी, राजवंशीहरुको बाहुल्य रहेको सो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट माओवादीले अमनलाल मोदीलाई उम्मेदवार बनाएको छ । यसअघि पनि मोदीले कांग्रेस नेता महेश आचार्यलाई झण्डै ७ हजार मतले पराजित गरेका थिए । पुरानो क्षेत्र र जातीय सेन्टिमेन्ट, गठबन्धनको मत हुँदा मोदीलाई निर्वाचन जित्न सहज देखिने कतिपयको विश्लेषण छ ।

यस्तै मोरङको क्षेत्र नम्बर ५ मा एमाले र जसपाबीचको सहमति धरमरमा परेसँगै सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी नेता शिवकुमार मण्डललाई सहज बनाएको छ । मण्डल सो क्षेत्रका चिरपरिचित उम्मेदवार हुन् । मधेसी समुदायको बाहुल्य रहेको सो क्षेत्रमा एमालेले जसपालाई सहयोग गरे पनि एमाले नेता योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेका अधिकांश कार्यकर्ता योगेन्द्र मण्डलको चुनावी प्रचारमा जुटिसकेका छन् । सो क्षेत्रमा कांग्रेस र माओवादीको मत ३१ हजार हुँदा एमालेको १५ हजार ६ सय र जसपाको १३ हजार २ सय मत छ । जसपाले सो क्षेत्रमा राजकुमार यादवलाई उम्मेदवार बनाएको छ । माओवादी नेता मण्डलले यसअघि सोही क्षेत्रबाट कांग्रेसका उम्मेदवार अमृत अर्याललाई पराजित गरेका थिए ।

भोजपुर

यस्तै माओवादीको भागमा परेको भोजपुरमा गठबन्धनलाई निर्वाचन जित्न सहज देखिन्छ । यद्यपि एमाले नेता शेरधन राईको उम्मेदवारी गठबन्धनका उम्मेदवार सुदन किरातीलाई भारी पर्न सक्छ ।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता किराँतीले ३४ हजार ३९४ मत ल्याउँदा कांग्रेस र जसपासहितको गठबन्धनमा कांग्रेसका उम्मेदवार उमेशजंग रायमाझीले २१ हजार ६९६ मतमात्रै ल्याएका थिए । पुनः सोही निर्वाचन क्षेत्रबाट किराँतीले उम्मेदवारी दिएका छन् ।

०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमाले नेता शेरधन राईलाई हराएर विजयी भएका किराँती ०७० सालमा भने उनै राईसँग पराजित बनेका थिए । उनी ०५६ सालमा २५ वर्षकै उमेरमा चुनाव जितेर प्रतिनिधिसभामा कान्छो सांसद बनेका थिए ।

गत २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षको मत परिणाम अनुसार जिल्लामा एमाले ठूलो पार्टी छ । एमालेले जम्मा २७ हजार ६ सय ५६ मत पाएको छ । यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ हजार ५९१ र तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको १४ हजार ७ सय ५८ मत रहेको छ ।

चौथो र पाँचौंमा रहेका नेकपा एकीकृत समाजवादी र जसपाको क्रमशः १ हजार ९ सय ४५ र १ हजार ४ सय ९८ मत छ ।

अहिलेका सत्ता गठबन्धन दलहरु मिलेको खण्डमा एमालेलाई यहाँ कठिन हुने देखिन्छ । स्थानीय तहको मत परिणाम अनुसार गठबन्धन चार दल कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको मत जोड्दा ४० हजार हुन्छ भने एमालेको त्यो भन्दा १२ हजार कम अर्थात् लगभग २८ हजार मत रहन्छ ।

राष्ट्रिय राजनीतिमा उदयीमान युवा नेताको छवि बनाएका सुदन किराँती पनि निर्वाचन जित्ने दाउमा छन् । माओवादी जनयुद्धको समयमा जेल नेल भोगेका उनी पछिल्लो समय लोकप्रिय छन् । निर्वाचन जितेर पनि आफ्नो क्षेत्रमा जाने, जनताको आवाजलाई संसदमा सशक्त रुपमा प्रस्तुत गर्ने र राष्ट्रिय राजनीतिका जल्दाबल्दा मुद्दामा फरक ढंगले प्रस्तुत हुने किराँती सामाजिक सञ्जालमा छाइरहेका हुन्छन् । उनी बेलाबेलामा आफ्ना पार्टीका शीर्ष नेताहरुले गरेका गलत क्रियाकलापको पनि आलोचना गरिरहन्छन् ।

खोटाङ

यस्तै खोटाङमा पनि सत्ता गठबन्धनले माओवादीलाई प्रतिनिधिसभामा सघाउने भएको छ । खोटाङमा एमाले नेता विशाल भट्टराई चुनावी मैदानमा छन् । उनको प्रतिस्पिर्धीको रुपमा माओवादीका नेता रामकुमार राई उम्मेदवार छन् । किराँती समुदायको बाहुल्य रहेको खोटाङमा एमालेको पनि बलियो संगठन र जनमत छ । त्यसलाई तोड्न सत्ता गठबन्धनले सक्ला कि नसक्ला परिणामले देखाउला । यद्यपि सो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा पाएको मतमा भने एमालेभन्दा गठबन्धन निकै अगाडि छ । गठबन्धनले सोही मत बटुल्न सकेको खण्डमा एमाले नेता भट्टराई पराजित हुन सक्छन् । वडाध्यक्षहरुले पाएको मतअनुसार एमालेको २८ हजार ७९७ रहँदा कांग्रेसको २६ हजार ६३३ र माओवादी केन्द्रको १८ हजार ७३६ मत छ । यस्तै जसपाको ३ हजार तथा नेकपा एकीकृत समाजवादीको २ हजार मत छ ।

सुनसरी १ नम्बर क्षेत्र

यता, सुनसरी १ मा भने माओवादीको मत कमजोर रहेको छ । यद्यपि सत्ता गठबन्धनको मतले एमालेलाई पराजित गर्न सक्ने देखिन्छ । सो क्षेत्रमा माओवादीका तर्फबाट मुक्साहाङ मेन्याङ्बो उम्मेदवार बनेका छन् ।

एमाले र जसपाको गठबन्धनबाट भने सुनसरी १ मा अशोक राई उम्मेदवार छन् । उनलाई एमालेले समर्थन पनि गरेको छ । तर, एमालेको तल्लो तहमा भने राईको उम्मेदवारीलाई अस्वीकार गर्दै मनोज मेन्याङ्बोलाई अगाडि सारिएको छ । जसपाको जनमत कमजोर हुनु, एमाले सशक्त हुनुले पनि राईलाई सबै एमालेको मत पाउनेमा मुस्किल देखिन्छ ।

यता, सत्ता गठबन्धनबाट उम्मेदवार बनेका मुक्साहाङ मेन्याङ्बो पनि लामोसमयदेखि धरानमै राजनीति गरिरहेका नेता हुन् । आदिवासी जनजाति बाहुल्य रहेको सो क्षेत्रमा सोही अनुहारलाई विजय हुन सहज छ । त्यही भएर सत्ता गठबन्धन, विपक्षी गठबन्धनले पनि सुनसरी–१ मा जनजाति अनुहारलाई नै उम्मेदवार बनाएका छन् । एमालेले जयकुमार राईलाई एकल उम्मेदवार सिफारिस गरे पनि तालमेल हुँदा एमालेले जसपाका राईलाई समर्थन गरेको छ । मेन्योङ्बोको समर्थनमा एमालेकै प्रदेश, जिल्ला, नगर र वडा कमिटीका नेता, कार्यकर्ता खुलेका छन् ।

नेकपा एमाले र जसपाबीच गठबन्धन हुँदा सो क्षेत्र जसपाको भागमा परेको थियो । त्यसबाट असन्तुष्ट बनेका एमाले नेता तथा मेन्याङ्बोले एमालेको मत काट्ने र सत्ता गठबन्धनको मत एकोहोरिने अवस्था भए मुक्साहाङले निर्वाचन जित्न सक्ने देखिन्छ । सुनसरी १ मा गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत अनुसार सत्ता गठबन्धनको ३३ हजार ६८२ मत हुँदा एमाले एक्लैको मत ३३ हजार ४५३ छ । जसपाको मत भने धरानमा कमजोर रहेको छ । एमालेको मत पाएर जित्नुपर्ने अशोक राईका लागि एमालेबाटै बागी उम्मेदवार परेपछि भने जित सकसपूर्ण हुने देखिन्छ ।

ताप्लेजुङ निर्वाचन क्षेत्र

यस्तै गठबन्धनबाट माओवादी केन्द्रले पाएको ताप्लेजुङ निर्वाचन क्षेत्रमा खेलप्रसाद बुढाथोकीलाई उम्मेदवार बनाएको छ । सो क्षेत्रमा एमालेका योगेश भट्टराई उम्मेदवार छन् । चर्चित युवा नेता भट्टराईसँग प्रतिस्पर्धा गर्न सत्ता गठबन्धनका लागि सकसपूर्ण देखिन्छ । बुढाथोकी माओवादी वृत्तमा परिचित नाम भए पनि आम मतदाताको नजरमा भने धेरै परिचित नाम होइन । राष्ट्रिय नेताको रुपमा पनि उनको छवि बनिसकेको छैन । जसका कारण उनलाई कांग्रेसको सबै मतका साथै स्वतन्त्र मत पनि आकर्षित गर्नुपर्ने चुनौती छ । स्थानीय निर्वाचनको मत परिणाम अनुसार पनि एमाले ताप्लेजुङमा सशक्त छ ।

स्थानीय निर्वाचन २०७९ मा गठबन्धन दलहरु कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको वडाध्यक्षहरुको मत जोड्दा २४ हजार छ । जबकि एमाले एक्लैको मत २४ हजार छ । यस्तै १ नगरपालिका र ८ गाउँपालिका रहेको ताप्लेजुङमा एमालेले ३ गाउँपालिका जितेको छ । कांग्रेसले १ नगरपालिका, ३ गाउँपालिका तथा माओवादी केन्द्रले ं१ गाउँपालिकामा जित निकालेको छ । ६१ वडा रहेको ताप्लेजुङमा एमालेले २९, कांग्रेसले १५, माओवादी केन्द्रले १०, नेकपा एकीकृत समाजवादीले २ वटा वडा जितेको छ । यस्तै अन्य ४ वडा स्वतन्त्रले जितेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप